मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नोबेल पुरस्कार पाउनेले `मुखौटा` निर्देशन गरेको हैन` : अर्पण थापा

फिल्मीखबर, काठमाण्डौ, २०७१ ज्येष्ठ १२, सोमवार

‘सिक सिटी’, ‘ब्याच नम्बर १६’, ‘बधशाला’, ‘छड्के’, ‘धन्दा’ र ‘मौन’ मा अभिनय गरेका अभिनेता अर्पण थापा ‘मुखौटा’ फिल्म मार्फत निर्देशक भएका छन् । माफियाको कथा भन्ने ‘मुखौटा’ मा अर्पणको पनि अभिनय छ । उनीसँगै कलाकारको जम्बो टोली ‘मुखौटा’ छ । यही जेठ ३० गते अल नेपाल प्रदर्शनमा आउने ‘मुखौटा'का निर्देशक एवं कलाकार अर्पण थापासँग फिल्मीखबरका उत्सव रसाईलीले कुराकानी गरेका छन् ।

‘मुखौटा’को कलाकार बलियो कि कथा ?
यो फिल्मको कथा र कलाकार दुवै बलिया छन् । देखाउनको लागि मात्रै फिल्ममा कलाकारको जम्बो टोली राखिएको होइन । यो कथाकै माग हो । फिल्मलाई राम्रो कलाकारको भिड चाहिएको थियो । भिडमा पनि कलाकारले राम्रो काम गरेका छन् ।

‘मुखौटा’मा आफ्नो अनुहारलाई चाहिं किन बिगार्नु भएको नि ?
म फिल्मको हिरो हैन । मैले फिल्मको पात्रलाई मात्रै ध्यान दिएको हुँ । यदि म हिरो हुन्थें भने लामो कपाल, ज्यान ठुलो हुन्थ्यो होला । तर म फिल्मको हिरो हैन । डाँडा काँडामा गएर नाच्ने मेरो रोल छैन । फिल्मको पात्रले गर्दा मुख बिगार्नु पर्यो ।

तपाईंको बुझाईमा हिरो को हो त ?
जसले फिल्मलाई बोक्छ ऊ नै हिरो हो । म हिरो होइन तर हिरोको क्यारेक्टर लिएर बाँच्ने प्रयास गर्छु । फेरी सबै फिल्मको पात्र हिरो पनि हुँदैनन् । एकै खालको पात्रमा बस्न रुचाउने हिरो नहोलान् सायद ।

आधा दर्जन फिल्ममा अभिनय गर्न नपाउँदै निर्देशक बन्नुभयो । निर्देशक बन्न हतार भएन ?
हतार नगरेर आउने को छ र यहाँ ? म विज्ञ भएर फिल्म निर्देशक भएको हैन । म त बालक हुँ । अहिले दश कक्षा पढ्दैछु । दश वर्षपछि चाहिं पिएचडी राम्रो होला भनेर फिल्म निर्देशनमा हात हालेको हुँ ।

यस्तो भनेर तपाईं पन्छिन खोजे जस्तो देखियो नि ?
मैले राम्रो गर्ने प्रयास गरेको छु । तर, मेरो फिल्मलाई संजय लिला भन्सालीको फिल्मसँग दाँजेर हेर्नु भएन । यो नोबेल पुरस्कार बिजेताले बनाएको फिल्म होइन । फिल्मलाई मूल्याकंन भन्दा पनि मनोरञ्जनको रुपमा हेरिदिनुहोला ।

फिल्मको मूल्याकंन त हुन्छ नि ! हैन ?
हुन सक्ला । तर हामी ‘दबंग’ र ‘थ्री इडियट्स’ जस्ता फिल्म हेर्न के लिएर गएका थियौं ? मैले भन्न के मात्रै खोजेको हो भने फिल्म हेर्न जाँदा डिक्सनेरी लिएर नजानु होला । हेरुन्जेल मजा आउने फिल्म राम्रो फिल्म हो । तर, आफुले भनेजस्तो टमाटर र प्याज पुगेन भनेर फिल्मलाई नराम्रो भन्न मिल्दैन ।

फिल्म निर्देशन गर्दाको अनुभव कस्तो रह्यो ?
‘मुखौटा’मा सुनिल थापादेखि राजेश हमाल सौगात मल्लदेखि दयाहाङ राईसम्मको अभिनय छ । सुनिल दाई, राजेशजीले फिल्म खेल्न स्विकार गर्नुभयो । मेरो लागि यो नै महत्वपूर्ण कुरा हो । उहाँहरुले आफ्नो भूमिकालाई न्याय दिनु भएको छ । मैले पनि सक्दो राम्रो गर्ने प्रयास गरेको छु ।

नयाँ र पुराना कलाकारको अभिनयमा के भिन्नता पाउनु भयो ?
पुराना कलाकारको लामो अभिनयको अनुभव र नयाँमा जोश रहेको पाएँ । यसले फिल्म राम्रो गर्यो ।

फिल्म छायाँकन सुरु गर्नु अगाडी के चुनौती देख्नु भएको थियो ?
सुरुमा त मलाई समयकै चुनौती थियो । यति धेरै कलाकारको एकैपटक समय मिल्छ कि मिल्दैन भन्ने चिन्ता थियो । भाग्यवस सबैको समय मिल्यो । त्यसपछि कलाकारले आफ्नो भूमिकालाई गम्भिर रुपमा लिन्छन् कि लिदैनन् भन्ने थियो । तर, सुटिङ सुरु गरेपछि सबै कुरो मिल्यो ।