मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.71/5.00)
Text size:-
+
-

`हेमाकै लागि फिल्म बनाएको हुँ` : हँसिया निर्देशक

फिल्मीखबर, काठमाण्डौ, २०७१ वैशाख ३, बुधवार

एक सय बढी म्यूजिक भिडियोका निर्देशक हुन्, मिलन चाम्स । करिब ७ वर्ष अघि मिलनले ‘पश्चताप’ नामक प्रयोगात्मक फिल्म निर्देशन गरेका थिए । म्यूजिक भिडियो र प्रयोगात्मक फिल्मको निर्देशक चाम्स यतिबेला भने फिल्म ‘हँसिया’ मार्फत कर्मसियल फिचर फिल्मको निर्देशनमा डेव्यु गरेका छन् । आउँदो जेठ ९ गते प्रदर्शन हुने ‘हँसिया’को प्रचार प्रचारमा व्यस्त निर्देशक मिलन चाम्ससँग फिल्मीखबरका उत्सव रसाईलीले कुराकानी गरेका छन् ।

 

लामो सयमपछि फिल्म निर्देशनमा फर्कनु भयो नि !

फिल्म निर्देशनको सही समय पर्खदैं थिएँ । २५ वटा जति भिडियो गरेपछि बिचको समयमा फिल्म पढें । फिल्म निर्देशनका लागि फिल्म सम्पादन र छायाँकनको ज्ञान हुन आवश्यक छ । निर्देशनमा निस्कदा ब्लास्ट भएर निस्कने सोच थियो । त्यही भएर लामो समयपछि ‘हँसिया’ मार्फत हाम फालें ।

 

किन एक्सनमै हाम फाल्नु भएको ?

म मार्सलआर्टको खेलाडी हुँ । रोनाधोना र लभ स्टोरीका फिल्महरु बजारमा प्रशस्तै छन् । रेखा थापाले एक्सन गर्नुहुन्छ, उहाँको आफ्नै प्याटर्न छ । हेमा श्रेष्ठ तक्वन्दोको थर्ड डन हो । म आफैं पनि र हेमा खेलाडी भएका कारण ‘हँसिया’ एक्सन शैलीको हुन गयो ।

 

भनेपछि आफ्नो खेलप्रतिको मोहलाई फिल्ममा ढाल्नु भयो ?

मुख्य कुरा मार्केट हो । मैले मार्केटलाई विश्लेषण गरेर ‘हँसिया’ बनाएको हुँ । फिल्म बजारमा फिमेल (महिला) एक्सनलाई बढी रुचाइन्छ । जस्तै रेखा थापालाई नै हुर्नुस् न, उहाँका एक्सन फिल्म आजसम्म पनि सफल भैरहेका छन् ।

 

उसो भए चलेकै रेखा थापालाई चाहिं ‘हँसिया’ मा किन लिनु भएन ?

लिन्छु भनेर मात्रै पनि भएन । समय र सम्बन्धको कुरा आउँछ । हेमाले ‘हँसिया’ मा जुन प्रकारको एक्सन गर्नुभएको छ त्यो एक्सन रेखा थापाजीले गर्न उहाँको शारीरिक संरचनालाई परिवर्तन गर्नुपर्ने हुन्छ । अब उहाँले मेरो फिल्मको लागि आफ्नो शारीरिक संरचनालाई परिवर्तन गर्नुहुन्छ कि हुँदैन भन्ने कुरा हो । तर, हेमा बहिनीले ‘हँसिया’ मा हामीले सोचे भन्दा निकै राम्रो काम गर्नुभएको छ ।

 

‘हँसिया’ त हेमाजीकै लागि पो बनाउनु भएको रहेछ !

हो, मैले ‘हँसिया’ हेमाकै लागि बनाएको हुँ । कलाकारलाई हेरेर फिल्म चलन नेपालमा एकदमै कम छ । मैले हेमालाई हेरेर ‘हँसिया’ को कल्पना गरें । मेरो कल्पनालाई हेमाले पूर्णता दिएकी छन् ।

 

त्यही भएर बजारमा पनि तपाइँ र हेमाजीबिच खास सम्बन्ध रहेको हल्ला चलेको रहेछ ?

बजारमा जुन हल्ला चलेको छ । त्यो चाहिं गलत हो । हामीबिच दाजु र बहिनीको सम्बन्ध छ । हेमाले मलाई भाईटिका लगाइदिएकी छन् । हाम्रो सम्बन्ध स्वच्छ छ ।

 

राजेश हमालको बजार छैन भन्छन्, उहाँलाई किन लिनुभयो ‘हँसिया’ मा ?

