Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टक्सिक’को कमाइमा ६२ प्रतिशत गिरावट, फ्लपको खतरा !

फिल्मीखबर, काठमाडौं, 2026/08/28

toxic movie

 

‘केजीएफ’ स्टार यशको मुख्य भूमिका रहेको फिल्म ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ २०२६ को सबैभन्दा ठूलो फ्लप बन्ने संकेत देखिएको छ । भारतमा एक सय करोडमाथिको सानदार ओपनिङ गरेको फिल्मले दोस्रो दिनमै बक्स अफिसमा घुँडा टेकेको छ । फिल्मको दोस्रो दिनको कमाइमा ६२ प्रतिशत गिरावट आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

हिन्दी भर्सनमा ५५ करोडको ओपनिङ गरेको फिल्मले दोस्रो दिन भारतमा हिन्दीसहित कन्नड, तमिल, तेलुगु र मलयालम भाषामा गरी जम्मा ३७ करोड ६५ लाख कमाएको ट्रेड पोर्टल स्याकनिल्कले जनाएको छ । पहिलो दिन (१०१.१० करोड)को तुलनामा फिल्मको यो कमाइ ६२.८ प्रतिशतले कम हो । शुक्रबार रक्षा बन्धनमा भने फिल्मको व्यापार केही वृद्धि हुने अनुमान गरिएको छ ।

भारतमा दुई दिनमा १६५ करोड ८५ लाख ग्रस (१३८ करोड ७५ लाख नेट) कमाइ गरेको फिल्मले विश्वभरबाट १८५ करोड ६० लाख ग्रस कमाएको स्याकनिल्कको रिपोर्टमा उल्लेख छ । यसमा ओभरसिजको योगदान १९ करोड ७५ लाख रहेको छ । फिल्मले सबैभन्दा बढी हिन्दी भर्सनमा कमाइ गरेको छ । दुई दिनमा फिल्मको हिन्दी भर्सनको कमाइ झन्डै ८० करोड भारु छ । 

करिब ५ सय करोडको लागतमा निर्माण भएको फिल्मलाई दर्शक र समीक्षक दुवैले रुचाएका छैनन् । द इन्डिया टाइम्स, बलिउड हंगामा, हिन्दूस्तान टाइम्स, दैनिक भाष्करजस्ता भारतीय मिडियाले फिल्मलाई १ देखि २ सम्म रेटिङ दिएका छन् । दर्शकहरूले पनि सामाजिक सञ्जालमार्फत फिल्मको आलोचना गरिरहेका छन् । यसको असर फिल्मको व्यापारमा देखिन थालेको छ ।

३ घन्टा १४ मिनेट लामो ‘टक्सिक’ ठूलो स्केलको ग्याङस्टर फिल्म हो, जसमा रोमान्सदेखि एक्सनसम्म छ । फिल्ममा यशको ‘स्क्रिन प्रेजेन्स’ सबैभन्दा प्रभावशाली देखिएको छ । तर, कथा अस्पष्ट हुँदा फिल्मले दर्शकको ध्यान एकाग्र गर्न सक्दैन । यद्यपि, फिल्मको छायांकन, ब्याकग्राउन्ड म्युजिक, एक्सन, भिएफएक्स र संगीतको भने प्रशंसा भइरहेको छ ।

सन् २०१३ मा प्रदर्शन भएको ‘लायर्स डाइस’बाट निर्देशन विधामा राष्ट्रिय अवार्ड जितेकी गीतू मोहनदासको निर्देशनमा बनेको यस फिल्ममा नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, हुमा कुरैशी र रुक्मिणी वसन्तको पनि मुख्य भूमिका रहेको छ । तर, नयनताराबाहेक अरु अभिनेत्री फिल्ममा ‘शो पिस’मा मात्र सीमित भएका छन् । फिल्म पूर्णतः यशमा केन्द्रित छ ।