
हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै शुक्रबारबाट दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ एकसाथ प्रदर्शनमा आएका छन् । फरक शैली र विषयमा बनेका यी दुवै फिल्ममा दर्शकमाझ परिचित कलाकारहरूको अभिनय रहेकाले फिल्म क्षेत्रले ठूलो आशा राखेको छ । यसैले हलहरूले पनि दुवै फिल्मलाई सुखद शो उपलब्ध गराएका छन् ।
दुई फिल्ममध्ये ‘पेन्सन पट्टा’ शो संख्यामा अगाडि देखिन्छ । यसले देशव्यापी करिब डेढ सय शो पाएको छ । ‘बेहुली’को शो भने एक सय हाराहारी छ । दुवै फिल्मले बिहानी शोमा देशव्यापी २० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेका छन्, जसलाई सुखद नै मान्न सकिन्छ । अब ‘वर्ड अफ माउथ’ कस्तो रहन्छ, त्यसले दुवै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।
अभिनेता माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, सुनिल थापा, लुनिभा तुलाधर, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान र सम्बन्धको कथा प्रस्तुत गरेको छ ।
सशान कँडेलको निर्देशनमा बनेको ‘बेहुली’ भने प्रेमकथामा आधारित फिल्म हो । यसमा टिकटक स्टार पारस बम (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा छन् । सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौलीलगायतका कलाकारहरूको पनि अभिनय रहेको फिल्मलाई संगीतकार अर्जुन पोखरेलले निर्माण गरेका हुन् ।

