मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.30/5.00)
Text size:-
+
-

नाटक गर्दा राजेश हमाल नाङ्गै

फिल्मीखबर, काठमाण्डौ, २०७० मंसिर २६, बुधवार

अभिनेता राजेश हमालले स्टेजमा नाटक मञ्जन गर्दा कलाकार नाङ्गै हुने प्रतिक्रिया दिएका छन् । फिल्ममा भुलसुधारको मौका हुने भएपनि नाटकका कलाकारलाई भने त्यस्तो मौका नहुने उनले तर्क पेश गरे । केही सातादेखि अनुप बराल निर्देशित 'कोर्ट मार्सल' नाटकमा व्यस्त राजेशले भने- 'नाटकमा कि त ताली पाइन्छ कि त गाली र गोलभेंडा ।' त्यस्तै अभिनेता हमालले प्रेमिका मधु भट्टराईसँग जाडो महिना नबित्तै लगनगाँठो कंस्ने समेत बताए । लाजिम्पाटस्थित थिएटर भिलेजमा हरेक साँझ ५ बजेदेखि ७ बजेसम्म 'कोर्ट मार्सल' नाटक मञ्चनमा व्यस्त अभिनेता राजेश हमालसँग फिल्मीखबरले गरेको कुराकानी यस्तो छ -

 

राजेश हमाललाई रंगमञ्चले मागेको हो कि रंगमञ्चलाई राजेश हमालले मागेको ?

ईच्छा नभइकन त मागेर मात्र पनि कहाँ हुन्छ र ? बाहिर हेर्दा मैंले एक्कासी नाटक गरेको देखिएला । तर, मैले ईच्छा चाहिं पहिल्यै जगाएको थिएँ । म नाटकको दर्शक पनि हुँ । बिदा पनि मिल्यो । रिहलसर्ल गरियो । तर, समय चाहिं धेरै लाग्दो रहेछ । पहिला गर्छु भनिहालें । नाटकको शो त महिना दिनसम्मै चल्ने रहेछ । ५ देखि ७ बजेसम्म अफिस आ'को जस्तो भएको छ ।

 

फिल्म नचलेर राजेश हमाल नाटकतिर लागेको भन्ने आरोपलाई तपाई स्विकार्नु हुन्छ ?

त्यस्तो हैन । म त समयको अभाव हुँदाहुँदै पनि नाटक खेल्न मिलाइ रहेको छु । केही दिन अगाडीसम्म 'हँसिया' फिल्मको सुटिङ थियो । केही दिनपछि अर्को नयाँ फिल्म सुरु गर्दैछु । बदलिएको समयमा पहिला जस्तो म वर्षको १५ वटा फिल्म त गर्दिंन । कुनै पनि कलाकारले त्यसरी गर्ने गर्ने माहोल पनि छैन । समय अनुकुल भएर मात्रै नाटक खेलेको हुँ ।

 

क्यामेरा अगाडी र प्रत्यक्ष दर्शकको अगाडी अभिनय गर्दा के फरक हुँदोरहेछ ?

नाटकमा ध्यानलाई एकदमै केन्द्रित गर्नुपर्ने रहेछ । आफ्नोसँगै सह-कलाकारको संवाद पनि सम्झनु पर्ने । हिजो गरें, आज गरें भनेर मात्रै पनि नहुने रै'छ । नाटकको लागी हरेक साँझ नयाँ र चुनौतीको बन्ने रैछ । फिल्ममा चाहिं अलि चुनौती कम हुन्छ, गल्ती भैहाल्यो भनेपनि फेरी गर्रौ न त भन्न मिल्छ । स्टेजमा त कि ताली पाईन्छ कि त गालीको साथमा टमाटर खाइन्छ ।

 

नाटकमा दर्शकको प्रतिक्रिया चाहिं कस्तो पाउनु भएको छ ?

