.jpg)
बलिउड अभिनेता आमिर खानले कोरोना महामारीको समयमा आफूले अभिनय छाड्ने निर्णय गरेको खुलासा गरेका छन् । तर, उनले यो कुरा त्यसबेला यसकारण खुलाएनन् कि यसलाई मानिसहरुले ‘लाल सिंह चड्ढा’को रिलिजभन्दा पहिलाको ‘मार्केटिङ स्कीम’ भन्ने सक्थे । फिल्मले व्यक्तिगत जीवनमा नसोचेको असर गर्न थालेपछि अभिनय छाड्ने सोचमा पुगेको आमिर बताउँछन् ।
हालसालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘कोरोना महामारीको समयमा मैले बलिउड छाड्ने बारेमा सोचेको थिएँ । त्यसबेला मलाई लाग्यो कि म स्वार्थी भएर आफ्नो उर्जा काममा मात्र प्रयोग गरिरहेको छु र आफ्नो परिवारलाई समय दिन पाइरहेको छैन । विशेषगरी बच्चालाई । जब म हिरो बनेँ तब मैले सोचेँ कि परिवार मेरो साथमा छ र मैले परिवारलाई हलुका रुपमा लिन सुरु गरेँ ।’
आमिरले दर्शकको मन जित्न आफूले ३०/३५ वर्षदेखि एउटै रफ्तारमा काम गर्दै आएको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म स्वार्थी भएको थिएँ । मैले आफ्नो बारेमा मात्र सोचिरहेँ । म आफ्नो बच्चाहरुको साथमा त थिएँ तर त्यस हिसाबले थिइन्, जसरी हुनुपर्थ्यो । मलाई ५७ वर्षको उमेरमा बल्ल यो महशुस भयो । सोच्छु, ८६ वर्षको उमेरमा यो महशुस भएको भए के हुन्थ्यो होला !’
फिल्मले आफूलाई परिवारबाट टाढा पुर्याएको उनको निष्कर्ष छ । आफूले फिल्मप्रतिको प्यासनले परिवारप्रतिको जिम्मेवारी नै विर्सिएको उनी बताउँछन् । ‘आज म ५७ वर्षको छु । म फिल्मका लागि यति प्यासिनेट थिएँ कि मैले सबै जिम्मेवारी भुल्दै गएँ । म आफ्नो जिन्दगी त बाँचिरहेको थिएँ तर आफ्नैसँग टाढिँदै गएको थिएँ । अब परिवारलाई पर्याप्त समय दिनेछु,’ उनले भनेका छन् ।

