यस वर्षको तीजलाई लक्षित गर्दै सयौँ गीत सार्वजनिक भइसकेका छन् । तर, चर्चामा भने एकाध गीत मात्र छन् । यस्तोमा यतिबेला फिल्म ‘झिँगेदाउ २’को तीज गीत ‘धागो छिन्यो चर्खाको’ सामाजिक सञ्जालमा भुसको आगोझैँ फैलिएको छ । गीतमाथि हजारौँ टिकटक बनिसकेका छन् भने तीज कार्यक्रममा समेत गीत प्राथमिकतामा पर्न थालेको छ ।
युट्युब रिलिजको ६ दिनमा गीतलाई २५ लाख बढीले हेरिसकेका छन् । गीतलाई प्रतिक्रिया पनि लोभलाग्दो मिलेको छ । रचना रिमाल र एलिना चौहानको स्वरको प्रशंसा भइरहेको छ भने भिडियोमा नृत्य गरेका केकी अधिकारी र आँचल शर्माको केमेस्ट्रीलाई पनि दर्शकले निकै रुचाएका छन् । विशेषगरी गीतको हुकलाइन ‘धागो छिन्यो चर्खाको’ दर्शकमाझ लोकप्रिय बनेको छ ।
एक महिनाअघि सार्वजनिक भएको टिजरले फिल्मप्रति दर्शकको चासो बढाइरहेको अवस्थामा यतिबेला तीज ब्याटल गीतले पनि छुट्टै माहोल बनाउँदा निर्माण टिममा उत्साह थपिएको छ । फिल्मका हरेक प्रचार सामग्री दर्शकको रोजाइमा पर्नुले व्यावसायिक सफलताको सम्भावना बढाएको छ । यो फिल्मको भागले पनि उत्साहजनक व्यापार गरेको थियो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, सरोज खनाल, संगम भण्डारी, अयभराज बराललगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मले जेठानी र देउरानीबीचको झगडालाई केन्द्रमा राखेर पारिवारिक सम्बन्धको कथा पेस गरेको छ ।