धन्य ! अहिलेसम्म दर्शकको प्रतिक्रिया राम्रो पाएको छु । शिर्षक 'कोर्ट मार्सल' भएपनि नाटकमा भावानात्मकसँगै दर्शक हँसाउने पाटो पनि छ ।

 

पहिलो दिन नाटक मञ्चन गर्दा कस्तो महसुश भएको थियो ?

हामीले नाटकमा गर्नुपर्ने ग्रान्ड रिहर्सल गरेका थिएनौं । ग्रान्ड रिहर्सल नै हाम्रो पहिलो शो भयो । ड्रेस र लाइटसँग पहिलो पटक प्रस्तुत हँदा हामी केही नर्भस भने थियौं । नाटक राम्रो भयो । तर, राम्रो गर्ने चुनौती चाहिं कायमै नै छ ।

 

सुरुमा लामो-लामो संवाद सम्झेर रिहर्सल गर्दा भो नाटक गर्दिन भन्ने भावना आएन ?

हैन, त्यस्तो भएन । एउटा कलाकार भएको नाताले मैंले यसलाई चुनौतीको रुपमा लिएँ । मलाई नाटक गर्न पनि मन थियो । अभिनय एउटै भएपनि फिल्म र नाटकको विधा चाहिं फरक छ । थिएटरमा राम्रो गर्न संवाद बुझेर आफ्नै शैलीमा ढाल्न सक्ने खुबी हुनुपर्ने रहेछ, ताकी संवाद आफ्नो आत्माबाट निस्किएको जस्तो सुनियोस् । सुगा रटाइ जस्तो भए त त्यस्लाई सम्झने मात्रै हुन्छ ।

 

नाटक र फिल्ममा अभिनय गर्ने कलाकार बिच चाहिं के फरक पाउनु भयो ?

नाटक कलाकारको विधा हो भने फिल्म निर्देशकको विधा । फिल्ममा अभिनय गर्दा निर्देशक अगाडी बसीरहेको हुन्छ । अभिनयमा केही खराबी देखियो भने कट् कट् भैहाल्छ । नाटकमा चाहिं के छ भने निर्देशकले जति नै रिहर्सल गराए पनि अन्तिममा स्टेजमा जाने त कलाकार नै हो । फिल्ममा एक खालको इमेज पनि हुन्छ । कुनै फिल्ममा दर्शक राजेश हमालले 'हे' नै भनेन भनेर रिसाएर जान सक्छन् । फिल्ममा धेरै प्राविधिक पक्ष हुन्छन् । सानो आवाजलाई पनि ठुलो सुनिने बनाउन मिल्छ । यहाँ त आफुसँग जे छ त्यही नै हो । नाटकमा दर्शकका अगाडी हामी नाङ्गो हुन्छौं ।

 

तपाइँले बढी आत्मा सन्तुष्टि फिल्मा पाउनु भयो कि नाटकमा ?

फिल्ममा सन्तुष्टी नहुने भन्ने हैन । फिल्ममा अभिनय गरेको र प्रतिक्रिया आउने ग्याप धेरै नै हुन्छ । नाटकमा चाहिं सकिने वित्तिकै प्रत्यक्ष प्रतिक्रिया पाइन्छ । तर, कलाकारलाई फिल्ममा भन्दा स्टेजमा बढी चुनौती छ । र, मलाई लाग्छ कलाकारले स्टेजको अनुभव पनि बेलाबेलामा लिनुपर्छ । विदेशतिर पनि यस्तै हुन्छ । अभिनयमा निखार ल्याउन पनि नाटक गर्नुपर्ने मेरो बुझाइ हो ।

 

भोलिका दिनमा नाटकलाई निरञ्तरता दिने कुरामा तपाइँ के भन्नुहुन्छ ?

म फिल्मी कलाकार हुँ । मलाई स्टेजको कलाकार भन्न मिल्दैन । वर्षमा २/३ वटा नाटक चाहिं गर्छु होला । तर, नियमित चाहिं गर्दिंन । म फिल्मबाट टाढा रहन सक्दिन ।

 

नाटकमा तपाइँलाई गर्न मन लागेका कुनै त्यस्तो भूमिका छ ?

