
सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘ठगराज’को गीत रेकर्डिङ्ग सुरु गरिएको छ । आइतवार फिल्मका लागि पहिलो गीतको रेकर्डिङ्ग गरियो । ‘माया बसेको रैछ’ बोलको गीतमा प्रताप दास र दीपा लामाले स्वर भरेका छन् । गीतमा निर्देशक सुवेदी स्वयंको शब्द रहेको छ भने दीपक शर्माले संगीत दिएका छन् । गीतका एरेन्जर शिवराम रसाइली हुन् ।
निर्देशक सुवेदीले उक्त गीत फिल्मको कथाले मागेको जानकारी दिए । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन अगामी जेठबाट सुरु गर्ने तयारीमा निर्देशक सुवेदी छन् । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मका लागि कलाकार र प्राविधिक टिमको छनोट कार्य भइरहेको उनको भनाई छ ।

‘ठगराज’ सामाजिक कथा, कमेडी, प्रेम र सेन्टीमेन्टको एउटा प्याकेज हुने बताइएको छ । निर्देशक सुवेदीले यसअघि दुई फिल्मको निर्देशन गरिसकेका छन् । फिल्म ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यू गरेका उनले पछिल्लो पटक फिल्म ‘लालजोडी’ को निर्देशन गरेका थिए । थुप्रै फिल्मको कथा, पटकथा तथा संवाद समेत लेखिसकेका उनी ५ वर्षपछि फिल्म निर्देशनमा फर्किन लागेका हुन् ।

