(1).jpg)
अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले मंसिर २२ गते गोकर्ण फरेष्ट रिसोर्टमा धनगडीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । बुधवार श्वेता र विजयेन्द्रको विवाहको कार्ड सार्वजनिक भएपछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेको पुष्टि भएको हो । श्वेता स्वयंले एक अनलाइन पोर्टलमा आफूले मंसिर २२ गते बिहे गर्न लागेको बताएकी छन् ।
विवाह कार्डमा उल्लेख भए अनुसार उनीहरुको विवाह विहानैदेखि सुरु हुनेछ । गएको मंसिर ५ गते नै श्वेताले विजयेन्द्रसँग विवाह गर्न लागेको चर्चा चलेको थियो । तर, उनले यो खबरमा कुनै सत्यता नभएको बताएकी थिइन् । श्वेता र विजयेन्द्र लामो समयदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुले यसपालीको दशैंको टिका समेत एकसाथ लगाएका थिए, जुन तस्विर सार्वजनिक भइसकेको छ ।
श्वेताले फिल्म ‘कहाँ भेटिएला’ बाट अभिनयमा डेब्यू गरेकी हुन् । यो फिल्ममा काम गर्दैगर्दा उनी स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको प्रेममा डुबेकी थिइन् । उनीहरुले २०७१ साल असार २३ गते विवाह गरेका थिए । तर, विवाह बन्धनमा बाँधिएको एक महिनापछि श्रीकृष्णको २०७१ साल साउन २५ गते निधन भएको थियो । श्रीमानको निधनले श्वेता खड्का लामो समय विक्षिप्त भएकी थिइन् ।
फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकी उनी विभिन्न व्यवसायमा समेत आबद्ध छिन् । कोरोनाको महामारी सामान्य भएपछि उनी नयाँ फिल्म निर्माण गर्ने तयारीमा छिन् । लकडाउनको समयमा उनले यम थापाको निर्देशनमा बन्न लागेको बेनामे फिल्म साइन गरेकी छन् । उनले श्वेताश्री फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा एकिकृत नमुना माझी बस्ती पनि निर्माण गरिरहेकी छन् ।

