मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गैर-काल्पनिक चलचित्रहरूमा सामाजिक जीवन खोज्ने 'सम्पादक'

फिल्मीखबर, काठमाडौं, 2019/03/10
नेपालमा गैरआख्यान चलचित्रको इतिहास नेपाली चलचित्रको शुरूवाती कालदेखि जोडिएको भएता पनि यसको व्यवसायिकता र लोकप्रियता भने केही दशक यता मात्र देखिन थालेको छ । खासगरी गैर-काल्पनिक वा अलगधारका चलचित्र तात्कालीन राज्यको प्राथमिकता थिएन । कथा चलचित्रहरूलाई राज्यले आफ्नो विचारधार र व्यवस्थाको बचाव वा प्रोपोगाण्डाको रूपमा उपयोग गरेको थियो । राज्यले महत्व नदिएको त्यही गैर-काल्पनिक चलचित्रहरू, वृत्तचित्रहरू अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएको छ । यस्को विस्तार र विकासले नेपाली चलचित्र उद्योगलाई थप टेवा पुर्याएको छ । 
 
यो अवस्था सृजना गर्न सक्षममध्येका एक व्यक्ति हुन्, लव प्याकुरेल । उनले विगत २५ बर्षदेखि अनवरतरूपमा नेपाली चलचित्र क्षेत्रमा आफ्नो कला, सीप र ज्ञान बाँडिरहेका छन् । गैर-काल्पनिक वा अलगधारका चलचित्र सम्पादकका रूपमा उनको नाम लोकप्रिय छ । चलचित्रमा समाज र सामाजिक मनोविज्ञनको मसिनो खोज गर्न सक्ने र सम्पादन कौशलमा विशेष कला भर्न सक्ने क्षमताका कारण उनको लोकप्रियता बढेको हो । प्याकुरेल रचनात्मक प्रस्तुतिका साथै दृश्य सम्पादनमा नयाँ शैली, दृष्टिकोण र विचार दिन सक्ने सम्पादक हुन् ।
 
चलचित्र पोष्ट प्रोडक्सनको एक महत्वपूर्ण पक्ष 'सम्पादन' हो र सम्पादक चलचित्रको पहिलो दर्शक वा न्यायाधीश हो । ऊ चलचित्रको पर्दामा देखिँदैन । सम्पादक एक यस्तो व्यक्ति हो -जो कथा, शैली, भावना, विचार, दृष्टिकोणको गठन र चलचित्रले बोक्ने खास उद्देश्यको समन्वय गर्दछ । प्याकुरेल एक प्रतिभाशाली वृत्तचित्र फिल्म सम्पादकमध्ये हुन्, जो कहानीको जराहरु खोज्न र दृश्य र टेक्नोलोजीको सही संयोजनसँग दर्शकहरुलाई विशिष्टता प्रस्तुत गरिरहेका छन् ।
 
आफ्नो मेहनत, समर्पण र योगदानको माध्यमबाट लोकप्रियता कमाएका प्याकुरेलका प्रायः चलचित्रहरू संघर्ष र परिवर्तन, न्याय र समानता, श्रम र सिर्जना, आँसु र हाँसोका सामाजिक कथाहरूमाथि बनेका छन् । उनका दुई दर्जनभन्दा बढी वृत्तचित्र फिल्महरू लोकप्रियताको शिखरमा छन् । झिल्को, पंचायतको घाऊ, धुलोको मूल्य, निजामती: अन्डर फायर, शेर्पाः माउन्ट एभरेस्टका वास्तविक नायकहरू, सगरमाथाको प्रतिबिम्ब, बिर्सिइएका महिलाहरु, निलो आकाश, सुपर रंक, वर्गसत्ता, मकैको बिहे, राउटेः अन्तिम घुमन्ते जाती लगायत वृत्तचित्रहरूमा प्याकुरेलले कला, सीप र ज्ञान भरेका छन् । ती चलचित्रहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र सफलता प्राप्त गरेका छन् ।
 
बेत्रागंगा सोसाइटीद्वारा सन् २००९ मा आयोजित राष्ट्रिय नुवाकोट वृत्तचित्र फिल्म महोत्सवमा 'पंचायतको घाऊ' ले सर्वोत्कृष्ट वृत्तचित्र, निर्देशक र सम्पादकको पुरस्कार जितेको थियो । वृत्तचित्रले तत्कालीन राजा विरेन्द्रका एडीसी एवं सैनिक सचिव जर्नेल ऋषी कुमार पाण्डेले नुवाकोट जिल्लास्थित भालडाँडाका सयौं नागरिकको खुशी र हाँसो खोसेको कथा समेटेको छ ।
 
