
रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को मंगलबार चितवनस्थित म्याङ्गो जनज्योति हलमा ‘पब्लिक प्रिमियर’ गरिएको छ । फिल्मका मुख्य कलाकारहरू नीता ढुंगाना र अशोक दर्जीको उपस्थिति रहेको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्म हेरेका अधिकांश दर्शक भावुक देखिएका थिए ।
खैरहनी नगरपालिकाका मेयर र उपमेयरसहित दुई सयभन्दा बढी दर्शकको उपस्थिति रहेको प्रिमियरमा फिल्मको कथावस्तु र कलाकारहरूको अभिनय सबैभन्दा बढी रुचाइएको छ । फिल्मले नेपाली समाजको यथार्थ कथा पस्किएको प्रायः दर्शकको धारणा थियो । प्रिमियरमा नीता र अशोक फिल्मकै गेटअपमा पुगेका थिए, जसले दर्शकलाई पात्रसँग जोडिन थप सहज बनाएको थियो ।
फिल्मकी निर्देशक समेत रहेकी नीताले चितवनका दर्शकले फिल्म मन पराइदिएकोमा खुसी व्यक्त गरिन् । प्रिमियरको प्रतिक्रियाले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै उनले भनिन्, ‘फिल्म हेर्दा अधिकांश दर्शकको आँखामा आँसु देखिएको थियो । फिल्मको कथा र पात्रसँग दर्शक यसरी जोडिनु नै हाम्रा लागि ठूलो कुरा हो । यसले हामीलाई थप आत्मबल दिएको छ ।’
ज्योतिष तथा अभिनेता हरिहर अधिकारी निर्माता रहेको फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन रहेको छ ।

