.jpg)
मिस नेपालले नेपाली फिल्मलाई दिएको उपहार हुन्, सृष्टि श्रेष्ठ । बेलायतमा हुर्के बढेकी उनलाई बाल्यकालदेखि नै अभिनयप्रति रुचि थियो । आफ्नो यो रुचिलाई साकार बनाउन उनी बेलायतबाट काठमाडौंको खाल्डो आइपुगिन् र पहिलो खुड्किलोको रुपमा मिस नेपाललाई रोजिन् । सन् २०१२ मा मिस नेपालको उपाधि जितेपछि उनलाई फिल्ममा डेब्यू गर्नका लागि सजिलै बाटो खुल्यो ।
मिस नेपालको एक वर्षे कार्यकाल सकाएपछि सृष्टिले फिल्म ‘गाजलु’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने अवसर पाइन् । फिल्ममा उनको अपोजिटमा अनमोल केसी थिए । फिल्म सुपरहिट भयो । फिल्म चल्नुको क्रेडिट अनमोलको पोल्टामा परेपनि सृष्टिले अभिनयको प्रशंसा बटुलिन् । यसपछि उनको हातमा फिल्म टुटेको छैन । तथापि, ‘गाजलु’पछि उनका फिल्म डुबेका डुब्यै छन् ।
‘रोमियो एन्ड मूना’, ‘पोइ पर्यो काले’, ‘बाँध मायाले’ फिल्मबाट असफलता भोगेकी सृष्टिलाई गत चैत ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’प्रति भने ठूलो आशा थियो । ७ वर्ष अगाडि निर्माण भएको फिल्म भएपनि उनी आफ्नो चरित्र र अभिनयलाई लिएर आत्मविश्वासी थिइन् । यसैले फिल्मको प्रचारमा उनले टिम र आफूले निर्वाहा गरेको चरित्रको प्रशंसमा मात्रै शब्द खर्चिइन् ।
तर, मानिसको जीवनमा सोचेको भन्दा नसोचेका कुरा बढी हुन्छन् । सृष्टिको हकमा पुनः यही भयो । ‘चिसो एष्ट्रे’ बक्सअफिसमा टाँट पल्टियो । यद्यपि, फिल्मले समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको छ । सृष्टिको अभिनय पनि रुचाइएको छ । जसले उनी हर्षित त छिन् तर फिल्म असफल हुँदा खुसी मनाउन पनि सकेकी छैनन् । उनका लागि ‘चिसो एष्ट्रे’ न हर्ष न विस्मात बनेको छ ।

