मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.00/5.00)
Text size:-
+
-

नेपाली युवती `फोटो जेनिक` : अक्षय कुमार

, काठमाण्डौ, २०७१ वैशाख २६, शुक्रवार

पुरानो दिल्लीको प्रसिद्ध चाँदनी चौकको पराठेवाली गल्लीमा ९ सेप्टेम्बर १९६७ मा जन्मिएका राजीव हरिओम भाटियाले बलिउडका चलचित्र अभिनेता अक्षयकुमारका रूपमा रूपान्तरण हुन ठूलो संघर्ष गरेका छन्। जीवनको प्रारम्भिक कालमा आफ्नै गल्लीमा खाना बनाएर बिक्री गर्ने हिन्दु धर्मालम्बी पञ्जावी युवक राजीव भाटिया अवसरको खोजीमा थाइल्यान्डको बैंकक हान्निएका थिए। त्यहाँ उनले विभिन्न होटलमा कुकका रूपमा काम गर्दागर्दै थाइल्यान्डको प्रसिद्ध 'किक बक्सिङ' नामक मार्सल आर्ट सिक्ने अवसर प्राप्त गरे। पछि उनले 'कराँते' पनि सिके। कराँतेमा ब्ल्याक बेल्ट प्राप्त गरेपछि उनी हिन्दी चलचित्रमा फाइट मास्टरका रूपमा काम गर्न मुम्बई फर्किए। फाइट मास्टरका रूपमा काम गर्दागर्दै राजीवको भाग्यले यस्तो कोल्टे फेर्‍यो कि उनी चलचित्र 'सौगन्ध' मा अचानक अक्षयकुमारका नामले नायकका रूपमा देखा परे। उक्त चलचित्रले औसत व्यापार गरे पनि अक्षयकुमार 'सस्तो कलाकार' का रूपमा निर्माताहरूको रोजाइमा परे। केही समयको अन्तरालपछि चलचित्र 'खेलाडी' ले व्यावसायिक सफलता प्राप्त गरेयता अक्षयकुमारले पछाडि फर्केर हेर्नुपरेको छैन। त्यसपछिका कथा उनका सबैजसो प्रशंसकलाई थाहा छ। तिनै अक्षयकुमार गत साता एउटा चलचित्रको सुटिङका क्रममा काठमाडौंमा थिए। यही सेरोफेरोमा अक्षयकुमारसँग कान्तिपुर साप्ताहिकका विदुर खतिवडाले गरेको कुराकानीको सारसंक्षेप :



नेपाल बसाइ कस्तो चलिरहेको छ ?

म १८ वर्षपछि नेपाल आएको हुँ, मलाई नै थाहा थिएन कि यहाँ मेरा यति धेरै फ्यान हुनुहुन्छ।  मलाई मन पराउनेहरूको संख्या यति धेरै होला भन्ने अनुमान पनि थिएन। मलाई यति मात्र थाहा थियो— मेरो पहिलो चलचित्र सौगन्ध सबैभन्दा धेरै नेपालमै चलेको थियो। नेपाल र त्यसपछि गुजरातका दर्शकले सौगन्धलाई अत्यधिक मन पराएका थिए। यहाँ आएर मलाई महसुस भयो, नेपाल वास्तवमै सुन्दर छ। यहाँको प्राकृतिक सौन्दर्यमा कुनै किसिमको कृत्रिमता छैन। यो नै मलाई सबैभन्दा मनपर्ने पक्ष रह्यो। कच्चा प्राकृतिक सौन्दर्य जसलाई थप श्रृंगारपटारको आवश्यकता पनि छैन। 'र नेचुरल ब्युटी' नेपालको सबल पक्ष लाग्यो। नेपाल आएकै दिन यहाँको प्राकृतिक सौन्दर्यले मलाई खिचेको थियो। होटलमा आएपछि झ्याल खोलेर हेरे, बौद्धनाथको राम्रो तस्बिर खिच्न मन लाग्यो, खिचे र सुन्दर नेपाल भनेर टि्वट गरे। मैले जति सोचेको थिएँ, त्योभन्दा राम्रो पाएँ नेपाल। नेपाललाई सुन्दर राखिरहन यहाँका मानिसहरूको मेहनतले काम गरेको छ। यहाँको शिल्प तथा कालिगढीको नमुना पनि उत्तिकै सुन्दर छ।

सुटिङमा कत्तिको सहज भयो ?

