कोरोना भाइरसका कारण विगत ९ महिनादेखि सिनेमा हल बन्द छन् । सरकारले लकडाउनभन्दा अगाडि नै सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । तर, अहिले भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसक्दा पनि फिल्म क्षेत्रका गतिविधि सुचारु हुन सकेका छैनन् । जसले गर्दा फिल्मकर्मीमा निराशा छाएको छ । अब फिल्म सम्बद्ध संघ-संस्थाहरु आन्दोलनमा नै उत्रने तयारीमा छन् ।
काठमाडौं कोरोनाको हटस्पट बनेको भन्दै सरकारले अझै १५ दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि नेपाल चलचित्र संघले सिनेमा हल सञ्चालन र फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राखेर बैंकको ऋणमा सहुलियत दिनुपर्ने मागसहित आन्दोलन गर्ने तयारी गरेको छ । संघका महासचिव अशोक शर्माले शनिवारको कार्यसमितिको बैठकले यसबारेमा निर्णय गर्ने बताए ।
 (2)(1).jpg)
उनले भने- ‘सिनेमा हल खोलेर मात्र हुँदैन । कोरोनाले यो क्षेत्रलाई ठूलो घाटा भएको छ । सरकारले अन्य क्षेत्रलाई बढी प्रभावित भनेर प्याकेज ल्याएको छ । तर, यो क्षेत्रलाई बेवास्था गरियो । जबकि, यसमा पनि ठूलो नोक्सान छ । यसकारण यो कुरा पनि महत्त्वपूर्ण हो । सरकारले अर्थ मन्त्रालयलाई फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा पार्न पत्र उठाए पनि त्यो कार्यन्वयन भएको छैन ।’
सरकारले अन्य क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखेर बैंकको ऋणमा सहुलियत दिएझैँ हल सञ्चालकहरुलाई पनि त्यो सुविधा दिनुपर्ने उनले बताए । ‘हामीले सरकारसँग आर्थिक सहयोग मागेका होइनौं । अधिकांश व्यवसायीहरुले ऋणबाटै व्यवसाय सञ्चालन गरेका छन् । अरु क्षेत्रलाई जसरी सरकारले ऋणमा सहुलियत दिएको छ हामीले पनि त्यो सुविधा मागेका हौं,’ उनले भने ।
कोरोनाको समयमा सरकारले सिनेमा हललाई सौतेनी व्यवहार गरेको उनले बताए । अन्य क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राखेर सरकारले सहुलियत प्रदान गरे पनि फिल्म क्षेत्रमाथि अन्याय गरेको उनको भनाई छ । यस विरुद्ध चलचित्र संघले कडा कदम चाल्ने बताउँदै उनले भने- ‘फिल्म क्षेत्र सबैभन्दा पीडित क्षेत्र हो । तर, यही क्षेत्रलाई सरकारले बेवास्था गर्यो । अब आन्दोलनमा उत्रन्छौं ।’

