भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधन र भौतिक क्षति भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले राहत, उद्दार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गरिरहेका छन् । नेपाली फिल्म क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम जारी छ । ‘महजोडी’देखि दीपकराज गिरी, दीपाश्री निरौला, विराज भट्ट, अनमोल केसीलगायतले आर्थिक सहयोग गरिसकेका छन् ।
यसैबीच, अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन् । यो नेपाली कलाकारहरूबाट प्राप्त व्यक्तिगततर्फको दोस्रो ठूलो सहयोग हो । यसअघि अभिनेता तथा टिकटकर पारस बम ठकुरी (कुल ब्वाय)ले पाँच लाख रुपैयाँ सहयोग गरेका थिए ।
प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै वर्षाले फेसबुकमा लेखेकी छन्, ‘यो रकमले उहाँहरूको पीडा त मेटाउन सक्दैन, तर कठिन समयमा उनीहरूलाई थोरै भए पनि राहत र आशा दिन सकोस् भन्ने मेरो आफ्नो प्रयास हो ।’ उनले बाढीपीडित परिवारलाई फेरि आफ्नो खुट्टामा उभिन सक्ने बनाउन सबैले आफ्नोतर्फबाट सकेको सहयोग गर्न आग्रह गरेकी छन् ।
बाढीपीडितका लागि कलाकारहरूले आर्थिकसँगै खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका सामग्री पनि सहयोग गरिरहेका छन् । अभिनेत्री सन्ध्या केसीले नयाँ कपडाहरू बाढी प्रभावित क्षेत्रमा पठाएको भिडियो सामाजिक सञ्जालमा सेअर गरेकी छन् । त्यस्तै, अभिनेत्री प्रियंका कार्की आइतबार लत्ताकपडासहित आवश्यक सामग्री लिएर नुवाकोट पुगेकी छन् ।