मलाई नाटकमा 'कोर्ट मार्सल' भन्दा अतिरञ्जित भूमिका गर्न मन लागेको छ । फिल्ममा अतिरञ्जित भूमिका गरयो भने झुर देखिन सक्छ । तर, नाटकमा अतिरञ्जित क्यारेक्टर गर्दा कला जस्तो देखिन्छ । जस्तै सेक्सपियरले लेखेका नाटकका पात्रहरु बन्न मन लागेको छ ।

 

पछिल्लो समय फिल्म घरहरु खाली जस्तै छन् । तर नाटक घरहरु चाहिं हाउसफूल छन्, तपाइँ के भन्नुहुन्छ ?

नाटक हेर्न आउने ९५ प्रतिशत दर्शक चाहिं नाटकको पारखी हुन्छन् । नाटकको विषय, कला र भावले उनीहरुलाई आकर्षण गर्छ । उनीहरु नाटक हेर्दा आनन्द महसुश गर्छन् । यी दर्शक हरेक नाटक हेर्न आउनुहुन्छ । अर्को कुरा फिल्म नचल्ने भन्ने हैन । नेपाली फिल्म एउटा मोडबाट गइरहेको छ । पहिला दर्शकले सामाजिक विद्रोह, थिचोमिचो बारे बोल्ने फिल्मलाई मन पराउँथे । अहिले समयसँगै दर्शकको स्वाद परिवर्तन भएको छ । पहिलाका विषयवस्तुलाई तन्क्याइ रहन पनि सकिंदैन । नयाँ विषयवस्तु पनि ठम्याउन सकिरहेका छैनौं । तर राम्रो फिल्म चलेको उदाहरण हामीसँग छ ।

 

अब दर्शकले तपाइँलाई कहिलेसम्म नाटक या फिल्ममा देख्न पाउनुहुनेछ ?

(हाँस्दै), जवानी निर्खीन धेरै बाँकी छ । निर्खीसकेपछि टक्टकाउने क्रममा पनि हुन्छु । अभिनयको क्रम चलिनै रहन्छ ।

 

तपाइँले फिल्म निर्देशन गर्ने भन्ने कुरा चाहिं कहाँ पुग्यो नि ?

फिल्म निर्देशन गर्ने मेरो सोच छ । चुनौती धेरै छन् । बनाउनको लागी मात्रै फिल्म बनाएर पनि भएन । विषयवस्तु राम्रो हुनुपर्यो । अहिले हामी संक्रमणकालमा छौं । दर्शकले के रुचाउनु हुन्छ भन्ने कुराको ग्यारेन्टी छैन । फिल्म बनाउँदा बद्लिदो स्वादलाई नै सम्बोधन गर्नुपर्ने हुन्छ । फिल्म निर्देशन गर्न मैले देखेको मुख्य चुनौती भनेको बद्लिदो समयमा दर्शकको स्वाद अनि फिल्म प्रदर्शन गर्ने प्रणाली हो । यहाँ फिल्म चलाउन गाह्रो छ । फिल्म बनाएर गर्ने भनेर आफ्नै लागी या साथी भाईलाई देखाएर मात्रै पनि त भएन ।

 

नाटकमा छिरेपछि नाटक निर्देशन गर्ने सोच त बनाउनु भएको छैन नि !

नाटकको निर्देशन चाहिं गर्दिन होला ।

 

तपाइँको बिहे त हुन्छ नि ! के छ तयारी ?

हुन्छ । किन नहुनु ? मैंले भन्दै आएको छु, यो जाडो महिनाको स्वेटर र ज्याकेट बाकसमा प्याक गर्नुभन्दा अगाडी मेरो बिहे हुन्छ । बिहेको तयारी विस्तारै भैरहेको छ । (बिहे बारे राजेश थप बोल्न चाहेनन् )