अभिनेत्री दीया पुन संसारकै अग्लो शिखर सगरमाथा आरोहणको तयारीमा छिन् । बैशाख दोस्रो साता सगरमाथा आरोहण गर्न लागेकी उनी यतिबेला हिमाल चढ्ने आधारभूत तालिम लिइरहेकी छन् । आरोहीलाई उचाइँ र मौसम अनुकूलन बनाउन सगरमाथा आरोहण गर्नुभन्दा अगाडि विभिन्न हिमालहरु पटक-पटक चढ्न र झर्न लगाइन्छ । दीयाले अहिले यसैको तामिल लिइरहेकी हुन् ।
बेलायतमा नर्सिङ पेशा गर्दै आएकी अभिनेत्री पुन सगरमाथा चढ्नका लागि गत फागुनमा नेपाल आएकी थिइन् । यसअघि उनले ८ हजार १ सय ६३ मिटरको मनास्लु हिमाल चढिसकेकी छन् भने सन् २०१८ अर्जेन्टिनाको ६ हजार ९ सय ६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको पनि आरोहण गरेकी थिइन् । सगरमाथा आरोहण गर्नका लागि ४०/४२ लाखसम्म खर्च हुने उनको अनुमान छ ।
सगरमाथा चढ्नु अघिको तालिम लिन दीया ४ हजार ९ सय १९ मिटरको उचाइँमा रहेको पर्यटकीय गन्तव्य तिलिचो लेक पुगेकी छन् । शनिवार उनले तिलिचो लेकमा राष्ट्रिय झन्डा बोकेको एक तस्विर सामाजिक सञ्जालमा साझेदार गरेकी थिइन् । मंगलवार भने उनले हिउँले सेताम्मे तिलिचो लेकलाई पृष्टभूमिमा सजाएर पहेँलो र निलो रंगको साडीमा खिचेको तस्विर पोस्ट गरेकी छन् ।
अत्याधिक चिसो ठाउँ मानिने तिलिचो लेक (ताल) मा दीयाले साडी लगाएर खिचेको तस्विरले उनको सारीप्रतिको मोह झल्काउँछ । उनले तस्विरसँगै क्याप्सनमा ‘फूल बुट्टे सारी सपक्कै पारी’ भनेर गीतको अंश लेखेकी छन् । तिलिचो लेकबाट उनी यही शुक्रवार काठमाडौं आउने तयारीमा छिन् । काठमाडौंमा एक हप्ता बसेपछि उनी सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने बताइएको छ ।
दीया सगरमाथा आरोहण गरिरहेको समयमा उनी अभिनीत फिल्म ‘मन्त्र’ भने हलमा प्रदर्शन भइरहेको हुनेछ । यो फिल्म बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्माण टिमले गत महिना उनलाई राष्ट्रिय झन्डा र फिल्मको पोस्टर हस्तान्तरण गर्दै सगरमाथा आरोहणको शुभकामना दिएको थियो । उनी सगरमाथाको चुचुरोमा राष्ट्रिय झन्डा र ‘मन्त्र’को पोस्टर फहराउने योजनामा छिन् ।

