Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनील शेट्टीदेखि रश्मिकासम्म : नेपालका लागि प्रार्थना गर्दै भारतीय कलाकार

फिल्मीखबर, काठमाडौं, 2026/08/28

bollywood artist 2

 

भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालमा ठूलो जनधन र भौतिक क्षति भएपछि विश्वभरबाट आर्थिक सहयोगसँगै सहानुभूति र ऐक्यबद्धता प्राप्त भइरहेको छ । विशेषगरी भारतीय कलाकारहरूले सामाजिक सञ्जालमार्फत बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै नेपालीलाई सुरक्षित र बलियो रहन आग्रह गरिरहेका छन् । 

सबैभन्दा पहिला अभिनेता सोनू सूदले फेसबुकमार्फत नेपाल एक्लो नरहेको बताउँदै चाँडै खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्न आउने प्रतिबद्धता जनाएका थिए । यसपछि अभिनेता सञ्जय दत्तले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट लेख्दै आफू नेपालीको साथमा रहेको र नेपालका लागि आफूले सक्ने जुनसुकै तरिकाको सहयोग गर्न तयार रहेको बताए । 

बिहीबार अभिनेता अनुपम खेरले पनि एक भिडियो सन्देश जारी गर्दै आफूले नेपालका लागि प्रार्थना गरिरहेको बताएका थिए । अर्का अभिनेता सुनील शेट्टीले इन्स्टाग्राम स्टोरीमार्फत नेपालमा भएको विनाशबाट आफू एकदमै दुःखी भएको बताएका छन् । उनले लेखेका छन्, ‘प्रभावित परिवारप्रति मेरो गहिरो सहानुभूति छ । र, घटनास्थलमा खटिनुभएका सबैप्रति मेरो सम्मान छ ।’

 

bollywood artist


अभिनेत्री रश्मिका मन्दानाले पनि नेपालका दृश्यहरू निकै भयावह र हृदयविदारक रहेको बताउँदै अवस्था चाँडै सामान्य होस् भन्ने कामना गरेकी छन् । आर. माधवन, शिल्पा शेट्टी, कृति सेनन, अहान शेट्टी, नोरा फतेही, श्रिया सरन, प्रजक्ता कोलीलगायतका कलाकारहरूले पनि बाढीका तस्बिर तथा भिडियो सेअर गर्दै नेपालका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

‘मायाको माया’ नामक एक नेपाली फिल्ममा अभिनय समेत गरेका भारतीय अभिनेता सत्यजीत दुबेले इन्स्टाग्राममा लामो पोस्ट लेख्दै आफूले छायांकनका क्रममा नेपालका विभिन्न भाग घुमेको स्मरण गरेका छन् । नेपालका मानिस, खाना, हिमाल, आत्मीयता सबै आफ्नो मनमा बसिरहेको उल्लेख गर्दै उनले अहिले नेपालबाट आइरहेका दृश्यहरू हृदयविदारक रहेको बताएका छन् । 

नेपालमा बाढीले निम्त्याएको विनाश कल्पना गर्न समेत कठिन हुने उल्लेख गर्दै उनले लेखेका छन्, ‘यो विपत्तिमा आफ्ना प्रियजन, घर वा जीवनको कुनै महत्वपूर्ण हिस्सा गुमाएका नेपालका सबैप्रति मेरो मनदेखि नै सहानुभूति छ । नेपाली जनतामा शक्ति, प्रेम र प्रार्थना पठाइरहेको छु । साथै, अझै बेपत्ता रहेकाहरूको सकुशल उद्धार होस् र सबै सुरक्षित रहून् भन्ने कामना गर्दछु ।’