Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहिलेसम्म नेपाली फिल्मलाई माया गर्दिनु भनेर हार-गुहार गर्ने ?

फिल्मीखबर, काठमाडौं, 2022/03/27
अन्जान दाहाल
फिल्म रिलिजको समयमा दर्शकहरुलाई हलसम्म बोलाउन नेपाली निर्माता, निर्देशक र कलाकारसँग एउटा रेडिमेड अनुनय हुन्छ, ‘हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं । नेपाली मन र आँखाले हेरिदिनु होला । नेपाली फिल्मलाई माया गरिदिनुहोला ।’ यो नेपाली फिल्मकर्मीको डर बोलेको हो । जब आफ्नो फिल्ममाथि विश्वास हुँदैन तब अनुनय विनयको साहरा लिनुको विकल्प हुँदैन ।
 
प्रविधिको फड्कोसँगै विश्वमा बन्ने एकसेएक फिल्म हेरेर नेपाली दर्शकको स्वाद फेरिएको छ । अब त्यो आँखाले नेपाली फिल्म कस्तो देखिएला ? पुरानै धारमा नेपाली फिल्म बनाएर अब दर्शकले स्वीकार गर्लान् ? यो अहिलेको जटिल प्रश्न हो । तर, नेपाली फिल्मकर्मीहरु कमजोरी सुधार्नुभन्दा बजेट र प्राविधिको कारण देखाएर दर्शकलाई इमोसनल ब्याकमेलिङ गर्न बढी उद्देलित छन् ।
 
nepali movie
 
नेपालमा विदेशी फिल्मको दबदबा बढ्नु चिन्ताको विषय हो । नेपाली फिल्म क्षेत्रको अस्तित्व नै खतरामा पर्दै गएको छ । तर, नेपाली दर्शकहरु विदेशी फिल्मतिर नै किन आकर्षित भइरहेका छन् ? दर्शकले नेपाली फिल्ममा खोजेको के हो ? जबसम्म यस्ता कुराहरु नेपाली फिल्मकर्मीहरुले पहिल्याउन र सुधार गर्ने आँट गर्दैनन्, तबसम्म दर्शकहरुले नेपाली फिल्म स्वीकार्नेवाला छैनन् ।
 
शुक्रवारबाट साउथ फिल्म ‘आरआरआर’ प्रदर्शनरत छ । यो फिल्मले नेपालमा समेत आक्रामक कमाई गरिरहेको छ । अधिकांश मल्टीप्लेक्समा टिकट अभाव छ । फिल्मले दिनमै नेपालमा एक करोड माथिको कमाई गरिरहेको छ । सम्भवतः ‘आरआरआर’ नेपालमा सर्वाधिक कमाई गर्ने पहिलो विदेशी फिल्म हुनेछ । अब दुई हप्ता फिल्मले नेपाली बजारमा कब्जा जमाउने निश्चित छ ।
 
‘आरआरआर’ हेरिरहँदा हलभित्रै नेपाली दर्शकहरु ताली र हुटिङ गर्दै उफ्रिएका छन् । गीत आउँदा हलभित्रै नाचिदिन्छन् । यो दृश्य नेपाली फिल्ममा नदेखिएको वर्षौं भइसकेको छ । नेपाली दर्शकहरुले के खोजिरहेका छन्, ‘आरआरआर’ एउटा उदाहरण हो । फिल्म इन्टरटेनिङ छ भने दर्शकलाई हलसम्म जानबाट केहीले पनि रोक्दैनन् । न त फिल्म हेर्दिनु भन्दै हार-गुहार नै गर्नुपर्छ । 
 
निर्देशक दीवाकर भट्टराईले हलमा ‘आरआरआर’ हेर्दा दर्शकहरुले ताली र हुटिङ गरेको दुईटा भिडियो फेसबुकमा पोस्ट गर्दै अब नेपाली फिल्म भगवान् भरोसा त होला नी भन्दै चिन्ता व्यक्त गरेका छन् । अब नेपाली फिल्मको प्रदर्शन वा व्यवस्थापनमा विकास बोर्ड अथावा राज्यले संस्थापन र संरक्षण गर्न नसके चाँडै नेपाली फिल्म पनि बन्थ्यो र ! भन्ने अवस्था आउन सक्ने उनको कथन छ ।
 
उनले अब नेपाली मेकरहरुले पनि नयाँ ढंगबाट सोच्न आवश्यक रहेको बताएका छन् । ‘दर्शकलाई मनोरञ्जन चाहिएको हो । अब कति दिन नेपाली फिल्मलाई माया गर्दिनु भनेर हार-गुहार गर्नु ?,’ उनले आफैंलाई समेत प्रश्न गरेका छन् । निर्देशक भट्टराईले भनेझैँ अब नेपाली फिल्मकर्मीहरुले नयाँ ढंगबाट नसोच्ने हो भने कुनै दिन नेपाली फिल्म डाइनोसोरस झैँ लोप नहोला भन्न सकिन्न । 
 

Most Visited News (monthly)