Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘पार्वती’, पहिलो दिनको कमाइ बाढी पीडितलाई

फिल्मीखबर, काठमाडौं, 2026/08/28

parwati movie

 

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशमा विषम परिस्थिति सिर्जना भएको छ । बाढीमा परी सयौँको ज्यान गएको छ भने पूर्वधारमा समेत ठूलो क्षति पुगेको छ । यस्तो असहज परिस्थितिमा मनोरञ्जन क्षेत्रका गतिविधि ठप्प प्रायः छ । प्रदर्शनको तयारीमा रहेका फिल्मले प्रचार अभियान समेत तत्काललाई रोकेका छन् । 

तर, फिल्म ‘पार्वती’ भने शुक्रबारबाट प्रदर्शनमा आएको छ । रसुवाको बाढीले देशमा ठूलो क्षति पुर्‍याएपछि फिल्म प्रदर्शन हुने–नहुने नै अन्योल बनेको थियो । तर, बुकिङ खुलेर टिकट समेत बिक्री भइसकेका कारण निर्माताले प्रदर्शन नरोक्ने निर्णय गरे । बरु फिल्मको पहिलो दिनको सम्पूर्ण कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी पीडितलाई दिइने घोषणा गरिएको छ । 

अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको ‘पार्वती’ले देशव्यापी १ सयभन्दा बढी शो पाएको छ । त्यसमध्ये केही शोमा टिकट बिक्री राम्रो देखिएको छ । पहिलो शोमा फिल्म हेरेका दर्शकबाट प्रतिक्रिया पनि सकारात्मक मिलेको जनाइएको छ । अब व्यापारमा यसको प्रभाव कस्तो देखिन्छ, त्यसले नै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।

अभिनेता हरिहर अधिकारीको लगानीमा बनेको यस फिल्ममा नीता स्वयं मुख्य भूमिकामा छिन् भने अशोक दर्जी, दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले दिदीभाइको सम्बन्धलाई केन्द्रमा राखेर अटिजम भएकी युवतीको संघर्षको कथा पेस गरेको छ ।