छायाकंनका दृष्टिकोणले नेपालमा ठूला-ठूला हाइवेहरू छन्, भव्य संरचनाहरू छन् भन्ने होइन यद्यपि यहाँ प्राकृतिक रूपमै बान्की परेको जुन स्वाभाविक सुन्दरता छ, त्यो आफैंमा उत्कृष्ट छ।  ठूला-ठूला हाइवेहरूको आवश्यकता पनि छैन। जे छ यही राम्रो छ, यही नै नेपालको पहिचान हो र जहाँ-जहाँ मेरो छायांकन थियो, त्यहाँ मानिसहरूले मप्रति अपार माया दर्साउनुभयो। सबैले मसँग एकदम नजिकको व्यवहार गर्नुभयो। सुटिङ युनिटले भनेको सबैजनाले सहजै मानिदिनुभयो। पछाडि हटिदिनुसभन्दा हट्न तयार भैदिनुभयो। मज्जाले सुटिङ भैरहेको छ। सबैभन्दा ठूलो सहयोग नेपाल प्रहरीले गरेको छ, नेपाल प्रहरीका आशुतोष बहादुर शाहीको कमान्डले ठूलो सहयोग गरेको छ। म नेपाल प्रहरीलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईंहरू सबैको सहयोगले नै हामी निर्विध्न रूपमा सुटिङ गर्न सफल भएका छौं, नत्र गाह्रो हुन्थ्यो। मैले थुप्रै राष्ट्र र सहरहरूमा सुटिङ गरेको छु, तर नेपाल यस्तो राष्ट्र हो, जहाँ चलचित्र सुटिङका लागि फ्रेन्ड्ली एटमसफियर छ। सुटिङ फ्रेन्ड्ली वातावरण छ, यो कुरा अब म हिन्दुस्तान फर्किएर आफ्नो टिम र समग्र बलिउडलाई भन्नेछु।   

यहाँको विशेष कुरा के लाग्यो तपाईंलाई ?

मलाई यहाँको नेचर मन पर्‍यो। यहाँका राम्रा मानिसहरू, सहयोगी भावना एवं कच्चा प्राकृतिक सौन्दर्य।

बलिउडका लागि काम लाग्ने केही नयाँ कुरा ?

मैले माथि नै भनिसकें, नेपाल राम्रो सुटिङ स्थल हो, यहाँ सबै प्रकारको सौन्दर्य जताततै उपलब्ध छ। मुम्बई नजिकैको यस्तो सौन्दर्यलाई किन मिस गर्ने ? मुम्बईमा कहाँ भेटिन्छ, यस्तो नेचुरल ब्युटी। हाम्रा जति पनि चलचित्र मेकर हुनुहुन्छ, सबैसँग नेपालको सौन्दर्यको बयान गर्नेछु।

१८ वर्षअघि काठमाडौं आउँदा र अहिले आउँदा के फरक पाउनुभयो ?

१८ वर्षअघि मैले अभिनय गरेको चलचित्र आरजुको अडियो विमोचनका निम्ति माधुरी दीक्षितका साथ नेपाल आएको थिएँ। अडियो रिलिजको उक्त कार्यक्रम पनि भव्य भएको थियो। बुझाइको समस्याका कारण त्यो समयमा केही कन्ट्रोभर्सी पनि भयो। मैले त्यो कुरामा त्यतिबेला पनि माफी मागेको थिएँ, अहिले पनि माफी चाहन्छु। आशा गरौं आगामी दिनमा असल दुई छिमेकी राष्ट्रका बीचमा त्यस्तो कन्ट्रोभर्सीले स्थान पाउने छैन।

अक्षयकुमारका जबर्जस्त फ्यान नेपालमा पनि छन्, जो उनको चलचित्र हेर्न लामो समय कुर्छन्, उनीहरू अक्षयकुमार हाम्रा बारेमा के भन्छन् भनेर जान्न चाहन्छन् ?

