कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सिनेमा हल खुल्ने निश्चित नहुँदा निर्माण सकिएका फिल्मले प्रदर्शन मिति घोषणा गर्न सकेका छैनन् । सिनेमा हल खुलिहाले पनि तत्काल दर्शकहरु हलसम्म आउने ग्यारेन्टी छैन । किनकि, अझै पनि मानिसमा कोरोनाको भय कायमै छ । यस्तो अवस्थामा कहिलेसम्म फिल्म थन्काएर राख्ने भन्ने प्रश्नले धेरै निर्मातालाई पिरोलेको छ ।
कोरोना महामारीपछि अन्य देशमा हलका लागि निर्माण गरिएको कयौं फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भए । तर, विश्वका प्रतिष्ठित ओटीटी प्लेटफर्म नेपाली फिल्म किन्न र रिलिज गर्न इच्छुक देखिएका छैनन् । न त नेपालमा सञ्चालित ओटीटी प्लेटफर्मले नै करोडौंंमा फिल्म किन्ने जोखिम उठाउन चाहेको देखिन्छ । जसले गर्दा निर्मातासँग फिल्म रिलिजका लागि हलको विकल्प छैन ।
.jpg)
तर, केही निर्माताले फिल्म थन्काएर राख्नुभन्दा डिजिटल प्लेटफर्ममा रिलिज गर्न उचित ठानेका छन् । कोरोना महामारीकै समयमा ‘हिरो रिर्टन्स’, कोपिला’ र ‘लभ सर्कल’ फिल्म डिजिटल रिलिज भए । अब अर्को फिल्म ‘एक’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने तयारीमा छ । मंगलवार निर्माण टिमले मोशन पोस्टर सार्वजनिक गर्दै फिल्म डिजिटल रिलिज हुने जानकारी गरायो ।
आउँदो असोज २१ गते घटस्थापनबाट फिल्म डिजिटल रिलिज हुनेछ । सरकारले सिनेमा हल खोल्न अनुमति दिएको खण्डमा फिल्मलाई सिनेमा हलमा पनि रिलिज गरिनेछ, जसको वितरण जिजिए ग्रुपले लिएको छ । कोरोनाका कारण विश्वभरका फिल्म डिजिटलमा रिलिज भइरहेको समयमा आफूहरुसँग पनि यसको विकल्प नरहेको ‘एक’ का निर्देशक मनोज पण्डितले बताए ।
यूट्युबमार्फत् सार्वजनिक गरिएको फिल्मको मोशन पोस्टरमा द्वन्द्व, आक्रोश, बदलाको भाव देखिन्छ । फिल्मको यसअघि नै ‘तड्का तड्का’ बोलको गीत सार्वजनिक भइसकेको छ । फिल्मको मुख्य भूमिकामा विशाल पोख्रेल छन् । उनले यो फिल्ममा एक गुप्तचरको भूमिका निभाएका छन् । मधेशको मुद्दामा केन्द्रित फिल्मको छायांकन मधेशका फाँटदेखि डोल्पासम्म गरिएको छ।
निर्देशक पण्डितका अनुसार, यो फिल्म ‘स्पाई थ्रिलर जनर’ हो । उनी निर्देशित यो सातौं फिल्म हो । राजनीतिक परिचक्रको पेरिफेरीमा घुमेको फिल्ममा प्रमोद अग्रहरी पनि मुख्य भूमिकामा छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापा निर्मित फिल्ममा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल छन् । फिल्ममा प्रमोद खड्काको द्वन्द्व निर्देशन रहेको छ ।
यस्तो छ ‘एक’ को डिजिटल पोस्टर :-

