
काठमाडौं । निर्देशक निश्चल बस्नेत यस वर्ष ग्याङ्स्टर फिल्म ‘डेनी डेन्जरस’ निर्माण गर्दैछन् । उनले यो फिल्मको घोषणा दुई वर्षअघि नै गरेका हुन् । बीचमा उनी अर्को एक फिल्मको तयारीमा जुटेका थिए । तर, त्यो फिल्म विभिन्न कारणले अड्किएपछि उनी फेरि ‘डेनी डेन्जरस’मा फर्किएका हुन् । फिल्मको स्क्रिप्ट लेखन सकिएसँगै यतिबेला उनी कलाकार छनोटमा व्यस्त छन् ।
केही दिनअघि फिल्मको मुख्य भूमिकामा अभिनेता समीर भट्टलाई अफर गरिएको खबर बाहिरिएको थियो । तर, बिहीबार समीरले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै कुनै पनि टिमसँग फिल्मका लागि भेटघाट र छलफल नभएको स्पष्ट पारेका थिए । त्यसलगत्तै निश्चलले पनि फेसबुक पोस्टमार्फत ‘मेरो पनि त्यै’ भन्दै समीरको कुरामा सहमत जनाए ।
फिल्ममा समीरको चर्चा भइरहँदा मुख्य भूमिकामा भने यसअघि नै धीरज मगर अनुबन्धित भइसकेका छन् । निकट स्रोतका अनुसार निश्चलले एक वर्षअघि धीरजलाई फिल्म अफर गरेका थिए । उनीहरूबीच लिखित सम्झौता भने केही साताअघि भएको हो । यतिबेला धीरज फिल्मको पात्रका लागि पूर्वतयारीमा जुटेका छन् । फिल्ममा उनी ग्याङ्स्टरको भूमिकामा देखिने जनाइएको छ ।
ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का निर्माताका रूपमा छिन् । फिल्ममा उनको अभिनय भने नरहने जनाइएको छ । निश्चल बस्नेत र आकाश बरालको लेखन रहेको फिल्मको छायांकन पुषदेखि सुरु गर्ने तयारी गरिएको छ । फिल्मबारे जानकारी दिन निर्माण पक्षले केही दिनमा औपचारिक घोषणा कार्यक्रम आयोजना गर्दैछ ।

