Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेश हमालको नाममा फिल्म बन्दै

फिल्मीखबर, काठमाडौं, 2021/08/16
 
नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालको नाममा फिल्म निर्माण हुने भएको छ । निर्माता केदार भुषालले ‘म राजेश हमाल’ नाममा फिल्म बनाउन लागेका हुन् । फिल्ममा अतिथी भूमिकामा राजेश हमाललाई पनि देखाउने तयारीमा निर्माण टिम छ । तर, उनीसँग केही चरण कुराकानी भइसके पनि कागजी सम्झौता भएको छैन । उनले निर्मातासँग बिहीवारसम्मको समय मागेका छन् ।
 
फिल्मको नामको विषयमा पनि राजेश हमालले बिहीवार आफ्नो निधो दिनेछन् । मौखिक रुपमा नाम प्रयोग गर्ने सहमति भए पनि कागजी सम्झौता हुन बाँकी रहेको निर्माता भुषालले बताए । विक्रम लामा (जोन योञ्जन) ले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । 
 
निर्माता भुषालले फिल्म राजेश हमालको जीवनीमा आधारित नहुने बताए । उनले भने- ‘उहाँको नाम लिएर फिल्म बनाउन लागेका हौं । क्यारेक्टरको मोटिभ पनि उहाँसँग नै मिल्छ । तर, उहाँको जीवनी नै बनाउन लागेका चाहिँ होइनौं ।’ आउँदो भदौ २० गते धनगडीबाट छायांकन सुरु हुन लागेको फिल्ममा अतिथी भूमिकाका लागि अभिनेता आर्यन सिग्देललाई पनि अफर गरिएको छ । 
 
राजेश हमालको नाममा पहिलो पटक फिल्म बन्न लागेको भने होइन । यसअघि २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो । यसमा उनी स्वयं मुख्य भूमिकामा थिए । पछिल्लो रिलिज फिल्म ‘बागमती र शकुन्तला’ को असफलतापछि अभिनयबाट निस्क्रिय देखिएका उनले गत वर्ष फिल्म ‘सत्यम्’ साइन गरेका थिए । तर, कोरोनाले गर्दा यो फिल्म छायांकनमा निस्कन सकेन ।
Most Visited News (monthly)