Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल चलचित्र संघमा प्रज्वलको नेतृत्व

फिल्मीखबर, काठमाडौं, 2026/11/22

Nepal Film Association

 

काठमाडौं । नेपाली फिल्म क्षेत्रको सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । शनिबार ललितपुरको रोयल टुलिप होटलमा आयोजित संघको ५२ औँ साधारण सभाले तीन वर्षका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रज्वल नयाँ बानेश्वरस्थित वान् सिनेमाजका सञ्चालक हुन् । 

संघको अध्यक्ष पदमा जबराले गोपालकाजी कायस्थसँग प्रतिस्पर्धा गरेका थिए । उनले ५३ मत प्राप्त गरे भने कायस्थको पक्षमा ३७ मत झर्‍यो । संघको सदस्य पदमा भने खुलातर्फ आशिष तामाङ, दुर्गालाल प्रधान, मिजास पोखरेल र योगेन्द्र मल्ल ठकुरी तथा वितरकतर्फ करण श्रेष्ठ र गोविन्दबहादुर शाही निर्विरोध निर्वाचित भए । 

प्रदेश सदस्यतर्फ कोशी र मधेश प्रदेशबाट चैतन्य बराल, बागमतीबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यतर्फ कर्णालीका डाक्टर सिंह गुरुङ निर्विरोध चयन भएका छन् । अब संघको विधानअनुसार निर्वाचित सदस्यहरूबाट सहमतिका आधारमा प्रथम उपाध्यक्षदेखि महासचिवसम्म चुनिनेछ । 

सन् १९५६ (२०१३ साल)मा स्थापना भएको नेपाल चलचित्र संघ (नेपाल मोसन पिक्चर्स एसोसिएसन–नेम्पा) हल व्यवसायी र फिल्म वितरकहरूको छाता संस्था हो । संघका पहिलो अध्यक्ष भुवनेश्वर अमात्य थिए । त्यसपछि प्रदीप कुमार उदय, मधुसूदन प्रधान, वीरेन्द्रनारायण श्रेष्ठ, नरेन्द्र महर्जनलगायतले संघको नेतृत्व सम्हालिसकेका छन् ।