मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

पहिला सागमा झोल अहिले मासुमा : कमलमणी नेपाल, कलाकार

फिल्मीखबर, काठमाण्डौ, २०७० मंसिर २०, बिहिवार

सम्भवतः 'अन्तराल' फिल्म हेर्ने दर्शकलाई 'कमली' नाम गरेका पात्र याद हुनुपर्छ । गाउँबाट अध्ययन गर्न शहर पसेको उक्त पात्र 'अन्तराल' हेर्ने दर्शकको मन जित्न सफल भएको थियो ।

 

नेपाली मूल धारका फिल्ममा समेत व्यस्त हुँदै गएका कमलमणी नेपालको वास्तविक जीवन पनि झन्डै 'अन्तराल' फिल्मको 'कमली' पात्रको जस्तै थियो । जतिबेला उनी नाटक गर्न भन्दै मोरङ जन्मथलोबाट राजधानी भित्रिए, कमलमणीले निकै सास्ती पाए । एक दर्जन भन्दा बढी स्टेज र एक हजार जति सडक नाटकमा अभिनय गरिसकेका यिनै रंगकर्मी तथा फिल्मका कलाकार कमलमणी नेपालसँग फिल्मीखबरका उत्सब रसाइलीले गरेको कुराकानी अर्न्तवार्ता शैलीमा प्रस्तुत गरिएको छ ।

 

जतिबेला तपाई सडक र स्टेजमा नाटक गर्नुहुन्थ्यो, त्यतीबेला नेपाली समाजले हेर्ने दृष्ट्रिकोण कस्तो पाउनु हुन्थ्यो ?

त्यतिबेला नाटक गर्नेलाई समाजले 'नटुवा' भन्थ्यो । मलाई पनि आफन्तले तँ त 'नटुवा' भइस्, लौ नाचेर देखा त भन्ने गर्थ्यो । सोच्नुस्, त्यो बेला मेरो मनमा कस्तो सोच पैदा हुन्थ्यो होला ? सहज थिएन समाजलाई चिरेर अगाडी बढ्न । नाटक खेल्ने व्यक्तिलाई समाजले राम्रो मान्दैन्थ्यो । त्यतिबेला नाट्यकर्मी सम्मानित थिएनन् । जब २०५९ सालमा गुरुकुल नाटक घरको स्थापना भयो, त्यसपछि चाहिं नाट्यकर्मीलाई हेर्ने दृष्ट्रिकोण राम्रो भयो । दर्शकहरु टिकट काटेर नाटक हेर्न आउन थाले । नाट्यकर्मीको आर्थिक अवस्था पनि केही राम्रो बन्दै गयो । अहिले नाटकको सृजनात्मक पक्ष बलियो बन्दै गइरहेको छ ।

 

अपहेलित हुँदाहुँदै पनि नाटक मै किन लाग्नु भयो ?

शुरूदेखि नै यसमा लागेकाले अरु विकल्प मसँग थिएन । नाटक पनि हेरिन्छ ? भनेर मान्छेले उडाउँदा पनि नाटकको नशाले छोडेन । मलाई मेरो परिवारको पनि साथ थियो । गुरूकुलको स्थापना पछि दर्शक बढ्दै गए । नाटक चल्न थालेपछि अन्त जाने त कुरै भएन । अर्को कुरा, मेरो मनले जे गर् भन्यो त्यहि गरें । वास्तवमा मनले चाहेको गर्यो भने नै सफल भईन्छ । आज म सफल छु ।

 

शुरूका दिनमा नाटकीय जीवन कसरी चल्थ्यो ?

शुरूमा त चिउरा र भुजिया खाएर नाटक गरें । एउटा फाइनान्समा काम गर्थें । बिहानीको पैसा उठाएर गुरूकुलमा 'रिहर्सल' गर्न पुग्थें । बेलुका निकै थाकेको हुन्थें । कोठामा आएर सागमा झोल हाल्यो खायो । घरबाट पनि अड्कलेर पैसा आउँथ्यो । एक कप चिया खान साथी भाइलाई कुर्नु पर्थ्यो । त्यो समय निकै दुःखको थियो । दुःख सबैलाई आउँछ । सुःख पर्खन धैर्य गर्न सक्नु पर्दो रहेछ ।

 

अहिले त फिल्ममा पनि व्यस्त हुनुहुन्छ्, जीन्दगी सुखी नै होला नि ?

स्वतन्त्र भएर काम गर्दैछु । सुखी छु चाहिं भन्दिन । तर, बुवाले काठमाण्डौमा बनाएको घरमा रंगरोगन गर्न सक्ने चाहिं भएको छु । पहिला सागमा झोल हालेर खान्थें अहिले मासुमा झोल हालेर खान सक्ने भएको छु ।

 

झन्डै १० वर्ष नाटक खेलेर के कमाउनु भयो त ?

शुभ चिन्तक कमाएँ । माया गर्ने दर्शक कमाएँ । दुई छाक खान पुग्नेगरी दुईचार पैसा पनि कमाएँ ।

 

 

नाटकमा पात्रलाई कसरी जीवन्त देखाउनु हुन्थ्यो ?

