Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

७ वर्षपछि निर्देशनमा फर्किँदै दीपक श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2020/12/06
 
एक समय हिट फिल्मका ग्यारेन्टी मानिने दीपक श्रेष्ठ निर्देशनमा सुस्ताएको ७ वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक उनी निर्देशित फिल्म ‘रङ वे’ प्रदर्शनमा आएको थियो । यो फिल्मको असफलतापछि निर्देशनबाट टाढा भएका उनी अब नयाँ फिल्म बनाउने आन्तरिक तयारीमा लागेका छन् । श्रेष्ठले फिल्मका लागि मुख्य अभिनेताको प्रस्ताव विपिन कार्कीलाई गरेका छन् ।
 
अहिले विपिनले फिल्मको स्क्रिप्ट पढिरहेका छन् । पारिवारिक विषयवस्तुमा फिल्म बनाउन सिपालु मानिने श्रेष्ठले गाउँघरमा बस्ने नेपालीहरुको वास्तविक कथालाई पर्दामा उतार्न लागेको बताए । उनी विपिन कार्कीले फिल्म गर्नेमा विश्वस्त देखिएका छन् । कोरोनाको स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा उनी छन् । फिल्मको नाम भने गोप्य राखिएको छ ।
 
लामो समय निर्देशनबाट टाढा रहनुको कारणबारे दीपक श्रेष्ठले फिल्मीखबरसँग भने- ‘म निर्देशनबाट कहिल्यै टाढा थिइनँ । न त निर्देशनमा फर्किन नै लागेको हुँ । फर्किनलाई त छाडेको हुनुपर्‍यो नी ! समय, काल, परिस्थितिका कारण केही समय चाहिँ लागेको हो ।’ केही फिल्ममा अभिनय समेत गरेका उनी नेपालमा सिक्वेल फिल्म निर्माणको सुरुवात गर्ने पहिलो निर्देशक हुन् । 
 
उनी निर्देशित फिल्म ‘पापी मान्छे २’ नेपालमा निर्माण भएको पहिलो सिक्वेल फिल्म हो । अभिनेता निखिल उप्रेती स्टारर ‘पापी मान्छे’ को दुईवटा सिरिज उनको करिअरको पनि सर्वाधिक सफल फिल्म हो । ‘पहिलो पहिलो माया, तकदिर, भाई, पर्खि बसेँ, हिम्मत, हिम्मत २, सुर्य चन्द्र, वचन’ जस्ता फिल्मको निर्देशन गरिसकेका उनी व्यवसायिक रुपमा सफल निर्देशकमा गनिन्छन् ।
Most Visited News (monthly)