मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

`म फरक खालको राम्री छु` : दिया मास्के

उत्सव रसाईली, काठमाण्डौ, २०७० चैत्र १, शनिवार

अभिनेत्री दिया मास्के अभिनित ७ औं फिल्म ‘फिटकिरी’ चैत ७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । भुषण दाहाल निर्देशित ‘कागबेनी’ फिल्मबाट फिचर फिल्मको अभिनय प्रारम्भ गरेकी दिया फिल्मको पात्र अनुसार जिवन्त भएर प्रस्तुत हुन्छिन् । समलिङ्गी युवातीको ‘सुनगाभा’ होस् या सेक्स साइक्लोजीको ‘साँघुरो’, पात्र अनुसार दिया पर्दामा खरो रुपमा उत्रिएकी छिन् । निर्देशक अनुप बरालसँग चाँडै नै लगनगाँठो कस्ने तयारीमा रहेकी अभिनेत्री मास्केसँग फिल्मीखबरले बिशेष कुराकानी गरेको छ ।

 

तपाईंले एउटा साप्ताहिक पत्रिकामा ‘म हिरोइन हैन’ भनेर अन्र्तवार्ता दिनु भएको रहेछ । किन त्यसो भन्नुभएको ?

हिरोइन भनेपछि एउटा ट्याग लगाइन्छ । जतिबेलै राम्री नै देखिनुपर्ने । ग्ल्यामरस देखिनु पर्छ । डाँडाकाँडा नाच्नु पर्ने भन्ने हुन्छ होला । त्यो ईमेज त मेरो बनेकै छैन । म कसरी हिरोइन ? म अभिनेत्री हुँ ।

 

आफुलाई कत्तिको राम्री ठान्नुहुन्छ ?

म राम्री छु । तर जहिलेपनि पात्रमा राम्री नै देखिन्छु भन्ने छैन । हिरोइनको जुन ट्याग लगाइदिएको छ नि, यस्तै खालको राम्री भनेर म यस्तै खालको राम्री चाहिं छैन । म फरक खालको राम्री छु । सायद म नराम्रोमा पनि सुन्दर देखिन्छु ।

 

उसो भए सुन्दरता के हो त ?

सुन्दरता व्यक्तिको नजरमा हुन्छ । अनुहारमा हैन । तपाईंलाई राम्रो लाग्ने व्यक्ति मलाई नराम्रो लाग्न सक्छ । त्यसैले सुन्दरताको एउटा निश्चित परिभाषा हुन्छ जस्तो मलाई लाग्दैन ।

 

तपाईंलाई संसारमा सबैभन्दा सुन्दर लाग्ने व्यक्ति को हो ?

मलाई मेरी आमा संसारकै सुन्दर लाग्नु हुन्छ । आमा जस्तो राम्रो त मलाई ऐश्वर्य राय पनि लाग्दैन । अनुहार राम्रो मात्रै हुने मलाई राम्रो लाग्दैनन् । अभिनयकै कुरा गर्ने हो भने पनि अनुहार नराम्रो भएर राम्रो अभिनय गर्ने व्यक्ति मलाई मन पर्छ ।

 

आफ्नै गुरू अनुप बरालसँग बिहे गर्दै हुनुहुन्छ । गुरू चेलीको सम्बन्ध कसरी बिहेसम्म पुग्यो ?

उहाँसँग लामो समय सँगै काम गरें । घरमा बिहेको कुरा चल्यो । दुवैको घरमा एक अर्काको परिचय भयो । घरबाट ‘ओके’ भैसकेपछि हामीले बिहे गर्ने निर्णय गरेका हौं । चिनिएको ७ वर्षपछि हामीले बिहे गर्ने कुरा चलाएका हौं ।

 

कुन पक्षले तपाईं अनुपजीप्रति आकर्षित हुनुभयो ?

मलाई परिपक्वता भएको व्यक्ति मन पर्छ । मलाई पहिलादेखि नै आफु भन्दा परिपक्व र बढी उमेरको व्यक्ति जीवनमा होस् भन्ने लाग्यो । म अलि रिसाहा स्वभावको छु । ममा कति कुरामा बचपना पनि छ । सायद मेरो स्वभावलाई सन्तुलन गर्ने व्यक्ति पाएँ । एक अर्कालाई विपरित कुराले आकर्षण गर्छ भनेजस्तै सायद अनुप सरसँग त्यो कुरा पाएँ होला ।

 

माया के रहेछ त ?

आफ्नो भन्दा अरुको बारेमा सोच्नु माया हो जस्तो लाग्छ । आफ्नो स्वार्थ भन्दापनि उसलाई ठिक लाग्छ कि लाग्दैन ? भन्ने कुरा सोच्नु माया हो ।

 

अनुपजी विवाहित हुनुहुन्छ भन्ने कुरा तपाईंलाई थाहा थियो ?

मलाई थाहा थियो । उहाँको श्रीमतीसँग सम्बन्ध बिच्छेद भैसक्यो । उहाँको पहिलोको श्रीमती मेरो गुरू पनि हो । डिभोर्स पछाडी मैले उहाँलाई भेटेको पनि छु । उहाँसँग राम्रो कुरा पनि गरेको छु । उहाँ मेरो राम्रो साथी पनि हो ।

 

‘फिटकिरी’ रिलिज हुँदैछ । कत्तिको उत्साहित हुनुहुन्छ ?

