
बलिउड अभिनेता अभिषेक बच्चन तमिलको सुपरहिट फिल्म ‘ओथा सेरुप्पु’ को हिन्दी रिमेकमा देखिने भएका छन् । अभिनेता तथा निर्देशक आर पार्थिएपनले फिल्मको हिन्दी भर्सनको छायांकन सुरु गरिसकेका छन् । २०१९ मा रिलिज भएको यो फिल्मले तमिल इन्डस्ट्रीमा कयौं रेकर्ड तोडेको थियो । फिल्मलाई पार्थिएपनले नै निर्देशन गरेका थिए भने उनकै मुख्य भूमिका थियो ।
पहिला ‘ओथा सेरुप्पु’ को रिमेकमा नवाजुद्दीन सिद्दीले काम गर्न लागेको चर्चा चलेको थियो । तर, उनीसँग निर्माण टिमको सहमति हुन नसकेपछि जूनियर बच्चनको हातमा फिल्म परेको थियो । उनले बिहीवार चेन्नईबाट फिल्मको छायांकन सुरु गरेका हुन् । फिल्ममा उनी पार्थिएपनले निर्वाह गरेको भूमिकामा देखिनेछन् । उनले पहिलो पटक तमिल फिल्मको रिमेकमा काम गरेका हुन् ।
फिल्म मासिलामणि (आर.पार्थीपन) को वरिपरी घुम्छ, जो एक हत्याको मामलामा संदिग्ध हुन्छन् र पुलिसले सोधपुछका लागि हिरासतमा लिन्छ । फिल्ममा एउटा मात्र गीत छ, जुन सन्तोष नारायणनले कम्पोज गरेका हुन् । यो फिल्मले एकै व्यक्तिले लेखन, निर्देशक, एकल अभिनय र निर्माण गरेको रुपमा एशिया बुक अफ रेकर्ड्स र इन्डिया बुक अफ रेकर्ड्समा नाम लेखाएको छ ।

