.jpg)
भारतको ६५औं स्वतन्त्रता दिवसको अवसर पारेर अभिनेता सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘शेरशाह’ रिलिज भएको छ । कारगिल वारका हिरो क्याप्टेन विक्रम बत्राको बयोपिक फिल्मलाई दर्शकले निकै मन पराएका छन् भने सिद्धार्थको अभिनयको पनि प्रशंसा भएको छ । तर, बलिउड सुपरस्टार सलमान खान ‘शेरशाह’ को भूमिकामा सिद्धार्थ नभई अरु नै अभिनेतालाई देख्न चाहन्थे ।
निर्माता शब्बीर बक्सवालाका अनुसार, स्क्रिप्टको काम भइरहँदा यो फिल्मलाई सलमानले पनि निर्माण गर्न चाहेका थिए । त्यसबेला उनी यो फिल्मबाट आफ्ना ज्वाईं आयुष शर्मालाई डेब्यू गराउन चाहन्थे । तर, फिल्मको राइट्स क्याप्टेन विक्रम बत्राको परिवारसँग लिने क्रममा सिद्धार्थको नाम फाइनल भयो । फिल्ममा आफ्नो ज्वाईं नहुने भएपछि सलमानले पनि फिल्म निर्माणबाट हात झिके ।
‘शेरशाह’ को निर्माण हुन ५ वर्ष लागेको थियो । सिद्धार्थले विक्रम बत्राको भूमिकामा जीवन्त अभिनय गरेका छन् । विष्णुवर्धनको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री कियारा आडवाणीको पनि मुख्य भूमिका छ । पाकिस्तानसँँगको करगिल युद्धमा क्याप्टेन विक्रम बत्राको पराक्रमलाई फिल्मलाई देखाइएको छ । फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको हो ।