पहिलो कुरा त म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म कृतज्ञ पनि छु किनभने उहाँहरूले मेरा चलचित्र हेरिदिनुहुन्छ। मलाई यति धेरै मनपराइदिनुहुन्छ। मैले एउटा कुरा नोटिस गरेको छु— यहाँका दर्शक एक्सन मुभी मन पराउनुहुन्छ। मार्सल आर्ट्स, कराँते, तेक्वान्दो आदि समाविष्ट चलचित्र हेर्न मन पराउनुहुन्छ। यहाँका दर्शक एक्सन मुभी मन पराउने म एक्सन मुभी खेल्न मन गर्ने त्यसकारण मेरो र उहाँहरूबीचको तालमेल गजबको छ, केमेस्ट्री मिलेको छ।

अक्षयकुमारको सफलताको रहस्य के हो ?

प्रत्येक बिहान आमाबुबालाई ढोगेर घर बाहिर निस्कनुपर्छ। जुनसुकै कामका लागि किन नहोस्, हरेक दिन आफ्ना मातापिताको आशीर्वाद लिइएको छ भने हरेक व्यक्ति आफ्नो काममा सफल हुन्छ। मेरो जीवनको सफलताको रहस्य यही नै हो। मैले यही गर्दै आएको छु। तपाईंहरू पनि आफ्ना आमाबुबाप्रति माया गर्नुहोस्, आदर सत्कार गर्नुहोस्, उहाँहरूको ख्याल राख्नुहोस् र उहाँहरूको आशीर्वाद लिनुहोस्, सफलताले तपाईंलाई नै पछ्याउनेछ।

तपाईं एक्सन स्टार कि कमेडिस्टार ?

म दुवैमा फिट छु र दुवै वर्गका चलचित्रमा काम गर्छु। दुवै भूमिकामा मलाई दर्शकले मनपराइदिनु भएको छ। मलाई कामचाहिँ एक्सन चलचित्रमा गर्न मजा लाग्छ। किनभने एक्सनबाटै म बलिउडमा स्थापित भएको हुँ। दर्शकले अक्षयकुमार भन्ने बित्तिकै एक्सन पनि खोज्छन् भन्ने लाग्छ।

अनि किन एक्सन स्टारको छवि परिवर्तन गर्न खोज्नुभएको त ?

मैले धेरै एक्सन चलचित्रमा काम गरेको छु। पछिल्लो समयमा राउडी राठौर, चाँदनी चौक टु चाइना जस्ता चलचित्रमा मेरो एक्सन धेरै दर्शकले मन पराउनु भएको पनि हो, तर एउटा कलाकारका रूपमा मैले थुप्रै किसिमका भूमिकामा काम गरेर सफलता पाएको छु। जति एक्सन स्टारका रूपमा मनपराइएको छु, त्यति नै कमेडिस्टारका रूपमा पनि। मैले एक्सन, कमेडी, सिरियस, रोमान्टिक धेरै भूमिकामा काम गरें। धड्कन तथा एकरिश्ता मेरा पृथक चलचित्र थिए, जसलाई पनि दर्शकहरूले अत्यधिक मन पराउनुभयो। अब सोनाक्षी सिन्हाका साथमा होलिडे चलचित्र सार्वजनिक हुन लागेको छ, जसमा म सैनिकको भूमिकामा प्रस्तुत हुँदैछु। एक्सन रोल छ, आतंकवादसँग कसरी फेस गर्ने भन्ने क्यारेक्टर निर्वाह गरेको छु। त्यसैले फरक विधामा आफूलाई सफल अभिनेताका रूपमा पेस गर्ने मेरो चाहनाअनुरूप नै काम भैरहेको छ।

