Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ ओस्कार जितेको ‘कोडा’ ?

फिल्मीखबर, काठमाडौं, 2022/03/30
संसारको सबैभन्दा प्रतिष्ठित अवार्ड हो, ओस्कार । अभिनयको यात्रामा निस्किएका कलाकार हुन् वा दृश्यको कथावाचन गर्ने निर्देशक, ओस्कारको मञ्च उक्लिएर अवार्ड चुम्ने सपना पालेकै हुन्छन् । ओस्कारले न फिल्मको व्यवसायिक सफलता हेर्छ न कलाकारको लोकप्रियता । समाजलाई बदल्ने ल्याकत बोकेको फिल्म र चरित्रमा जीवन्त बाँच्ने कलाकार ओस्कारमा अब्बल ठहरिने गरेका छन् । 
 
हरेक वर्ष अमेरिकाको क्यालिफोर्नियास्थित लस-एन्जल्सको डल्बी थिएटरमा आयोजना हुँदै आएको ओस्कारको ९४औं संस्करण सोमवार सम्पन्न भयो । कार्यक्रमका होस्ट क्रिस रकलाई अभिनेता विल स्मिथले थप्पड हानेको घटनाले चर्चामा रहेको ओस्कार अवार्डमा अमेरिकी फिल्म ‘कोडा’ सर्वोत्कृष्ट घोषित भयो । यो फिल्मले अन्य दुई विधा सह-अभिनेता र एडप्टेड स्क्रिननप्लेको अवार्ड पनि जित्यो ।
 
‘कोडा’ सन् २०२१ मा रिलिज भएको फिल्म हो । १० मिलियन अमेरिकी डलरमा निर्माण भएको फिल्मले बक्सअफिसमा १.१ मिलियन डलरको मात्र कमाई गरेको थियो । अर्थात् फिल्म बक्सअफिसमा पूर्ण रुपमा असफल भएको थियो । तर, ओस्कार अवार्डमा यही फिल्म सर्वोत्कृष्ट बन्न सफल भयो । फिल्मको मापन बक्सअफिस अंकले गर्दैन भन्ने नजिर ओस्करले स्थापित गरेको छ । 
 
coda movie
 
‘कोडा’ एक यस्तो परिवारको कहानी हो, जसमा मानिसहरु सुन्न सक्दैनन् । फिल्म बक्सअफिसमा असफल भएपनि कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीकरणले दर्शकको मन छोएको थियो । यो फिल्म फ्रान्सिसी फिचर फिल्म ‘ला फ्यामेली बेलियर’ को रिमेक हो । सियान हेडरको निर्देशनमा बनेको फिल्ममा बढीजसो सिन सांकेतिक भाषाको माध्यमबाट दर्शकलाई व्यक्त गरिएको छ । 
 
फिल्ममा एक परिवार छ, जसमा माता-पिता र दुई भाई-बहिनी छन् । यो परिवारले माछा पालन गरेर जीविकोपार्जन गरेको छ । परिवारका चार सदस्यमध्ये तीन जना बहिरा छन् तर एक सदस्य रुबी भने अलग छिन् । उनी सुन्न र बोल्न दुवै सक्छिन् । उनी आफ्नो परिवार र अन्य व्यक्तिसँग कुरा गर्नका लागि एक माध्यम बन्छिन् । रुबीको माध्यमबाट परिवारले माछा पालन गरिरहेको हुन्छ । 
 
तर, रुबीलाई म्यूजिकमा निकै रुचि हुन्छ । यसैक्रममा, उनको भेट एक संगीतको अध्ययन गराउने शिक्षकसँग हुन्छ र ती शिक्षकले उनलाई एक नयाँ दुनियाँसँग परिचित गराउँछन् । रुबी म्यूजिकको दुनियाँमा निकै अगाडि पुग्छिन् तर उनको परिवारले उनले गाएको गीत नै सुन्न सक्दैन । परिवारका कारण उनले स्कूल जीवनमा भोग्नु परेको पीडा र गायन क्षेत्रमा गर्नुपरेको संघर्षमा फिल्म केन्द्रित छ ।
 
फिल्ममा रुबीको चरित्र अभिनेत्री एमिलिया जोन्सले निर्वाहा गरेकी छन् ।  त्यस्तै, ट्रोय कोटसर ‘फ्र्याङक रोसी’ को चरित्रमा छन् । फिल्ममा डेनियेल डुरान्ट, यूजेनियो डेर्बेज, मार्ली म्याटलिन, फेरडिया वल्श पीलोको पनि अभिनय छ । फिल्ममा सबै कलाकार आफ्नो चरित्रमा जीवन्त बाँचेका छन् । एक सय ११ मिनेट लम्बाईको फिल्मलाई महिला छायाँकार पौला हुइडोब्रोले खिचेकी हुन् ।
Most Visited News (monthly)