मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आबुइ ! प्रेम छ : मिलन अमात्य

चर्चित ढुंगेल/ अनन्त पोखरेल, दोहा, २०७१ ज्येष्ठ ७, बुधवार

भारतको आसाममा सांगीतिक इतिहास बनाएर नेपाल छिरेकी गायिका हुन् मिलन अमात्य (नेवार) । नेपाल छिरेपछि उनको एल्बम ‘मिलन’ले चर्चा मात्रै पाएन, बिभिन्न पुरस्कार पनि दिलायो । त्यसपछि उनले लगातार एल्बम र फिल्ममा गाउने अफर पाइरहिन् । पछिल्लो समय उनी पार्श्व गायनमा निकै व्यस्त छिन् । एकपछि अर्को हिट गीत पनि दिईरहेकी छिन् । यिनै गायिकासँग कतारमा गरिएको कुराकानीको सम्पादित अंश-


आसाममा सांगीतिक यात्रा कसरी सुरु भयो ?
मेरो पूरै परिवार सांगीतिक माहोलतिर झुकेको हुनाले घरै सांगीतिक बन्यो । मेरो ठूलोमुमा बिपना नेवार राम्रो गायिका हुनुहुन्छ । मेरो पापा गणेश नेवार तबलावादक र मुमा अम्बिका नेवार अलि अलि गाउने भएकोले म त्यै माहोलमा हुर्कें । मेरो नशा नशामा संगीत बगेको छ जस्तो लाग्छ ।

तपाईंले सुरुमा गाएको गीत कुन हो ?
सुरुमा मैले ‘आसामिस बिहु’ गाएकी थिएँ । आसाममा बिहु भनेको नयाँ बर्षमा मनाइने प्रचलित एउटा पर्व हो । त्यसै पर्वमा गाइने ‘फोल्क’ गीतबाट मैले गायनयात्रा प्रारम्भ गरेकी हुँ । थुप्रै बर्ष बितिसकेकाले त्यसको मुखडा चैं याद भएन ।

अहिलेसम्म कतिवटा भाषामा गीत गाइसक्नुभयो ? कुन भाषामा कतिवटा एल्बम छन् ?
अहिलेसम्म १० वटा भाषामा गीत गाइसकेकी छु । मारवाडीहरुले बोल्ने ‘राजस्थानी भाषा’का बीसवटा जति र नेपाली भाषाका सात एल्बम छन् । कन्नड, बंगाली, आसामिस  र अन्य भाषाका चैं गीत मात्र गाएकी छु ।

नेपाली पूराना गीतलाई ‘रिमिक्स’ गर्नुभएको देखियो । अनुमति लिएर गर्नुभएको हो ?
तिलक नेवार दाइले के सोचेर ‘रिमिक्स’ कन्सेप्ट ल्याउनुभएको हो थाहा भएन । हामीले नेपालका श्रष्टालाई चिन्दैनथ्यौं । नेपाल आएर स्वीकृती लिनेभन्दा पनि ‘अब्जेक्सन' आएछ भने कुरा गरौंला भन्नेतिर सोचियो । ‘रिमेक’ गर्ने कि भनेर पनि सोचेका थियौं तर पछि रिमिक्स गरियो । डर थियो, 'अब्जेक्सन' आउला कि भन्ने तर आएन, बचियो ।

तपाईहरुले रिमिक्स गरेका एल्बम निकै चले । ओर्जिनल श्रष्टालाई के फाइदा भयो ?
‘सम्झना बिर्सना सलललल’, ‘आहै बनमा फुल्यो फूलैफूल’, ‘कान्छी हे कान्छी’जस्ता गीत मलाई सानैदेखि मन परेका थिए । नेपाल आवतजावत पनि थिएन । मन परेकाले र ओरिजिनल श्रष्टासँग चिनारी नभएकाले सोध्न जानेभन्दा पनि गाउनेतिर लागियो । एल्बम चलेकै हुन् । तर श्रष्टाका लागि आर्थिक सहयोग गर्न सकिएन ।

नेपाल कसरी आउनुभयो ?
मेरा धेरै आफन्त नेपालमा थिए । मेरा हजुरबुवा संखुवासभामा हुनुहुन्थ्यो । थूलो आमाहरु सुनसरी र काठमाडौंमा हुनुहुन्छ । फेरि मेरा पापाले पनि ‘तिमीले विश्वकै नेपालीहरुको मन जित्नेगरी गाउने हो भने नेपाल जानुपर्छ’ भन्नुभयो । मेरा गीतकार विजय कट्टेलले पनि नेपाल गएर एल्बम गर्ने सल्लाह दिनुभयो । म 'मिलन' एल्बमका गीत रेकर्ड गर्न काठमाडौं आएँ । पापाले विवाह गर्ने कुरा गर्नुभयो । मेरी बहिनीले पहिले नै विवाह गरेकी थिइन् । त्यो भएर पनि विवाह गर्नुपर्ने कुरो अघि बढ्यो । मेरा ससुराबा र मेरी बहिनीका ससुराबा साथीसाथी हुनुहुन्थ्यो । उहाँहरुले कुरो अघि बढाउनुभयो । अनि विवाह भयो । विवाहको ६ महिनापछि 'मिलन' एल्बमको काम सकेकी हुँ । मिलन एल्बमको काम सक्न ३ बर्ष लाग्यो । त्यही तीन बर्ष नेपाल आवतजावत गर्दागर्दै विवाह नगरी भएन ।