रविना टन्डन, ममता कुलकर्णी, शिल्पा सेठ्ठी, कैटरिना कैफ, करिना कपुर, सोनाक्षी सिन्हा जस्ता नायिकाहरूसँग एकपछि अर्को चलचित्रमा लगातार देखिनुभएको छ। समयक्रमअनुसार उनीहरूसँगको केमेस्ट्री पनि उत्तिकै मिलेको देखिन्छ, कस्तो अनुभूति हुन्छ ?

तपाईंले सही कुरा गर्नुभयो, केही जोडी साँच्चै नै जमेका थिए। त्यसमा गजबको मज्जा पनि आउँछ। जब जोडी जम्छ तब मलाई पनि राम्रो लाग्छ। एकसे एक स्टारसँग जोडिएर काम गर्न पाएको छु, उहाँहरूसँग कतिपय कुरा सिक्न पनि पाइन्छ। तपाईंले भनेजस्तै उहाँहरूसँगको केमेस्ट्री दर्शकले पनि रुचाउनुभएको छ। दर्शकले मनपराइदिएपछि त्यही आर्टिस्टसँग फेरि काम गर्न पनि मन लाग्छ। जोडीको यात्रा गजबको हुन्छ अझ थप चलचित्र उहाँहरूसँग काम गरौं भन्ने हुन्छ।  

चलचित्रका लागि जबर्जस्त मिलेको यो केमेस्ट्री रियल लाइफमा पनि उत्तिकै हुन्छ कि ?

रियल लाइफमा त कहाँ त्यस्तो हुन्छ र ? जहाँ प्याकअप हुन्छ, जहाँ चलचित्र सकिन्छ, त्यही सम्बन्ध र नाता पनि सकिन्छ। त्यसपछि आ-आफ्नो घर फर्कन हतार हुन्छ। त्यसमा पनि म विवाहित व्यक्ति सबैसँग सम्बन्ध गाँस्ने कुरा पनि भएन। आफ्नै परिवारसँगको कनेक्सन जोडिएपछि त्यो यात्रा त्यही समाप्त हुन्छ।

नेपाली बजारमा बलिउड हाबी छ, जबकि यहाँको आफ्नै चलचित्र उद्योग छ र त्यसले बलिउड चलचित्र जत्तिको सफलता हासिल गर्न सकिरहेको छैन। दर्शकहरू स्थानीयभन्दा भारतीय चलचित्रलाई प्राथमिकतामा राख्छन् भन्ने जानकारी तपाईंलाई छ ?

पाँच दिनको बसाइका क्रममा म फुर्सदमा टेलिभिजन च्यानलहरू हेरिरहेको हुन्छु। यहाँ थुप्रै नेपाली च्यानल रहेछन्, विभिन्न च्यानलमा आउने विभिन्न नेपाली कार्यक्रम हेरिरहेको छु। मलाई त एकदमै मज्जा आइरहेको छ। भाषा नबुझे पनि एक्सप्रेसन, एक्टिङबाट बुझ्ने प्रयास गरिरहेको छु। विशेष गरी नेपालीहरूलाई ट्रयाजेडी गीत मन पर्दा रहेछन्। माया-प्रेम तथा बिछोडका गीतहरू नै टेलिभिजनमा प्रसारण भैरहेका हुन्छन्। यहाँ रोमान्टिक गीतको बहार आउन बाँकी नै रहेछ। जहाँसम्म बजारको कुरा छ, दर्शक राम्रो कुरा हेर्न चाहन्छन्, विश्वबजारको यो नियम यहाँ पनि लागू हुन्छ। नेपाली चलचित्र, नेपाली संगीतलाई पनि यहाँका दर्शकले उत्तिकै रुचाउनुहुन्छ भन्ने कुरा टेलिभिजन हेर्दा देखिन्छ।

नेपालका कुनै कलाकारलाई चिन्नुभएको छ ?

