संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । बाढीका कारण केही दिन प्रचारप्रसार स्थगित गरेको निर्माण टिमले मंगलबार तीन मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याएको हो । ग्रामीण भेगमा भारी बोकेर जीविकोपार्जन गर्ने भारियाको जीवन संघर्षलाई ट्रेलरले प्रस्तुत गरेको छ ।
ट्रेलर मुख्यतः जितु नेपालको वरिपरि घुमेको छ, जो कार्की साइँलाको भूमिकामा छन् । भारी बोकेर जीवन चलाउँदै आएका उनले सन्तान नहुँदा पारिवारिक विग्रह भोग्नुपरेको देखिन्छ । सहरबाट गाउँ आएकी युवती (प्रियना आचार्य)सँग उनको प्रेम बसेको पनि ट्रेलरमा देखाइएको छ । यसले पारिवारिक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा फिल्म आधारित रहेको संकेत गर्छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको यस फिल्ममा जितु र प्रियनासहित सुशील पोखरेल, मान्शी शर्मा, कमल देवकोटा, मनिल तामाङ, विरेन्द्र सिंह कुशवाहा, दिप्सन लिम्बू, रोदा राई, मेनुका आचार्य, गणेश राजभण्डारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताको रूपमा छन् ।
अनन्त राई कार्यकारी निर्माता रहेको फिल्ममा डम्बर राईको कथा, सविन अधिकारी र शंकर धितालको पटकथा तथा संवाद, डम्बर राईको छायांकन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बू र संकेत अगस्तीको संगीत तथा कमल राईको नृत्य निर्देशन छ । फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् ।

