.jpeg)
‘पूजार सार्की’का लेखक विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘शिरजराः द सङ्ग अफ ग्रान्डमदर’ जापानको प्रतिष्ठित ‘टोकियो ग्याप फाइनान्सिङ मार्केट’मा छनोट भएको छ । २०२६ को फिचर फिल्मतर्फ ‘शिरजरा’ उत्कृष्ट २४ भित्र पर्न सफल भएको हो । ‘टोकियो ग्याप’मा दक्षिण एसियाबाट छनोट हुने यो एक्लो फिल्म समेत बनेको छ ।
‘शिरजरा’ छनोट भएसँगै अब फिल्मका निर्माता र निर्देशकले आगामी बैशाखमा टोकियोमा आयोजना हुने फन्डिङ कार्यक्रममा अन्तर्राष्ट्रिय वितरक र युरोपेली सह-निर्माताहरूसँग फिल्म निर्माण र विश्वव्यापी प्रदर्शनका लागि प्रत्यक्ष बैठकहरू गर्ने अवसर प्राप्त गर्नेछन् । सन् २०२० मा नेपाली फिल्म ‘शाम्बाला’ले पनि यही बजारमा छनोट भएर पुरस्कार जितेको थियो ।
किङ्डम नेटवर्कका लागि सुभाष भुसालले निर्माण गरेको फिल्ममा निर्देशक सुवेदी स्वयंको लेखन रहेको छ । विकासले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । कुनै बेला म्यूजिक भिडियोमा सफल निर्देशकको रूपमा चिनिएका उनले ‘पूजार सार्की’सहित ‘कुमारी’, ‘प्रकाश’ र ‘महाभोज’ जस्ता फिल्मको स्क्रिप्ट पनि लेखेका छन् ।
गत मार्चमा छायांकन गरिएको ‘शिरजरा’ले नातिनी र हजुरआमाबीचको सम्बन्धलाई केन्द्रमा राख्दै आधुनिक प्रविधि र मानवीय संवेदनाको कथा प्रस्तुत गरेको छ । फिल्ममा फ्रान्सेली अभिनेत्री लुआना बजरामीको मुख्य भूमिका रहेको छ । उनी ओस्कार विजेता सर्ट फिल्म ‘टु पिपल एक्सचेन्जिङ सलाइभा’की अभिनेत्री समेत हुन् । फिल्ममा आर्यन सिग्देलको पनि अभिनय रहेको छ ।