छैन, चिनेको त छैन तर टेलिभिजनमा देखिएका कलाकारहरूको प्रतिभा देखेर दंग परेको छु। यहाँ पनि कला-संगीतलाई माया गर्नेहरू थुप्रै हुनुहुँदो रहेछ।

मनीषा कोइराला, उदितनारायण झाजस्ता नेपाली भूमिबाटै गएका कलाकार बलिउडको शिखरमा पुग्न सफल भए, उनीहरूसँग तपाईंको सम्बन्ध कस्तो छ ?

उदितनारायण सा'बले त मेरा लागि थुप्रै गीत गाउनुभएको छ। उदित र मनीषा दुवैसँग एकदमै राम्रो सम्बन्ध छ। उदित सा'ब त पहिले म बसेकै बिल्डिङमा बस्नुहुन्थ्यो, फुर्सद हुने बित्तिकै हामी आपसमा गफिएर बस्थ्यौं। मनीषाका साथमा मैले एकमात्र चलचित्रमा काम गरें, तर त्यो मेमोरेबल रह्यो। मनीषाको कुरा गर्दा अर्को एउटा कुरा सम्झना आयो, मनीषाको सुन्दरता देखेको मान्छे म यहाँ जुन सुन्दर प्राकृतिक वातावरण र त्यही वातावरणमा हुर्किएका सुन्दर अनुहारहरू देख्छु, दंग परिरहेको छु। मैले यहाँअत्यन्तै राम्रा अनि सुन्दर युवतीहरू देखिरहेको छु, ती सबै फोटोजेनिक छन्। मनपरेकै कारण एकदुई युवतीसँग अनुमति लिएर उनीहरूको तस्बिर पनि खिचेँ। पछि मैले ती तस्बिर हेर्दा एकदमै आकर्षक लागे। पहाडी ब्युटीको नमुना यहाँ प्रशस्त देख्न पाएँ। नेचुरल ब्युटिफुल वुमन, फोटोजेनिक फेसेज।

फ्लर्टिङ गर्ने मन भएन ?

किन गर्ने फ्लर्टिङ ? कोही राम्रो लाग्यो, त्यसकारण तस्बिर लिएँ, त्यसलाई हेरे, त्यसमा फ्लर्टिङको कुरै भएन नि। तपाईं कुनै चिज हेर्नुहुन्छ, त्यो राम्रो लाग्यो भने त्यसको प्रशंसा गर्नुमा जति मज्जा छ, छेडछाड गर्नुमा छैन। सुन्दरताको बयान यसरी तपाईं र मबीच गर्नुमा रमाइलो हुन्छ। त्यही नै सुन्दरताको सम्मान हो। छेडछाड वा फ्लर्टिङ गलत कुरा हुन्। फ्लर्टिङ मेरो नियममा लेखिएको छैन, त्यसमा पनि म विवाहित व्यक्ति। कुनै राम्रो चिज देख्यो, त्यसको प्रशंसा गर्‍यो, त्यतिमै सीमित रहँदा सभ्यता पनि रहन्छ र त्यो सुन्दर पनि कहलिन्छ।

काठमाडौंका सडकमा एक्लै बरालिन मन लागेको छैन ?

असाध्यै मन छ, तर यहाँ त्यो सम्भव देखिनँ। असाध्यै धेरै प्रशंसक हुनुहुन्छ, सबैले चिन्नुहुन्छ, मुम्बईमा भन्दा यहाँ अझ असम्भव देखे मैले।

सुटिङका क्रममा भीडले असहज भएन ?

बिलकुल भएन, क्राउड छ तर संयमित छ। सबैले हाम्रो काममा सहयोग गरिरहनुभएको छ।

तपाईंलाई नेपाली चलचित्र उद्योगका बारेमा केही जानकारी छ ?