उहाँलाई मैले मर्कसियल हिसाबले लिएको हुँ । जसले जे भनेपनि उहाँको आफ्ना दर्शक छन् । ‘हँसिया’ मा निभाउनु भएको भूमिकामा उहाँ बाहेक अरु उचित कलाकार अरु पाइन । फिल्मकै लागी भनेर मैले उहाँको लामो कपाल कटाएँ । ‘हँसिया’ रिलिज भएपछि राजेशजीलाई हेर्ने नजर फरक हुन्छ ।

 

हमालजीको भूमिकालाई अझै प्रष्ट्याई दिनुस् न ।

‘हँसिया’ मा उहाँ साउथ इन्डियन प्याट्रनमा प्रस्तुत हुनुभएको छ । फाईट भन्ने वित्तिकै हात र खुट्टा नै चल्ने हो । तर हामी हात र खुट्टाले फाइट हान्ने शैलीमा फरकपन दिएका छौं । हमालजीको व्यक्तित्व र वजनलाई आधार बनाएर ‘हँसिया’मा उहाँलाई प्रस्तुत गरेका छौं । उहाँ सिआइडी चिफको भूमिकामा हुनुहुन्छ ।

 

‘हँसिया’का दर्शक चाहिं कुन वर्गका हुन् ?

मल्टिप्लेक्स र सिङ्गल दुवै हलका दर्शकलाई हामीले लक्षित गरेका छौं । ‘हँसिया’को निर्माण शैली फरक खालको छ । मोफसलका दर्शकको ध्यान मेकिङ भन्दा पनि मनोरञ्जनप्रति बढी जान्छ । काठमाण्डूका दर्शकले मेकिङ र मनोरञ्जन दुवै हेर्छन् । हाम्रो फिल्ममा मेकिङ र मनोरञ्जन दुवै छ ।

 

प्रोमो हेर्दा त तपाइँले भनेजस्तो मोफसलका दर्शकले सजिलै फिल्म बुझ्छन् जस्तो लाग्दैन ।

‘हँसिया’ मा एक्सनलाई यसरी खिचिएको छ कि दर्शकले त्यो हेरेरै मजा लिन सक्छन् । बलिउड र हलिउडसँग दाँज्न त मिल्दैन तर मोर्डन फिल्म हेर्ने बानी परेका दर्शक 'हँसिया' हेरेर दंग हुनेछन् ।

 

फिल्मको विषय चाहिं के हो ?

सामाजमा घट्ने अपराध र अपराधमाथि हुने अनुसन्धानमा ‘हँसिया’ आधारित छ । हामी समाज बाहिर गएर फिल्म बनाएका छैनौं ।

 

फिल्म खिच्न धेरै खर्च लगाउनु भएछ, लगानी कसरी उठ्छ ?

म फिल्म क्षेत्रमा पैसा कमाउँछु भनेर आएको हैन । पैसा कमाएर फिल्म बनाउन आएको हुँ । लगानीको आधा हिस्सा विदेशमाबाट उठिसक्यो भन्दापनि हुन्छ । आधा नेपालबाट उठ्यो भने हामीले ‘हँसिया’मा लगाएको डेढ करोड रुपैयाँको लगानी सजिलै उठ्छ ।

 

लगानी कसरी डेढ करोड पुग्न गयो ?

‘हँसिया’ मा हामीले सकेसम्म कुनै पनि कुरामा कम्प्रमाईज गरेका छैनौं । आवश्यक भएर नै हामीले यती धेरै रकम लगाएका हौं । सुटिङमै हामीले झन्डै एक सय दिन लगायौं । अर्को कुरा नेपाली फिल्ममा 'छ्याकन' हान्ने व्यक्ति धेरै भेटें । नेपाली फिल्म माथि उठ्न नसक्नुको कारण नै 'छ्याकन' हान्ने व्यक्तिले गर्दा रहेछ । म पनि त्यस्ता व्यक्तिबाट केही प्रभावित हुन पुगें ।

 

अर्को फिल्म निर्देशन नगर्ने ?

चाम्स इन्टरटेनले फिल्म निर्माणमा निरञ्तरता दिइ रहनेछ । अर्को फिल्ममा चाहिं लगानी कम गरेर निर्देशन आफैं गर्छु । नाफा घाटा त भै नै रहन्छ ।