Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धौलागिरी चलचित्र महोत्सव’ मा गोपालचन्द्रदेखि जीवनसम्म सम्मानित

फिल्मीखबर, काठमाण्डौ, 2021/12/26
बन्जी जम्पिङ र स्विङका लागि प्रख्यात मानिएको पर्वत जिल्लाको कुश्मामा प्रथम ‘धौलागिरी चलचित्र महोत्सव’ आयोजना भएको छ । पुषको ७ गतेदेखि १० गतेसम्म कुश्मास्थित सिद्धेश्वर चलचित्र मन्दिरमा भएको महोत्सवमा धौलागिरी क्षेत्र (पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ) बाट बनेका ३५ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्था अहुरी इन्टरटेन्मेन्टले जानकारी दिएको छ । 
 
dhaulagiri film festival
 
शनिवार महोत्सवको समापना कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य ललीतकला गुरुङले धौलागिरी क्षेत्रमा राष्ट्रिय स्तरको फिल्म फेस्टिभल हुनु भनेको समग्र गण्डकी प्रदेशकै लागि गर्व र प्रतिष्ठाको कुरा रहेको बताइन् । आगामी दिनमा केन्द्र स्तरसम्म पनि धौलागिरीमा बनेका फिल्म र फिल्मकर्मीहरु पुग्ने उनको विश्वास छ ।
 
चार दिनसम्म चलेको महोत्सवमा धौलागिरी क्षेत्रबाट राष्ट्रिय स्तरमा चलचित्र पत्रकारितामा हासिल गरेको सफलता र योगदानको कदर गर्दै जीवन कुमार पराजुलीलाई पत्रकारिता सम्मान, धौलागिरी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने गोपालचन्द्र लामिछानेलाई चलचित्र निर्देशक सम्मान र विभिन्न फिल्मको कथा लेखिसकेका धौलागिरीका अभिनास श्रेष्ठलाई लेखन सम्मान प्रदान गरिएको थियो । 
 
महोत्सवमा प्रदर्शन भएका सम्पूर्ण फिल्मको कलाकारदेखि प्राविधिकसम्मलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । महोत्सव आयोजक संस्था अहुरी इन्टरटेन्मेन्टका अध्यक्ष विशाल लोहनीले पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङलाई एकै ठाउँमा समेट्ने गरी धौलागिरीका कलाकारदेखि निर्माता- निर्देशकसम्म सबैलाई प्लेटफर्म दिने उद्देश्यले महोत्सवको आयोजना गरेको जानकारी दिए । 
 
dhaulagiri film festival
 
महोत्सव भन्ने वितिक्कै उत्कृष्ट फिल्म घोषित गरेर पुरस्कार दिने चलन छ । तर, ‘धौलागिरी चलचित्र महोत्सव’ मा यो कार्य भएन । अहिले नै आफूहरुको कुनै फिल्मलाई उत्कृष्ट घोषित गरेर पुरस्कार दिने हैसियत नभइसकेको लोहनीले बताए । अब नियमित महोत्सव गर्ने उनको भनाई छ । पछिल्लो समय धौलागिरी क्षेत्रबाट फिचरदेखि सर्ट फिल्मसम्म निर्माण हुने क्रम निकै बढेको छ ।
Most Visited News (monthly)