छैन, तर फुर्सदको समय नेपाली च्यानलहरू हेरेर यहाँका बारेमा जानकारी लिइरहेको छु। बोलि नबुझे पनि इमोसन र एक्सप्रेसनका आधारमा बुझ्ने प्रयास गरिरहेको छु। हाम्रो क्रुमा केही साथी हुनुहुन्छ, जसले यहाँको सिने उद्योगका बारेमा केही बताउनुभएको छ।

तपाईंको पारिश्रमिक नेपाली चलचित्रको सम्पूर्ण बजेटभन्दा पनि निकै बढी हुन्छ। यद्यपि नेपाली चलचित्रमा काम गर्ने प्रस्ताव आएको खन्डमा के अक्षयकुमारलाई दर्शकले नेपाली चलचित्रमा देख्न पाउलान ?

म यहाँका बारेमा धेरै त जान्दिनँ तर राम्रो कामको प्रस्ताव आएको खण्डमा अवश्य काम गर्छु। चित्तबुझ्दो तर सानो भूमिका नै किन नहोस् म तयार छु। म बजेट हेरेर काम गर्दिनँ, हो यहाँको उद्योगले मेरा लागि पेमेन्ट गर्न नसक्ला तर चित्त बुझ्ने भूमिका हुनुपर्‍यो। स्तरीय भूमिकामा यहाँका दर्शकमाझ देखिन पाउनु राम्रो कुरा हो नि। यदि नेपाली चलचित्र उद्योगलाई मेरा तर्फबाट योगदान पुग्छ भने त्योभन्दा राम्रो अरू के हुनसक्छ ?

कुनै दिन बलिउडमा यो सफलता चुम्नेछु भन्ने लागेको थियो ?

मैले कुनै दिन सोचेको थिइनँ, यसप्रकारको सफलता पाउँछु भन्ने। यही क्षेत्रमा निरन्तर सक्रिय रहन्छु भन्ने पनि थिएन। चार-पाँचवटा चलचित्र गरे भने पनि धेरै ठूलो कुरा हुन्छ जस्तो लागेको थियो। भगवान र भाग्यको साथ भन्नुपर्छ म भाग्यमानी ठहरिए, यति धेरै चलचित्रमा काम गर्न पाए। अहिले पनि चलचित्र पाइरहेकै छु। धेरै-धेरै धन्यवाद दर्शकहरूलाई, नेपाली दर्शकहरूलाई पनि। उहाँहरूले  मन पराइदिएकै कारण म आजसम्म सक्रिय छु। यति धेरै काम प्राप्त भैरहेको छ। दर्शकले टिकट काटिदिएकै भरमा हाम्रो जिन्दगी सफल हुने हो।

तपाईंको फिल्मी करियर कस्तो रह्यो ?

मेरो जीवनमा थुप्रै उतारचढाव आए। फिल्मी करियरमा अझ धेरै उतारचढाव आए, खासगरी एउटै भूमिकामा मात्र सीमित भएको भए सम्भवतः मलाई टिक्न पनि गाह्रो हुन्थ्यो। फिल्मी करियरकै कुरामा कतिपय समय एकदमै सफलताको यात्रा गर्दागर्दै पनि कामविहीन भएको अवस्था पनि थियो।

टर्निङ प्वाइन्ट ?

त्यस्तो कुनै टर्निङ प्वाइन्ट त छैन, उतारचढावको यात्रा रह्यो। ३ वा ४ ठूला उतारचढाव भोगें, जसमा विभिन्न टर्निङ आएँ। सुरुवातमा चलचित्र खेलाडी टर्निङ प्वाइन्ट बन्यो। खेलाडी जबर्जस्त चलेकैले यसका हरेक श्रृंखलामा काम गरिरहेको छु र सबैलाई दर्शकहरूले मन पराइदिनुभएको छ।

खेलाडीको यो श्रृंखला समाप्त भयो कि अझै आउँदैछ ?