नाटकको पात्र जीवन्त होस् भनेरै म एकदिने भरिया समेत बनेको छु । काठमाडौंमा सिमेन्ट र प्लास्टिकका बोरा बोकियो । भरिया बन्दा एकजना साहुको घरको ट्वाईलेटमा पिसाब फेर्न खोज्दा उसले कठालामा समातेर बाहिर निकाल्यो । रेष्टुरेन्टमा खाजा खान जाँदा गार्डले बाटो नै छेक्यो । जसोतसो खाजा त खाइयो । गेटबाट बाहिरिने सबैलाई गार्डले सलाम हान्यो हामीलाई हानेन् । पाँच रुपैयाँ टिप्स दिएर गार्डलाई सलुट हान्न लगाइयो । शहरियावासीले भरियालाई कस्तो व्यवहार गर्छन् भन्ने कुरा थाहा पाएँ । बेलुका कोठमा फर्कदा भारी बोकेर डेढ सय लिएर फर्किएको थिएँ । यसरी रियल लाईफमा पात्रको नजिक पुग्ने कोसिस गर्छौं, समाजलाई अध्ययन गर्छौं अनि जन्मन्छ, पात्र ।

 

अब फिल्मतिर लागौं, अन्तराल फिल्ममा निभाएको 'कमली'को पात्र तपाईको व्यक्तिगत जीन्दगीसँग मिल्दोजुल्दो त छैन ?

शुरूमा काठमाण्डौ आउँदा मेरो जीवनशैली 'कमली' पात्र जस्तै थियो । घरवेटीको किचकिच । स्टोभमा मट्टितेल हुँदैन्थ्यो । कहिले त खानै हुँदैन्थ्यो । दु:खलाई लुकाएर हाँस्नु पर्थ्यो । अर्को कुरा, कमली जस्तै म जीवनमा साधारण नै छु । मायालु नै छु ।

 

अनि घरवेटीको छोरीले पनि मन पराउँथिन् कि ?

(मुस्कुराउँदै), घरवेटीको छोरीले हैन मैले चाहिं मन पराउँथे । तर, के गर्नु भन्न सकिएन । मैले नै प्रेम प्रस्ताव राख्ने आँट गरेपछि उनले झन् राख्ने कुरै भएन । उनीसँग हैन अर्कैसँग बिहे गरियो । उनीसँगको प्रेम मौलाउन नपाएपनि अहिले श्रीमतीसँगको मेरो जीवन हराभरा छ । हाम्रो एक छोरा र एक छोरी छन् ।

 

रंगकर्मी आफुलाई भयंकर ठान्छन् भन्ने केही फिल्मकर्मी आरोप छ नि !

मलाई यो आरोप सही हो जस्तो लाग्दैन । 'लुट' फिल्म हिट भएपछि रंगकर्मीले पनि फिल्म पाउने बाटो खुलेको छ । फेरी नेपाली फिल्ममा नयाँ र मुलधार भन्ने दुई धार छ भनिन्छ । हामीलाई नयाँ धारका कलाकार भनिन्छ क्या रे ! नयाँ भनेर घमण्डी भनिएको पो हो कि !

 

 

तपाईको बुझाइमा हिरोको परिभाषा के हो ?

नेपाली दर्शकलाई हिरो भनेको राजेश हमाल जस्तै नै हुनुपर्छ भन्ने छ । अन्तरालको भूमिका अनुसार फिल्मको हिरो नै म थिएँ । दर्शकले 'फिल्मको हिरो को ?' भनेर सोध्ने गर्थे । मलाई देखाउँदा यस्तो पनि हिरो हुन्छ भनेर दर्शक हाँस्थे । मेरो बुझाइमा फिल्मको पात्रले हिरो निर्धारण गर्छ । तर समाजको बुझाई फरक छ । चिटिक्क परेको, जिउडाल मिलेको व्यक्तिलाई हिरो भन्ने गरिन्छ ।
 

तपाईलाई समाजले बुझ्ने हिरो बन्न मन लागेन ?

कुनै फिल्मको पात्र अनुसार म हिरो बन्न सकुँला तर समाजले बुझ्दै आएको फिल्मको हिरो चाहिं म बन्न सकुला जस्तो लाग्दैन । झुस्स दार्‍ही, जिङरिङ्नको कपाल, सामान्य लवाइखवाइ भएको म जस्तो कलाकार हिरो बन्न पक्कै नसक्ला । फेरी मलाई हिरो भएर टिपटप जीवन बिताउन रहर पनि छैन । मलाई समान्य जीवन नै उत्तम लाग्छ ।

 

'लोफर' फिल्ममा काम गर्दाको अनुभव ?

'लोफर'मा काम गर्दा फरक खालको अनुभव गर्ने मौका पाएँ । रमाइलो भयो । काम गर्न कुनै दबाब भएन । निर्माता छवि ओझा र निर्देशक आदित्य विक्रम लम्सालले फिल्म राम्रो बनाउने निकै प्रयत्न गर्नु भएको छ । दर्शकलाई मैले सन्तुष्ट पार्ने कोशिस गरेको छु ।

 

शुभचिन्तकबाट कस्तो अपेक्षा गर्नुहुन्छ ?
म मेरा शुभचिन्तकलाई माया हैन गाली गर्नुस् भन्छु । मायाले म मात्तिन सक्छु तर गाली पाएँ भने मैंले राम्रो गर्न सक्छु ।