एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘कालमाण्डू’ पुष २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार फिल्ममा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । निर्माण पक्षले पुष २४ लाई प्रदर्शन मिति तय गर्नुको पछाडि बिदा मुख्य कारण देखिन्छ । फिल्म रिलिजको दुई सातामा ६ वटा बिदा छन् ।
फिल्मको सार्वजनिक गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत छ भने शब्द रमेश देवकोटाको हो । गीतको भिडियोमा फिल्मका मुख्य जोडी अनिलराज पौडेल र रोशनी कार्की देखिएका छन् । उनीहरूलाई राधाकृष्णको रूपमा प्रस्तुत गरिएको छ । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङको छायांकन (डीओपी) तथा सम्पादन छ ।
सयनम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिलराज र रोशनीसहित गजित विष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मलाई कमल थिङले निर्माण गरेका हुन् ।
निर्देशक अधिकारीका अनुसार १९ वर्षकी बहिनी हराएपछि उनलाई खोज्न निस्किएका दाजु कसरी अपराधको दुनियाँमा फस्छ र बहिनीको खोजीमा कस्ता खतरासँग जुध्छ भन्ने फिल्मले देखाउनेछ । काठमाडौंको बाहिरी चमकभित्र लुकेको अपहरण, हत्या, अपराध र मानव तस्करीको कथा फिल्ममा रहेको उनको भनाइ छ ।

