मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो चलचित्र भोगाईको कथा हो - निर्माता सुरेश पहारी

बिष्णु सुबेदी, , २०६८ आषाढ ७, मंगलवार

सुरेश पहारी पर्यटन व्यवसायी हुन् । तर पछिल्लो समय उनको परिचय थपिएको छ । आजभोली उनलाई चलचित्र निर्माताको रुपमा पनि चिन्न थालिएको छ । उनले निर्माण गरेको चलचित्र चलचित्र 'के यो माया हो' साउन २० गते बाट नेपालभर एकसाथ प्रदर्शन हुदैछ । यिनै निर्माता पहारीसँग फिल्मीखबर डटकमका संवाददाता बिष्णु सुबेदीले गरेको कुराकानी :

 

पर्यटन व्यवसायमा लागेको मान्छे चलचित्र निर्माणमा किन ?

म पर्यटन व्यवसायी भए पनि धेरै पहिला देखि यो क्षेत्रसँग जोडीएको थिएँ । मैले धेरै नै म्युजिक भिडियोको निर्देशन गरिसकेको छु । म आफैले खिच्ने र सम्पादन पनि गर्ने गर्दर्थे । त्यस कारण यो क्षेत्र मेरा लागी नयाँ र नौलो होइन तर चलचित्र निर्माणकै कुरा भने नयाँ नै भयो । मैले खासै नेपाली चलचित्र हेर्दिन तर 'मेरो एउटा साथी छ' को बारेमा तपाईहरुबाटै मैले राम्रो बनेको छ भनेर सुने अनि हेर्न गएँ । साच्चिकै चलचित्र राम्रो बनेको रहेछ । त्यो चलचित्र हेरे पछि मलाई लाग्यो चलचित्रले दर्शकहरुलाई फरक स्वाद दिएको छ । हरेक दृष्टिकोणबाट चलचित्र सबल लाग्यो । अनि सोचे हामीले पनि यति स्तरीय चलचित्र बनाउन सक्दा रहेछौ त किन हामी नबनाउने ? यहि सोचाइका साथ म यो चलचित्र निर्माणमा आएको हुँ ।

सुदर्शन थापालाई नै निर्देशकका रुपमा लिनुको कारण ?
सुदर्शनसँग मेरो चिनजान थिएन । तर चलचित्र  'मेरो एउटा साथी छ' हेरे पछि मैले एउटा सक्षम निर्देशकको रुपमा उसलाई मुल्याङन गरेको थिएँ । उसमा जुन क्वालीटि छ त्यो उसैमा मात्र पाए । उसले बिदेशि चलचित्रको हाराहारीमा नेपाली चलचित्र बनाए जस्तो लाग्यो । त्यसैले म जुन सोचका साथ यो क्षेत्रमा आए त्यो सुदर्शनले मात्र पुरा गर्न सक्ने ठानी उसँग सर्म्पर्क गरेर चलचित्र बनाएको हुँ ।

यहाँ त नयाँ निर्मातालाई निर्देशकले मुर्गा बनाउछन् भन्ने हल्ला छ । तपाईलाई त्यस्तो लागेन ?

पैसा छ भनेर जहाँ पायो त्यहि लगानी गर्नु हुदैन । आफुले नबुझीकन लगानी गरेपछि मुर्गा भइन्छ । हुन त मैले पनि चलचित्रकै बारेमा त्यति जानेको थिइन । तर सुदर्शनले मलाई सुरक्षित बनाएर यहाँ सम्म ल्याएको छ । साच्चै भन्ने हो भने व्यवहारमा कसाइ भएकाहरुले चलचित्र बनाउदा निर्माता काटिंदै जान्छ तर मेरो निर्देशक कसाइ हैन त्यसैले उसले मलाई सुरक्षित तरिकाले यहाँ सम्म ल्याएको छ ।


के यो माया हो कस्तो चलचित्र हो ?
दर्शकहरु चलचित्रमा सधै नयाँपन खोजिरहेका हुन्छन् । तर समाजमा नपच्ने खालको नयाँ हैन । हाम्रो शहरमा बढ्दै गएको समस्या नै चलचित्रको बिषय बस्तु हो । मेरो चलचित्र अहिले शहरमा बढ्दै गएको लिभिङ्ग टुगेदरमा आधारीत छ । त्यसैले मलाई लाग्यो यो बिषय हाम्रा लागी नौलो र चुनौती दुबै छ । यो कथा धेरैको भोगाइ हो । यसले दर्शकलाई नयाँ स्वाद दिन्छ ।

चलचित्रको ब्यापारले निरन्तरतामा असर गर्ने त हैन ?

हामीले हाम्रै शहरमा विकसित हुँदै गएको समस्यालाई लिएर चलचित्र बनाएका हौ र यस्तै चलचित्र बनाउछौ । जहाँ सम्म निरन्तरताको प्रश्न छ । सबैले आ-आफ्नो डियुटि राम्रोसँग पूरा गर्ने हो । निर्माता बने पछि राम्रो निर्माण गर्नु पर्दछ र त्यो मैले गरेको पनि छु जस्तो लागेको छ । हामी बाली लगाउदा केही केही उब्जनी हुन्छ भनेर नै बाली लगाउछौ तर बिचैमा असिना आएर चुटेर उब्जनी भएन भने अर्को मौसममा हामी बाली लगाउन छोड्दैनौ । त्यसैले चलचित्रको व्यापारलाई हेरेर चलचित्र निर्माण नगर्ने हैन । मैले निरन्तर चलचित्र निर्माण गर्दै जानेछु ।


अन्तमा फिल्मीखबरको माध्यमबाट कसैलाई केही भन्नुहुन्छ ?

चलचित्र 'के यो माया हो' सबैलाई पच्ने गरेर बनाएका छौ । कथाले मागे अनुसारकै प्रस्तुति रहेको छ । चलचित्र निर्माणमा कुनै कम्प्रमाइज गरेका छैनौ । यो हाम्रै समाजमा घटेको यथार्थ घटनामा आधारित छ । यो मेरो पहिलो चलचित्र भएकाले तपाईको उपस्थितिले अर्को चलचित्र बनाउन मेरा लागी हौसला बन्नेछ । सञ्चारकर्मीहरुले आफ्नो धर्म राम्रो सँग निभाइदिनु होला । जस्ताको तस्तै सहि विवरण स्रोता, दर्शक, पाठक, समक्ष पुर्‍याइदिनु होला । आफ्नो नाम नै लुकाउन पर्ने गरी समाचार सम्प्रेसण नगर्नु होला । कृपया आफुले लेखेको समाचार सँगै आफ्नो नाम लेख्नु होला ।