मेरो यो सातौं फिल्म रिलिज हुँदैछ । पहिलो फिल्म रिलिज हुँदा जत्तिको उत्साह चाहिं नहुदो रहेछ । तर, डर चाहिं हुने रहेछ । जति अगाडी बढ्दै गयो त्यती दायित्व बढ्ने हुनाले एक खालको डर हुँदो रहेछ ।

 

 

डर चाहिं किन नि ?

फिल्म कस्तो होला ? दर्शकले मन पराउलान् या नपराउला ? भन्ने डर छ । म पनि मानव हुँ । आफुले गरेका काममा कसैले प्रशंसा गरिदिओस् जस्तो लाग्छ ।

 

‘फिटकिरी’बाट प्रशंसा पाउने सम्भावना के छ ?

 

प्रशंसा पाउने सम्भावना धेरै भएरै सायद यो फिल्म खेलेको हुँ । त्यस्तो कुनै खालको 'स्कोप' नभैदिएको भए मैले यो फिल्म गर्ने थिइँन । त्यसैले प्रशंसा पाउने आशा पनि छ ।

 

‘फिटकिरी’मा तपाईंको भूमिका कस्तो छ ?

एउटा साधारण केटी हुन्छें तर उस्को सपना ठुलो छ । यो क्यारेक्टर एउटा ज्याज डान्सर हो । उसले ज्याज डान्समै केही गर्ने कोशिस गर्छ ।

 

तपाईं नृत्य गर्नुहुन्थ्यो । नृत्यबाट कसरी अभिनयमा फड्को मार्नुभयो ?

म अभिनयमा लाग्नुमा अनुप बराल र नविन सुब्बाको ठुलो हात छ । म म्युजिक भिडियो खेल्थें । आलोक नेम्वाङले निर्देशन गरेको ‘भिज्यो सिरानी...’ बोलको म्यूजिक भिडियो उहाँहरुले हेर्नु भएको रहेछ । उहाँहरुलाई ‘दलन’ टेलिफिल्मको लागि एउटा ‘काली’ भन्ने क्यारेक्टर चाहिएको रहेछ । मलाई अडिसनमा बोलाइयो । त्यहाँ पास भएपछि मैले ‘दलन’मा अभिनय गरें । तर अभिनयमा आउने मेरो पहिल्यैदेखिको सोच चाहिं थिएन । अभिनय गर्न सक्छु जस्तो पनि लागेको थिएन । तर, दलन गरेपछि र एक्टर्स स्टुडियोमा क्लास सिकेपछि अभिनय गर्न सकें । पछि लाग्यो अभिनय भन्ने कुरा धेरै नै गम्भिर विषय रहेछ लाग्यो ।

 

अहिले प्रायः कलाकार थिएटरबाट फिल्म खेल्न पुगेका छन् । तपाईं चाहिं फिल्म खेलेपछि थिएटरमा जानुभएछ । किन ?

यो गरिसक्यो फेरी किन गर्ने ? भनेर म कहिले पनि सोच्दिन । जे गर्न मन लाग्छ म गर्छु । मलाई फरक पर्दैन कि म के गरिरहेको छु । मेरो ईमेज के हुन्छ भनेर म सोच्ने गर्दिन । यस्ता कुरामा मेरो टाउको दुख्दैन ।

 

उसो भए फिल्म र म्युजिक भिडियोमा चाहे जस्तो सफलता नपाएर रंगमञ्चमा फर्कनु भएको हो ?

त्यस्तो भन्न मिल्दैन । जब मैले थिएटर गरें मैले अभिनय गरेका फिल्म र ‘दलन’ टेलिफिल्म पनि रिलिज भएको थिएन । जब मैले थिएटरको ट्रेनिङ लिएँ । ट्रेनिङ लिएपछि थिएटर गर्नै पर्थ्यो र मैले गरें पनि । म नाटक गर्दै थिएँ, मेरो फिल्म र टेलिफिल्म रिलिज भए । मैले अभिनयमा राम्रो प्रशंसा पाएँ । त्यतिबेलासम्म मलाई नाटक गर्ने चाख लागिसकेको थियो ।

 

हरेक फिल्ममा तपाईंको भूमिका प्रायः भिन्न खालको हुन्छ, किन ?

भिन्न-भिन्न भूमिका पाएर नै अभिनय गरिरहेको छु । राम्रो छ भने म एउटा सानो भूमिका पनि गर्न तयार छु । तपाईंले मलाई नेगेटिभ भूमिकामा पनि देख्न सक्नुहन्छ । जेमा पनि देख्न सक्नुहुन्छ । मैंले भनिसकें कि म एउटा मात्रै ईमेज बोकेर हिड्न चाहान्न । मैले 'दलन'मा चालिसदेखि १९ वर्षको भूमिकालाई आँटे । अब त अभिनयमा मेरो धेरै समय बितिसक्यो । त्यसैले एउटा मात्रै ईमेज बनाउने भन्ने कुरै आउँदैन । दर्शकलाई धेरै कुरा देखाउन बाँकी छ ।