मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.43/5.00)
Text size:-
+
-

`नागबेली` हिन्दी फिल्मको कपी होइन : दीपेन्द्र लामा (लेखक)

फिल्मीखबर, काठमाण्डौ, २०७१ आषाढ १७, मंगलवार
विगत पन्ध्र वर्षदेखि फिल्म पत्रकारिता गर्दै आएका दीपेन्द्र लामाले फिल्मको कथा लेखेका छन् । उनले लेखेको ‘नागबेली’ फिल्म यही असार २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । वि.सं. २०५२ सालमा स्थापित नेपाल चलचित्र समिक्षक समाजका वर्तमान महासचिव लामाले पत्रकारिता सुरु गरेको वर्षदेखि नै नेपाली तथा हिन्दी फिल्मको समिक्षा गर्दै आएका छन् । उनले हालसम्म नेपाली र हिन्दी गरी एक सय फिल्मको समिक्षा गरे । नेपाली फिल्म ‘एक नम्बरको पाखे’बाट फिल्म समिक्षा सुरु गरेका समिक्षक तथा फिल्म लेखक दीपेन्द्र लामासँग फिल्मखबरका उत्सव रसाईलीले कुराकानी गरेका छन् ।  
  
 
तपाइँको फिल्म समिक्षा त खरो हुन्छ नि ?
नेपाली फिल्म पुरानो अवस्था पार गरेर नयाँमा प्रवेश गरेको अवस्था हो । यो अवस्थामा फिल्मको गम्भिर समिक्षा गर्न आवश्यक छ । यसले नयाँ दिशा देखाउँछ । समिक्षा गर्ने संस्कृतिले फिल्मलाई सही बाटो देखाउन सहयोग गर्छ । अहिले मिडिया धेरै छन् । फिल्मवालाको पहुँच मिडियासँग बलियो छ । मिडियाले जस्तो फिल्म आएपनि ‘राम्रो छ’ भनेर‘प्रचारकारिता' गरि रहेको अवस्था छ । यसले दर्शक र पाठकलाई भ्रमित भैरहेका छन् । कसको कुरा पत्याउने कसको नपत्याउने भनेर छुट्याउनै गाह्रो छ । यस्तो बेलामा इमान्दार समिक्षा गर्न सक्यौं भने दर्शकलाई भ्रमबाट मुक्त गर्न सक्छौं ।
 
फिल्मको समिक्षाले के महत्व राख्दछ ?
निर्देशक र निर्माताको सम्पत्ती भनेकै फिल्म हो । पचास वर्ष पछि या सय वर्षपछि मान्छेले फेर्केर हेर्दा राम्रो फिल्म नै खोजेर हेर्छ, कमाउने फिल्म हैन । फिल्म राम्रो हुनु र पैसा कमाउनु अलग कुरा हो । समिक्षकले सधैं के सोच्दछ भने राम्रो फिल्मले नै पैसा कमाओस् । समिक्षकले तारिफ गरेको फिल्मले नै पैसा कमाउँछ भन्ने ‘ग्यारेन्टी’ चाहिं हुँदैन ।
 
समिक्षकले फिल्मको व्यापार चौपट पारे भन्ने आरोप छ नि ?
समिक्षकको समिक्षाले दर्शकलाई सुसुचित गर्छ । फिल्म हेर्ने वा नहेर्ने निर्णय चाहिं दर्शककै हातमा हुन्छ । समिक्षक भन्दा दर्शक नै निर्णायक हुन् । त्यसैले समिक्षकले फिल्मको व्यापार चौपट गर्छ भन्ने हुँदैन । नराम्रो फिल्मलाई राम्रो भनेर झुक्याउन खोज्नेहरु चाहिं समिक्षसँग डराएका हुन् ।
 
फिल्म समिक्षाको १५ वर्षे करिअरमा नेपालीमा कस्तो परिर्वतन पाउनु भएको छ ? 
पन्ध्र वर्ष अगाडीसम्म फिल्म बनाउने कामलाई गम्भिर रुपमा लिइन्थ्यो, फिल्म मेकर्सले धेरै सोच्थे । एउटा फिल्म बनाउन ५० लाख नै चाहिन्थ्यो । अहिले २५ लाखमा पनि फिल्म बन्छ । त्यसैले मान्छेहरु फिल्म बनाउन सजिलै अग्रसर भैरहेका छन् । नेपाली फिल्म निश्चित निर्माता, निर्देशक र कलाकारको नियन्त्रणमा थियो । अहिले नेपाली फिल्म क्षेत्र कुनै पनि व्यक्तिको नियन्त्रणमा छैन । नयाँ प्रयोग बढेको छ । नयाँ समुदायका कथा र पात्रको प्रवेश पनि बढेको छ । ‘लुट’ ले नेवार पात्र ‘हाकु काले’ र ‘कवड्डी’ ले थकाली समुदायको कथा ल्यायो । विभिन्न वर्णका कलाकारहरु छन् । जसले गर्दा दर्शकको ‘मेनु’ फराकिलो भएको छ ।
 