मलाई थाहा छैन। मैले अहिलेसम्म जम्मा ८ खेलाडी चलचित्रमा काम गरिसकेको छु। हेरौं, भविष्यमा के हुन्छ ? खेलाडी मेरो बलियो पहिचान हो, त्यसैले यसले अरू सिक्वेल जन्माउँदै जान सक्छ।

नेपालबाट खरिद गरेर लानुपर्‍यो भने के किन्नुहुन्छ ?

यहाँ मैले प्रशस्त फेसमास्क (मुखुन्डो) देखें। मलाई फेसमास्क असाध्यै मनपर्ने भएकाले केही फेसमास्क किनेर लाने सोचमा छु। भिन्न मुद्राका भिन्न मास्क लगाउँदा एक प्रकारको आनन्द आउँछ। मेरो घरको एउटा भित्ता छ, जहाँ दर्जनौं मास्क सजाइएका छन्। त्यसको भित्र स-साना बल्ब लगाएको छु, ती रातमा चम्कन्छन्, जसको सौन्दर्य गजबको हुन्छ।

तपाईंहरू फरक-फरक क्यारेक्टरमा प्रस्तुत हुनुहुन्छ, हरेक चलचित्र वा हरेक मुभमेन्टमा फरक-फरक प्रेजेन्टेसनको अक्षयकुमार देख्न पाइन्छ, यहाँ फेसमास्ककै कुरा पनि आउँछ, फरक परिवेशमा फरक ढंगले पेस हुँदाको अनुभव कस्तो हुन्छ ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो, यो मेरो मात्र होइन, सबै मानिसको हकमा लागू हुन्छ। मानिस फरक परिवेशमा, फरक मास्कमा प्रस्तुत हुन्छ। चलचित्रमा धेरै क्यारेक्टरमा काम गरेको हुनाले अक्षयकुमारका मास्क धेरै छन् भन्न सक्नुहुन्छ। मेरा लागि चलचित्रको मास्क त्यतिबेलासम्म रहन्छ, जबसम्म त्यो चलचित्रको काम सकिँदैन, त्यसपछि त्यसलाई त्यही फ्याँकिदिन्छु, घरमा जुन किसिमको मास्कमा रहने हो त्यसमै रहन्छु। बिहान काममा आउने बेलामा फेरि त्यो क्रम दोहोरिन्छ।

स्टारडमका कारण आम मानिस सरह तपाईं सहरबजारमा निस्कन सक्नुहुन्न, यसले कुनै समय त दिक्क लाग्छ होला नि ?

त्यस्तो दिक्क लाग्दैन, सडकमा आममानिसको जस्तो व्यवहार गर्न नसकिएला तर त्योभन्दा धेरै कुरा पनि त पाएको छु नि। अरूले गर्न नपाएका धेरै कुरा मैले पाएको छु। त्यसमा सन्तुष्ट हुने हो। मलाई आफ्नो जिन्दगीसँग कुनै पश्चाताप छैन। यो वा त्यो गर्न पाइनँ भन्ने पनि लाग्दैन। मेरो बुझाइ छ— मैले जिन्दगीमा धेरै कुरा पाएको छु। अर्को कुरा म स्टार एक्टर हुँ तर बिहानै समुद्र किनारमा दौडिरहेको हुन्छु। टोपी, मास्क लगाएको हुन्छु, समुद्रमा पौडी पनि खेल्छु। हो, आममानिस जत्तिको गर्न सक्दिनँ तर पनि पब्लिक स्पेसमा पुग्ने प्रयास गरिरहेको हुन्छु। यद्यपि सूर्योदय भएपछि ती कुरा सम्भव हुँदैनन्।

यतिधेरै सुपरडुपर हिट चलचित्रमध्ये तपाईंको मनलाई छोएको कुनै चलचित्र ? आफ्नो जस्तो अनुभूति हुने चलचित्र ?