नेपालमा सांगीतिक सुरुवात कसरी भयो ?
नेपालमा मैले 'मिलन' एल्बम ‘रिलिज’ गरें । नेपाली श्रष्टा र श्रोताहरुले ‘जहिलेसम्म’ भन्ने गीतलाई एकदमै माया गर्नुभयो । मन पराउनुभयो । एल्बम रिलिज गर्दा पनि मैले मेरो एल्बमको एउटा र तारादेवीका दुईवटा गीत ‘लाइभ इस्ट्रुमेन्ट्स’मा गाएँ । त्यो सुनेर मलाई धेरै एल्बम र फिल्ममा गाउने अफर आयो ।

नेपालमा पहिलो हिट गीत कुन भयो ?
'मिलन' एल्बमको ‘जैलेसम्म’ बोलको गीत हिट भयो । पछि 'नोटबुक' फिल्मको ‘गाला रातै’ र 'काली' फिल्मको ‘स्लोली स्लोली’ अत्याधिक चल्यो । अवार्ड पनि यैनै गीतले दिलायो ।
 
नेपालमा आएलगत्तै सम्मानित र पुरस्कृत हुनुभयो नि !
हो, मैले पप क्याटोगोरीमा इमेज र कालिका म्युजिक अवार्ड पाएँ । ‘कान्तिपुर एफएम’बाट पनि बर्षभरि सवैभन्दा बढि आधुनिक गीत बजेकोबाट पुरस्कार पाएँ । ‘नातिकाजी नवप्रतिभा’ सम्मान पाएँ । अहिले 'ओफा अवार्ड ०७१'को पपुलर गायिकाको नोमिनेशनमा परेकी छु । सफलता पाउँदै गएजस्तो लागेको छ ।


राम्री, त्यसमा पनि गीत गाउने, सांगीतिक प्रस्तुतिका क्रममा कसैले पछ्याएनन् ?
पछ्याउनेहरु थिए । म थिएनन् भन्दिन । कसैले थिएनन/ छैनन् भन्छन् भने त्यो झुटो हुन्छ । तर मेरो जुन ‘एम’ थियो संगीतलाई लिएर अघिबढ्ने त्यो बाहेक कसैले ‘प्रपोज’ गरे पनि ‘अहिले मेरो समय भएको छैन, म मेरो काममा लागीरहेकी छु’ भनेर सम्झाउँथें ।

‘लभ लेटर’  आएनन् ?
लभ लेटर हैन, एसएमएस आउँथे (हा हा हा) । पछाडि सायरी लेखेर सलमान खानका पोष्टकार्ड आउँथे । पढ्यो, हाँस्यो, सिद्धियो । तर म जवाफ फर्काउँथिन । उनीहरुले बुझिहाल्थे । त्यो मामलामा धेरै भन्नु पनि हुँदैन । त्यो भन्नुभन्दा चुपलागेर बस्थें ।

प्रेम के हो ?
प्रेम आत्माको अनुभूति हो, ‘फिलिङ्स’ हो जस्तो लाग्छ ।  

तपाईको प्रेम भएर विवाह भएको हो कि विवाह भएर प्रेम भएको हो ?
‘हन्ड्रेड पर्सेन्ट’ प्रेम भएर विवाह भएको हैन ।

प्रेम भएकै छैन त ?
आबुइ ! त्यो त हुनै सक्दैन । प्रेम त छ नि ! (हा हा हा)

पहिलो प्रेमको अनुभव कस्तो थियो ?
म क्लास ८, ९ मा हुँदाको कुरो हो । एकजनाले म नहुँदाखेरि ‘डेस्क’मा मेरो नाम लेखेछ । म अलि ‘खत्रा’ थिएँ । मैले केटीहरुको ग्रुप लिएर गएर ‘अवदेखि यस्तो गर्लास्’ भनेर थर्काएकी थिएँ । त्यो नै मेरो पहिलो ‘वान साइडेड’ प्रेम थियो कि !

धेरै थाँउमा कन्सर्ट गर्नुभयो । मरिहत्ते गर्ने पनि थिए होलान् नि ?
अरुले मरिहत्ते गरेर मात्रै त भएन नि । मेरो पनि मन हुनुपर्‍यो । मरिहत्ते गर्नेहरुलाई म साइडमा राखेर हिंड्थें ।