.jpg)
बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले प्रदर्शनरत फिल्म ‘आरआरआर’बाट साउथ फिल्म इन्डस्ट्रीमा पाइला राखेकी छन् । शुक्रवारबाट संसारभर प्रदर्शनमा आएको फिल्मले हिन्दी भर्सनमा मात्र सय करोड नजिकको व्यापार गरिसकेको छ । तर, फिल्म प्रदर्शनमा आएसँगै टिमभित्र मनमुटाव सुरु भएको छ । फिल्म हेरेपछि आलिया निर्देशक एसएस राजामौलीसँग रुष्ट बनेकी छन् ।
फिल्मको फाइनल सम्पादनमा आफ्नो सिन काटिएपछि उनले इन्स्टाग्रामबाट फिल्मसँग जोडिएका प्रायः सबै पोस्ट हटाएकी छन् । २०२१ को मार्च २६ मा अभिनेता रामचरण रामको अवतारमा प्रस्तुत भएको पोस्टरपछि उनले इन्स्टामा अपलोड गरेका फिल्मका सबै पोस्टहरु डिलिट गरेकी छन् । फिल्म रिलिजको संघारमा हुँदा उनले ‘आरआरआर’को प्रमोट गर्न विभिन्न पोस्ट गरेकी थिइन् ।
फिल्ममा आलियाको सिन काटिएको विषयमा भने राजामौलीले केही बोलेका छैनन् । फिल्ममा आलिया सीताको भूमिकामा छिन् । राजामौलीले आलियाको स्टारडमको हिसाबमा रोल दिन नसकेको टिप्पणी पनि भइरहेको छ । फिल्ममा आलियाको चरित्र र अभिनय उत्ति साह्रो प्रभावशाली छैन । त्यसमाथि सिन पनि काटिएपछि आलिया निर्देशक राजामौलीसँग असन्तुष्ट देखिएका छन् ।
फिल्ममा जूनियर एनटीआर, रामचरण, अजय देवगन, श्रिया सरन अलिविया मोरिस, रे स्टीवेन्सन, एलिसन डूडीको पनि अभिनय छ । हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज भएको फिल्मको कथा केवी विजयेन्द्र प्रसादले लेखेका हुन् । राजामौली, उनका छोरा हुन् । फिल्मको कथा तेलुगु फ्रिडम फाइटर अल्लूरी सीताराम राजु र कोमाराम भीममाथि आधारित छ ।

