Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा भारतीय अभिनेता राजपाललाई ५६ किलोको माला

फिल्मीखबर, काठमाडौं, 2022/03/26
rajpal yadav
 
भारतीय अभिनेता राजपाल यादवलाई ५६ किलोको माला लगाएर नेपालमा स्वागत गरिएको छ । शनिवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा आयोजित गोपाल सेवा समितिको राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथीको रुपमा उपस्थित भएका उनलाई ५६ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको हो । उनी कार्यक्रममा सहभागि हुन शनिवार सर्लाही ओर्लिएका थिए ।
 
आफ्नो अभिनयको माध्यमबाट नेपालमा समेत राम्रो क्रेज बनाएका उनीसँग सेल्फी खिच्नका लागि कार्यक्रममा ठूलो भीड लागेको थियो । उनले पनि आफूसँग सेल्फी खिच्न चाहने नेपाली प्रशंसकलाई निराश बनाएनन् । यसअघि केही पटक नेपाल आइसकेका उनी सर्लाही भने पहिलो पटक पुगेका हुन् । उनले कार्यक्रममा बोल्ने क्रममा नेपालको प्राकृतिक सुन्दरताको प्रशंसा गरेका थिए ।
 
करीब ५ वर्ष अगाडि उनी नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘करोडपति’को छायांकनका लागि नेपाल आएका थिए । उक्त फिल्ममा उनीसँगै नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगानाको पनि मुख्य भूमिका थियो । पछि यो फिल्मलाई ‘कड्के कमाल के’ नाममा प्रदर्शन गरिएको थियो । राजपाल अभिनीत केही बलिउड फिल्मको पनि नेपालमा छायांकन भएको छ ।
 
२०१७ मा नेपाल आएको समयमा उनले एक सञ्चारमाध्यमसँग नेपालको सुन्दरताको बर्णन गर्दै भनेका थिए, ‘मैले नेपालको केही भूभाग घुमेको छु । मलाई यस्तो लाग्यो कि नेपाल स्विजरल्यान्ड हो । नेपालमा के छैन ? पहाड छ, नदी छ, मौलिक संस्कृति छ । नेपाल आउँदा मलाई आफ्नै घर आए जस्तो लाग्छ ।’ कुनै समय हाँस्य चरित्रमा राजपालले बलिउडमा एकछत्र राज गरेका थिए ।
Most Visited News (monthly)