Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गौँथली’को व्यापार साढे २५ करोडमाथि, ‘मास्टर्नी’को ४० लाख पनि कटेन

फिल्मीखबर, काठमाडौं, 2026/08/31

bord

 

सर्वकालीन ब्लकबस्टर फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा साढे २५ करोडमाथिको व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार १४ भदौ (आइतबार)सम्म फिल्मले २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कमाएको छ । उक्त अवधिसम्म फिल्मका ९ लाख ३१ हजार ६२७ वटा टिकट बिक्री भएका छन् । 

भदौ ५ गतेबाट प्रदर्शनमा आएको प्रियंका कार्की अभिनीत फिल्म ‘मास्टर्नी’ भने बक्स अफिसमा कमजोर देखिएको छ । फिल्मले पहिलो १० दिनमा ४० लाखको पनि व्यापार गर्न सकेको छैन । बोर्डको विवरणअनुसार फिल्मले आइतबार (१४ भदौ)सम्म कुल ३९ लाख ५२ हजार ८५९ रुपैयाँ ग्रस कमाएको छ । फिल्मको यो कमाइ ११ हजार ९९६ वटा टिकट बिक्रीबापत भएको हो । 

त्यस्तै, साउन २२ गते प्रदर्शन भएको फिल्म ‘हली’ले २३ लाख ११ हजार २७० रुपैयाँ ग्रस कमाएको छ । आइतबारसम्म फिल्मका ८ हजार ४६३ वटा टिकट बिक्री भएका छन् । साउन २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘लज्जावती’को कमाइ भने ७ लाख ७५ हजार ४७० रुपैयाँ रहेको छ । यो फिल्मलाई १७ दिनमा २ हजार ७३५ जनाले हेरेका छन् । 

गत शुक्रबार (१२ भदौ)बाट प्रदर्शनमा आएको फिल्म ‘पार्वती’को आधिकारिक बक्स अफिस विवरण भने अर्को सोमबार सार्वजनिक हुनेछ । यद्यपि, फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार फिल्मले आइतबार (१४ भदौ)सम्म ८५ लाखमाथिको व्यापार गरिसकेको छ । यसलाई सुखद नै मान्न सकिन्छ । ‘गौँथली’पछि नेपाली फिल्मले गरेको यो दोस्रो ठूलो कमाइ हो ।