(3)(3).jpg)
पछिल्लो छिमलका अभिनेतामध्ये अभिनयको मामलामा केही अब्बल मानिन्छन्, प्रदीप खड्का । उनको क्रेजको त कुरै नगरौं । कुटिल मुस्कान र चकलेटी लुक्सका कारण शहरीया युवापुस्ता उनको डाइहार्ट फ्यान छन । विशेषगरी, युवतीहरुमा उनको क्रेज बढी देखिन्छ । फिल्म ‘प्रेमगीत’ बाट स्टारको रुपमा उदाएका उनी पछिल्लो समय हरेक निर्माता/निर्देशकको रोजाइमा छन् ।
कोरोना महामारीले नेपाललाई नछोएको हुन्थ्यो भने गत वर्ष नै उनी अभिनीत फिल्म ‘प्रेमगीत ३’ रिलिज भइसकेको हुने थियो । तर, किस्ताबन्दीको कोरोना महामारीले फिल्म रिलिज अन्योल बनेको छ । सिनेमा हल बन्द भएर रिलिज रोकिएपछि निर्माण टिमले हिन्दी भाषामा समेत फिल्मलाई डब गर्यो । अब यो फिल्म नेपाल र भारतका सिनेमा हलमा एकसाथ रिलिज हुने बताइएको छ ।
कोरोनाको दोस्रो लहरले नेपाललाई आफ्नो काबूमा राख्नुअघि प्रदीपले निर्देशक दिनेश राउतको फिल्म ‘प्रकाश’ को छायांकन पूरा गरे । यो फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । प्रदीप फिल्मका कारण मात्र चर्चामा रहँदैनन् । उनको लभ लाइफको चर्चाले पनि मिडियाको ‘पेज थ्री’ रंगिने गरेको छ । जुन फिल्ममा उनी अभिनय गर्छन्, त्यही फिल्मको अभिनेत्रीसँग उनको नाम जोडिन्छ ।
‘लिलीबिली’ मा एकसाथ काम गरेपछि उनी अभिनेत्री जसिता गुरुङको प्रेममा रहेको चर्चाले फिल्मवृत तात्यो । यो जोडीले दोस्रो पटक फिल्म ‘लभ स्टेशन’ मा सहकार्य गरेपछि बजारको चर्चालाई थप बल मिल्यो । तर, दोस्रो सहकार्यसँगै उनीहरु एकअर्काबाट अलग भएका छन् । आजभोली यो जोडीको भेट त टाढाको कुरा सोसल मिडियामा हाई-हेल्लोसम्म हुन छाडेको स्रोत बताउँछ ।
जसितापछि अरु युवतीसम्म नाम नजोडिए पनि प्रदीपले आइतवार इन्स्टाग्राममा लेखेको एउटा स्टाटसले उनी कसैको प्रेममा रहेको बुझाउँछ । ‘लभ स्टेशन’ को घोषणा सभाको तस्विर पोस्ट गर्दै उनले लेखेका छन्, ‘आँखाको भाका बुझेरै होला, मुटुको धड्कन सुनेरै होला, आई दियौ मेरो जीवनमा ।’ आफ्नो जीवनमा आएको व्यक्तिको नाम कमेन्टमा मेन्सन गर्न उनले आग्रह गरेका छन् ।