मुल धारका फिल्मप्रति तपाइँको धारण के हो ? 
नराम्रो र नक्कल गरिएका फिल्मप्रति मेरो आपत्ती हो । व्यक्तिप्रति आग्रह वा पूर्वाग्रह पनि होइन । नजिकको साथीलाई पनि आलोचना गर्न हिच्किचाएको छैन । व्यक्तिगत व्यवहारका कारण मन नपर्ने निर्माता र निर्देशकले राम्रो फिल्म बनाउँदा प्रशंसा गरेकै छु ।
 
फिल्म पत्रकारिता गर्दा गर्दै कसरी फिल्म लेखनमा प्रवेश गर्नुभयो ? 
मेरो बच्चैदेखि फिल्मप्रति मोह हो । १२/१३ वर्षको उमेरदेखि नै म हरेक पन्ध्र दिनमा हलमै गएर फिल्म हेर्थें । पत्रकारितामा प्रवेश गरेदेखि नै फिल्म पत्रकारिता गरियो । फिल्म सम्बन्धी विदेशी किताबहरु खोजेर पढ्न थालें । अहिले पनि फिल्म समिक्षा गर्दा कितावहरु पल्टाउँछु । ‘नागबेली’ लेख्नु अघि 'सिड फिल्ड' र 'रोवर्ट म्याककी'ले लेखेका पटकथा सम्बन्धी किताब पढेको थिएँ ।
 
‘नागबेली’ मा चाहिं कहाँको कथा छ ? 
मेरो पहिलो मान्यता भनेको नेपाली फिल्म मौलिक हुनुपर्छ भन्ने हो । यही माटोको कथा हुनुपर्छ । हिन्दी फिल्मको नक्कल गर्ने प्रवृक्तिबाट मुक्त हुनुपर्छ । हिन्दी फिल्मको दृश्य र संवादलाई नेपाली फिल्ममा अनुवाद गरेर देखाउने चलन धेरै थियो, अहिले केही घटेको छ । ‘नागबेली’ मा पनि समाजमा घटिरहेको मैलिक कथालाई प्रस्तुत गरिएको छ । हिन्दी फिल्मको नक्कल गरिएको छैन । पात्र पनि यही समाजको, संघर्ष पनि नेपाली पाराको छ ।
 
पर्दामा कस्तो देखिएको छ त ‘नागबेली’ ? 
फिल्म भनेकै निर्देशकको माध्यम हो । कागजको पटकथालाई दृश्यमा कसरी रुपान्तरण गर्ने भन्ने छनोट निर्देशकले नै गर्छ । त्यसकारण पटकथाकारले सोचेकै दृश्य फिल्ममा उतारिन्छ भन्ने निश्चित हुँदैन । ‘नागबेली’ को सन्दर्भमा मेरो अनुभव मिश्रित छ । कतै मैले सोचेको भन्दा राम्रो पनि भएका छन् भने कतै अलि चित्त नबुझ्ने पनि लाग्छ । तर यो ठूलो समस्या होइन । 
 
निर्देशक र कलाकारको प्रस्तुती कस्तो पाउनु भयो ? 
निर्देशक र कलाकारले उपलब्ध श्रोत, सुविधा र समय अनुसारको मिहेनत गरेका छन् । यो हामी सबैको अन्तिम फिल्म होइन । आगामी फिल्महरुमा आफुलाई सुधारेर प्रस्तुत हुन आवश्यक पनि छ ।
 
‘नागबेली’ को समिक्षा धेरैले पर्खेर बसेका छन् । तपाई चाहिं कस्तो समिक्षाको पर्खाइमा हुनुहुन्छ ? 
नेपाली फिल्म क्षेत्रमा समिक्षा गर्ने संस्कृतिको विकास होस् भन्ने म चाहान्छु । त्यसैले ‘नागबेली’को पनि समिक्षा भैदिए राम्रो । किनभने पटकथा लेखनमा मैले सिक्नु पर्ने धेरै कुरा बाँकी छन् । ‘नागबेली’ को समिक्षाले मलाई पटकथा लेख्न र अरुको फिल्मको समिक्षा लेख्न झन सहयोग पुग्नेछ । फिल्म बुझ्न सोचे जस्तो सजिलो छैन ।