
अभिनेत्री न्यान्सी खड्काको मुख्य भूमिका रहेको फिल्म ‘अक्षरा’ भदौ २६ गते प्रदर्शन नहुने भएको छ । बुधबार निर्माता कम्पनी क्षित बाबु प्रोडक्सन हाउसले एक विज्ञप्ति जारी गर्दै देशको परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन मिति स्थगित गरिएको जनाएको छ । अब फिल्म मंसिर २४ गतेबाट प्रदर्शनमा आउने विज्ञप्तिमा उल्लेख छ ।
निर्माण पक्षले देशको परिस्थितिलाई कारण देखाउँदै प्रदर्शन मिति स्थगित गरेको भए पनि वास्तविक कारण भने फिल्मले कम शो पाउनु रहेको बुझिएको छ । मंगलबारदेखि खुलेको अग्रिम टिकट बुकिङमा फिल्मले देशव्यापी जम्मा २४ शो पाएको छ । यो शोमा फिल्म रिलिज गर्दा लगानी उठाउन नसकिने निष्कर्षपछि निर्माताले प्रदर्शन मिति स्थगित गरेका हुन् ।
विनयराज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा न्यान्सीसहित रिस्ता बस्नेत, सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना, त्रिलोचन न्यौपानेलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन तथा गौतमराज खड्काको सम्पादन रहेको छ ।

