मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

ख्याल ख्यालमै हिरो भएँ : मुकेश आचार्य

फिल्मीखबर, , २०६७ फाल्गुन २३, सोमवार

चलचित्र 'तिमी मात्र तिमी' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक मुकेश आचार्यले पछिल्लो पटक अभिनय गरेको चलचित्र 'म बिर्सुं कसरी' प्रदर्शनको क्रममा रहेको छ । 'तिमी मात्र तिमी' चलचित्रमा अभिनय लग्गतै उनले 'बसमा छैन यो मन', 'नाइ नभन्नु ल' र 'कोही त छ' मा अभिनय गरिसकेका छन् भने चलचित्र 'सन्त्रास' छायाँकनको क्रममा रहेको छ । यसैगरी अर्को चलचित्र 'बिकज आई लभ यू' को छायाँकन छिट्टै नै शुरू हुँदैछ । केहि दिन अघि मात्र चलचित्र 'म बिर्सुं कसरी' को छायाँकन स्थलमा भेटिएका नायक आचार्यसँग फिल्मीखबरले गरेको कुराकानी -

 

चलचित्र क्षेत्रमा कसरी पाईला बढाउनु भयो  ?
महेन्द्र बुढाथोकीले निर्देशन गरेको टेलिचलचित्र 'करूणा' मा अभिनय गरेपछि मेरो अभिनय यात्राको ढोका खुलेको हो । त्यसपछि मैले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेपछि मात्र चलचित्रमा अभिनय गर्ने मौका पाएँ । शुरूमा अभिनय रहर थियो तर अहिले यो पेशा पनि बनेको छ । हुनत मैले कुनै अभिनयको तालिम लिएको पनि छैन र चलचित्रमा प्रवेश गर्नु अगाडी कुनै स्टेज कार्यक्रममा पनि काम गरेको थिईन ।  तर मलाई भगवानले अभिनय गर्न सक्ने खुबी दिएको जस्तो लाग्छ ।

 

हिरो नै हुन्छु भन्ने सोच्नु भएको थियो ?
म त जीवनमा हिरो हुन्छु जस्तो कहिल्यै लागेको थिएन । म ख्याल ख्यालमै हिरो भएको हुँ । मलाई हिरो बन्न कुनै संघर्ष गर्न परेन तर यो हैन कि म अभिनयमा दक्ष छु । मैले त चलचित्रमा लागेर धेरै कुरा सिक्नुछ ।

 

अभिनयमा लाग्न कस्ले प्रेरणा दियो ?
म मेरो दाजुको प्रेरणाले गर्दा यो क्षेत्रमा लागेको हुँ । मेरो दाजुको चलचित्र क्षेत्रमा लाग्ने ठूलो इच्छा थियो तर उहाँले आफ्नो इच्छा पूरा गर्न नसकेपछि मलाई यो क्षेत्रमा लाग्न प्रेरित गर्नुभएको हो । आज म उहाँकै प्रेरणाले यो स्थानमा पुग्न सफल भएको छु ।

 

हिरो भईसकेपछि के कस्ता समस्या आउने रहेछन् त ?
कला क्षेत्रमा लागे पछि आफ्नो व्यक्तिगत जीवनलाई बलि चढाउनु पर्ने नै रहेछ । हिरो नहुँदाका दिनमा म जसरी खुलेआम हिंड्थें आज म त्यसरी हिंड्न सक्दिन । साथीभाईसँग चाहेको स्थानमा बसेर रमाईलो गर्न पनि सकिन्न । आफूलाई निकै मेन्टेन गर्नुपर्ने रहेछ । यि यस्ता थुप्रै समस्याका बाबजुत पनि यो क्षेत्रमा लाग्नु एउटा नशा नै हो । अब त म चाहेर पनि यो क्षेत्र छोड्न सक्दिन होला ।

 

आज हिरो भईसकेपछि बालसखीहरूले भेट्दा के भन्छन् ?
आफ्नो साथी हिरो भएकोमा खुसी व्यक्त गर्छन् । मसँग गफ गर्न र रमाईलो गर्न निकै उत्सुक हुन्छन् । म पनि उनीहरूसँग बसेर रमाईलो गर्न निकै उत्सुक हुन्छु ।
 

त्यसो भए यो क्षेत्रमा लागेर सन्तुष्टी पाउनु भएको छ हो ?
अलिअलि नाम अनि अलि अलि दाम कमाएको छु । सन्तुष्टी नै छु भन्दा हुन्छ ।

 

हिरो भएपछि त महिला फ्यानले निकै पछ्याउँछन् रे नि !
विपरित लिङ्गीहरू आकर्षित हुनु खासै नौलो कुरा हैन जस्तो लाग्छ ।

 

माया प्रेममा पर्नु भएको छ कि ?
(हाँस्दै) फ्यानसँग ? पहिला कसैलाई प्रेम गर्थें तर अहिले उनी मबाट टाढा छिन् । उनले छोडेर गएपछि म अरू कसैको प्रेममा परेको छैन र अब त प्रेम गर्ने उमेर पनि छैन जस्तो लाग्छ ।

 

के कारणले गर्दा प्रेमबन्धन टुट्न पुग्यो त ?
उनलाई म यो क्षेत्रमा लागेको मन पर्थेन तर म यो क्षेत्र छोड्न चाहन्नथें । त्यसैले चलचित्र क्षेत्र नै हाम्रो प्रेमको बाधक बन्यो ।
 

 

बिबाह गर्ने सोच छैन ?
ज्योतिषले २०६७ साल भित्रमा बिहे गरे गर्नुस् नत्र ३५ बर्ष पुगेपछि मात्र बिहे गर्न राम्रो हुन्छ भन्नु भएको छ । अब २०६७ सालमा बिहे गर्ने त्यस्तो कुनै तयारी छैन । त्यसैले अब ३५ बर्ष पुगेपछि मात्र बिहे गरिन्छ होला । मलाई बिहे गर्ने रहर पनि छैन । पहिला आफ्नो करियर बनाउँछु अनि मात्र बिहेको बारेमा सोच्ने छु ।

 

अन्तमा तपाईले अभिनय गर्नुभएको चलचित्र 'म बिर्सुं कसरी' को बारेमा के भन्न चाहनुहुन्छ ?
यो चलचित्र आगामी चैत्र २५ गते सार्वजनिक हुँदैछ । यसमा म बदलाको भावनामा देखिएको खलपात्रको भुमिका निर्वाह गरेको छु । एक पटक चलचित्र हेरिदिनुस् अनि मेरा राम्रा र नराम्रा पक्षहरूका बारेमा मलाई सल्लाह र सुझाव दिन नभुल्नु होला । धन्यवाद !