थुप्रै छन्, कतिपय चलचित्रमा मेरो आफ्नो रियल क्यारेक्टर पनि प्रस्तुत भैरहेको हुन्छ। त्यतिबेला उक्त चलचित्र आफ्ना लागि बढी अर्थपूर्ण र वास्तविक लाग्छ। केही वर्षअघिको चलचित्र धड्कन म नजिकको चलचित्र थियो, जसमा जुन सीधा-सादा क्यारेक्टर थियो, त्यसमा म आफूलाई सही पाइरहेको थिएँ। त्यो चरित्रले मेरो मनलाई छोएको थियो, म जे छु त्यस्तै नै छु जस्तो लागेको थियो। सादापन, इमोसनल, पर्फेक्ट हसबेन्ड, पर्फेक्ट फादर त्यो चलचित्रमा थियो। धेरै नै राम्रो लाग्छ त्यस्तो क्यारेक्टर।

सुटिङका क्रममा थुप्रै राष्ट्र पुग्नुभएको छ। नेपाल ती राष्ट्रभन्दा के अर्थमा फरक लाग्यो ? नेचुरल ब्युटी  त सबैतिर हुन्छ।

नेचुरल ब्युटी त सबै राष्ट्रमा हुन्छ तर नेपालमा जस्तो 'र-नेचुरल ब्युटी' अन्यत्र पाइँदैन। यसलाई सिगार्ने आवश्यकता पनि छैन, जस्तो छ ठीक छ। यहाँ लोकेसन खोजिरहनै पर्दैन, तपाईं जहाँ पनि मज्जाले काम गर्न सक्नुहुन्छ।

बलिउडमा खानसा'बहरूको वर्चश्वलाई अक्षयकुमारले कसरी लिएको छ ?

म यस्तो कहिल्यै सोच्दिनँ, सबैको आ-आफ्नो बजार छ। कसैको पल्ला भारी वा कसैको कम भन्ने छैन। मेरो सबैसँग राम्रो सम्बन्ध छ। म आज जे छु, आफ्नै मेहनत तथा भाग्यको भरमा छु। आमाबुबाको आशीर्वादले काम गरेको छ। हामी सबै सफल हुनुको मुख्य कारण हामी सोच्छौं, उसको, त्यसको, सबैको चलचित्र चलोस्। यो सकारात्मक भावना नै हाम्रो सफलताको मुख्य आधार हो। जति चलचित्र चल्छ त्यति नै उद्योगमा पैसा भित्रिन्छ अनि त्यो पैसाले अरु चलचित्र बन्ने हो, सबैले काम पाउने हो।

हामी देख्छौं खानसा'बहरूको क्याम्पको जबर्जस्त राजनीति, के भन्नुहुन्छ ?

म क्याम्पमा विश्वास राख्दिनँ, किनभने म क्याम्पमा बस्दिनँ घरमा बस्छु। म आरामसँग बलिउड इन्ड्रस्ट्रीको घरमा रहन चाहन्छु, नकि कुनै क्याम्पमा। सबै नायकसँग राम्रो सम्बन्ध छ। प्रदर्शनको हुने तयारीमा रहेको चलचित्र पगलीमा सलमान र म एउटा गानामा साथमै छौं। यस्तै अमिर खान, शाहरूख खानसँग पनि मेरो उत्तिकै दोस्ती छ। चलेका गिन्तीका १० जना हिरो त छौं बलिउडमा, एकआपसमा किन लड्ने ?

नेपाली दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ ?

यसरी नै मेरा चलचित्रहरू हेरिदिनुस्, जुन ६ मा मेरो चलचित्र होलिडे सार्वजनिक हुँदैछ, सबैले हेरिदिनुहोला। एकदमै राम्रो एक्सन चलचित्र बनेको छ। एकदमै इन्टेलिजेन्ट चलचित्र छ, केही सिक्न पाइन्छ, धन्यवाद सबैलाई।

 

साभार : इकान्तिपुर डट कम