प्याकुरेल सम्पादक मात्र होइनन् एक उत्कृष्ट निर्देशक पनि हुन् । 'पंचायतको घाऊ' को निर्देशन उनैले गरेका हुन् । उनले एक दर्जनभन्दा बढी गैर-काल्पनिक चलचित्र, वृत्तचित्र फिल्म र लघु फिल्ममा निर्देशन गरेका छन् । यसमध्ये ‘पंचायतको घाऊ’ नेपालको कानून तथा न्याय क्षेत्रमा एक इतिहास सिर्जना गरेको वृत्तचित्र हो । यो वृत्तचित्रले अन्याय र पीडा सहन बाध्य नुवाकोट भालडाँडाका ती निर्दोष र सोझा नागरिकको हक र अधिकार दिलाउन सफल भएको थियो । नेपालको सर्वोच्च अदालतले सन्दर्भ सामाग्रीका रूपमा वृत्तचित्रलार्इ प्रयोग गरेको थियो । परिणामतः नागरिकको पक्षमा फैसला गरेको थियो ।
 
 
प्याकुरेलले सम्पादन गरेको अर्को सफल वृत्तचित्र फिल्म हो, 'निजामती: अन्डर फायर' । २०७० सालमा निर्मित चलचित्रमध्ये गैर-काल्पनिक विधातर्फ यो वृत्तचित्रले ‘राष्ट्रिय फिल्म पुरस्कार -२०७१’ जित्न सफल भरएको थियो । विशेष चलचित्र र सर्वोत्कृष्ट सम्पादकको अवार्ड जित्न सफल यस फिल्मले नेपालको निजामती प्रशासनको इतिहास र राष्ट्रसेवक कर्मचारीहरुको योगदान र संघर्षको कथा बोकेको छ । विशेषगरी, वृत्तचित्रमा नेपालको तराईको कथा समावेश छ जहाँ नागरिकले देशले प्रदान गर्ने सेवा पाउन समस्या भोगिरहेका छन् र विभिन्न गैर-राजनैतिक समूहहरुबाट निजामती कर्मचारीहरुलाई धम्की दिने, फिरौती असुल गर्ने र हत्या गर्ने हर्कतहरू भएका छन् । मनोज पण्डित र रामहरी कोइरालाद्वारा निर्देशन गरिएको यो वृत्तचित्रका सम्पादन उनै प्याकुरेल हुन् ।
 
‘मकैको विहे’ प्याकुरेलले सम्पादन र निर्देशन गरेको लोकप्रिय वृत्तचित्र फिल्म हो । यो वृत्तचित्र प्रकृतिको पूजा गर्ने परम्परासँग सम्बन्धित छ, जो पछिल्लो १६ औं शताब्दीदेखि चलिआएको छ । बोन धर्ममा आधारित यो परम्परा पृथ्वी, माटो, हावा र पानीको पूजापछि बाली सप्रिने बिश्वासमा आधारित छ । यो वृत्तचित्रले ‘नेफ्टा फिल्म अवार्ड -२०७२’ का लागि उत्कृष्ट सम्पादक पुरस्कार प्राप्त गरेको थियो । उनले यस वृत्तचित्रलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।
 
यसैगरी, बाल मनोविज्ञानमा आधारित लघु वृत्तचित्र फिल्म ‘सुपरमंक’ ले सन् २०१९ मा आयोजित नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट लघु वृत्तचित्र फिल्म र वृत्तचित्र फिल्म सम्पादकको पुरस्कार जितेको थियो । सम्पादन कला, शैली र प्रस्तुतिमा नयाँपन दिएका कारण प्याकुरेल पुरस्कृत भएका थिए ।
 
विगत दुई दशकभन्दा बढी समयदेखि वृत्तचित्र फिल्म क्षेत्रमा संलग्न प्याकुरेल आफ्नो नयाँ सोच, शैली र प्रस्तुतीकरणको माध्यमबाट एक अद्वितीय पहिचान बनाउन सक्षम छन् । प्याकुरेल भन्छन्, ‘एक वृत्तचित्र उत्पादनमा हरेक कथा प्रस्तुत गर्नको लागि शोध, खोज र पहिचान धेरै गाह्रो छ, तर त्योभन्दा बढी यो सम्पादन सेटको माध्यमबाट कथाको भावनाहरु र मूल्यहरुलाई समायोजन गर्न गाह्रो छ ।’ एक सम्पादक सँधै धैर्य र लगनशील बन्नुपर्ने कुरामा प्याकुरेल जोड दिन्छन् । प्याकुरेलले वृत्तचित्र फिल्महरूमा समाज र समुदायका कथाहरूको मूल्य र भावनाहरुको संयोजनको लागि उत्कृष्ट काम गरेका छन् ।