
निर्माणको तयारीमा रहेको फिल्म ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतमको प्रवेश भएको छ । बुधवार निर्माण टिमले उनीहरुको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो । एक्सन जनरामा बन्न लागेको फिल्ममा यसअघि अभिनेता द्वय मनिष राउत र गौरव पहारीको प्रवेश भइसकेको छ ।
फिल्म सम्बन्धि अध्यापन गराउँदै आएको एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन गरिने बताइएको छ । सीबर्ड्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिश पराजुलीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।
राकेश दाहालको पोस्टर डिजाइन रहेको फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत दिनेछन् । चैत अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्मलाई गौरी शंखर र विकाश सिटौलाले छायांकन गर्दैछन् । अहिले निर्माण टिम अभिनेता मनिष राउतको अपोजिटका लागि अभिनेत्रीको खोजी गरिरहेको छ । लामो समयदेखि प्रि-प्रोडक्सनमा रहेको फिल्ममा मनिष टाइटल क्यारेक्टरमा देखिनेछन् ।

