Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैंमा आउन लागेको हो ‘कबड्डी ५’ ?

फिल्मीखबर, काठमाडौं, 2026/09/08

kabbadi-5

 

नेपालमा फिल्म रिलिजका लागि दशैंभन्दा ठूलो हानाथाप हुने समय अर्को छैन । लामो विदा र दर्शक ‘फेस्टिभ मूड’मा हुने भएकाले अन्य समयको तुलनामा दशैंमा हलमा दर्शकको चाप बढी हुने गरेको छ । यसैले फिल्म रिलिजका लागि हरेक निर्माताको पहिलो रोजाइ दशैं नै हुने गर्छ । जसले गर्दा वर्षेनि दशैंमा फिल्मको रिलिजको चाप उच्च हुने गरेको छ । 

यसपालिको दशैंमा पनि फिल्म रिलिजको मारामार हुने देखिन्छ । अहिलेसम्म दशैंलाई ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘बाटुलो जून’ र ‘आ बाट आमा २’ले गरी चार फिल्मले प्रदर्शन मिति तय गरिसकेका छन् । यसमध्ये ‘बाटुलो जून’ मात्र ढुलमुल देखिएको छ । अर्थात् दशैंमा रिलिज हुने–नहुने अन्योल छ । तर, अन्य फिल्म भने दशैंबाट पछाडि हट्ने पक्षमा छैनन् । 

दशैंमा निर्देशक अशोक शर्माले पनि आफ्नो फिल्म ‘डबल ट्रिपल’ रिलिज गर्न लागेको चर्चा चलेको थियो । दशैंको मिति राखेर उनले पोस्टर समेत तयार गरिसकेका थिए । तर, अब उनी दशैंमा फिल्म रिलिज नगर्ने निर्णयमा पुगेको स्रोतको दाबी छ । ‘डबल ट्रिपल’ दशैंमा नआउने भएपछि यतिबेला अर्को फिल्म ‘कबड्डी ५’को चर्चा भइरहेको छ । 

स्रोतका अनुसार वितरक र निर्माताबीचको सहमति भंग नभए ‘कबड्डी ५’ असोज ३० गते आउने लगभग निश्चित छ । दशैंमा फिल्म ल्याउने गरी निर्देशक रामबाबु गुरुङले टिजर समेत तयार गरिसकेको बताइएको छ । तर, केही दिनअघि दशैंमा आउने एउटा फिल्मको टिमले निर्देशक गुरुङसँग छलफल गरेपछि रिलिजको समीकरण फेरिन सक्ने सम्भावना बढेको फिल्मवृतमा चर्चा छ । 

‘कबड्डी ५’ असोज ३० मा प्रदर्शनमा आए दशैंको बक्स अफिस भिडन्त निकै रोचक बन्ने देखिन्छ । किनकि, ‘बाटुलो जून’बाहेक सबै फिल्म सिक्वेल र सिरिज हुन् । त्यसमाथि हरेक फिल्ममा स्टार कलाकारको अभिनय छ । त्यसैले दशैंमा व्यावसायिक प्रतिस्पर्धासँगै कलाकारको स्टारडम पनि मापन हुनेछ । अब सबैको चासो ‘कबड्डी ५’को रिलिजलाई लिएर छ ।