मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'म नजानेर निर्देशक नभएको हैन' : भुवन केसी

फिल्मीखबर, , २०६७ मंसिर २९, मंगलवार

भारतिय निर्देशक शरद पालेकरले निर्देशन गरेको नेपाली चलचित्र 'जुनी' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक भुवन केसीले ३० बर्षे आफ्नो अभिनय यात्रामा करिब १०० चलचित्रमा अभिनय गरिसकेका छन् । जति जति उनको उमेर ढल्कदैं गयो त्यति त्यति उनी चर्चित बन्दै गए । नेपाली चलचित्र उद्योगका सदाबहार नायक भुवन केसीले बर्षमा एउटा चलचित्र बनाउँछन् र त्यहि एउटा चलचित्रमा मात्र अभिनय गर्छन् । र पनि रजतपटमा उनको हल्ला ठूलै हुन्छ । चलचित्रको प्रचार–प्रसारमा समेत सधैं चनाखो र पृथक पहिचान बनाउँदै आएका केसीको निर्माणाधीन  चलचित्र 'साथी म तिम्रो' प्रदर्शनको क्रममा रहेको छ । नेपालीबाबु, करोडपति, सुपरस्टार, म तिमी बिना मरिहाल्छु जस्ता सफल चलचित्र निर्माण गरिसकेका भुवन पछिल्लो समयमा नेपाली चलचित्रको बजार बिग्रनुको कारणका बारेमा फिल्मीखबरसँग खुलेर कुरा गरे ।




नेपाली चलचित्रको बजार बिग्रनुको मुख्य कारण के होला ?

चलचित्र बनाउन नजान्ने निर्देशक र जस्तो पायो त्यस्तो अभिनय गर्ने कलाकारले गर्दा चलचित्र राम्रो बन्दैनन् अनि राम्रो चलचित्र नबनेपछी कसरी दर्शकले  हेर्नु ?

राम्रो निर्देशकको रूपमा कहलिएका निर्देशकको चलचित्र पनि त चिप्लिएको छ नि !
निर्देशक कै कारणले फिल्म चल्ने भए शिब रेग्मीले निर्देशन गरेको चलचित्र 'कहाँ भेटिएला' सुपरहिट हुने अनि त्यहि निर्देशक आफैंले बनाएको चलचित्र 'मानिस',  सुपर फ्लप हुने त पक्कै हुन्न होला । त्यसैले निर्देशक एक्लैले गर्दा फिल्म चल्दैन । यानकी म्यारोडोना एक्लैले गोल गर्न सक्दैन । म्याराडोनालाई पास दिए मात्र उसले गोल गर्न सक्छ नत्र उ अरूले गरेको गोल हेर्न बाध्य हुन्छ ।

तपाईको चलचित्र चल्नुको कारण तपाईले निर्देशकलाई गाईड गरेर हो ?

म मात्र हैन । सम्पूर्ण टिमले गर्दा चलचित्र राम्रो बन्ने हो। तर पनि मैले निर्देशकलाई गाईड गर्छु ।  ममा निर्देशकलाई गाईड गर्न सक्ने क्षमता छ जस्ले गर्दा पनि मेरा चलचित्र सफल छन् ।


त्यसो भए तपाईं पनि त निर्देशक बन्न सक्नुहुने रहेछ । निर्देशक नबन्ने ?
म  नजानेर  निर्देशक नभएको हैन । अहिलेका निर्देशकले बनाउने जत्तिको चलचित्र त मैले पनि बनाउन सक्छु तर दर्शकले मलाई अझै नायकको रूपमा स्विकार गरिरहेका छन् । त्यसैले अझै १० बर्ष नायक बन्छु अनि निर्देशनमा हात हाल्छु ।


भनेपछि दर्शकले अझै तपाईं नायक भएर खेल्ने १० चलचित्र हेर्न पाउने भए । हैन त ?

किन म बुढो जस्तो देखिन्छु र ? अझै १० बर्ष सम्म त हिरो हुन दिनुस् न । त्यसपछि अलि बुढो पनि हुन्छु र अझ धेरै कुरा पनि सिकिसक्छु अनि निर्देशक बन्छु ।


लामो समय भयो अरूको व्यानरको चलचित्रमा अभिनय नगर्नु भएको । कारण ?

पहिलो कुरा त म पैसाको लागी जस्तो पायो त्यस्तो चलचित्रमा अभिनय गर्दिन । र अर्को कुरा, अरूको चलचित्रमा अभिनय गर्दा म सन्तुष्ट हुन्न । किनकी त्यहाँ मेरो सोचाई अरूहरूलाई चित्त नबुझ्न सक्छ र राम्रो चलचित्र पनि बनाउँदैनन् । मैले मेरो प्रोडक्सनको चलचित्रमा कुनै कमजोरी नदेखाउने कोसिस गरेको हुन्छु र मेरो चलचित्र राम्रो पनि बनेको हुन्छ ।


साथी म तिम्रोबाट कत्तिको आश गर्नुभएको छ ?

यो चलचित्रमा मेरो भुमिका ससक्त भएपनि म हिरो हैन । यसमा त संगीतकार चेतन सापकोटाको पाँच बर्षिय छोरा शिर्षक सापकोटा हिरो हो । उसको अभिनयलाई दर्शकले रूचाए चलचित्र चल्छ नत्र चल्दैन ।

पाँच बर्षको बच्चालाई हिरो बनाएर चलचित्र चल्छ जस्तो लाग्छ ?
हामी कहाँ चलेका कलाकारलाई लिए चलचित्र हिट हुन्छ भन्ने मान्यता छ तर म त्यसको बिरोधी हुँ । अहिले चलेका कलाकारले अभिनय गरेका सबै चलचित्र फ्लप छन् । त्यसैले चलचित्र त्यसको कथाबस्तु र प्रस्तुतीले चल्ने हो । चलेको टाउको लिने त निर्देशकमा आत्मबिश्वासको कमि भएर हो । ममा आत्मबिश्वास थियो त्यसैले मैले पाँच बर्षिय बच्चालाई हिरो बनाएँ । मलाई पूर्ण बिश्वास छ कि मेरो चलचित्र र मेरो पाँच बर्षिय हिरोलाई सबैले मन पराउनेछन् ।

चलचित्रमा कस्तो कथाबस्तु उठान गर्नुभएको छ ?

यो नेपाली चलचित्र उधोगकै कथा हो । मेरो चलचित्र हेरेपछि हावादारीमा आएर चलचित्र निर्माण गर्ने ५० प्रतिशत निर्माता पलायन हुन्छन् ।