मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

`म एकदम स्वार्थी छु` : नम्रता सापकोटा

फिल्मीखबर, काठमाण्डौ, २०७० कार्त्तिक ९, शनिवार

पछिल्लो पटक नेपाली फिल्म उद्योगमा नयाँ अनुहारहरु प्रशस्तै भित्रिएका छन् । धेरैजना भित्रिए पनि चर्चाको हिसाबले कमै मात्र अगाडी छन् । अहिले नेपाली फिल्म उद्योगमा कुनै फिल्ममा अभिनेता अभिनेत्री बन्नु मात्र ठुलो कुरा रहेन, अभिनेत्रीको रुपमा आफुलाई चिनाउन सक्नु ठुलो कुरा रह्यो । नयाँ अनुहारका अभिनेत्रीको लिस्टमा अग्रपंक्तिमा आउने नामहरुमा नम्रता सापकोटा पनि एक हुन् ।

 

नेपाली फिल्म 'अन्तराल'बाट नम्रताले फिल्मी यात्रा थालेकी हुन् । यद्यपी त्यो भन्दा अगाडी उनले धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी थिईन् । नम्रताकै अभिनय रहेको अर्को फिल्म 'सिग्नेचर' पनि चाँडै रिलिज हुने क्रममा छ । अहिलेसम्म करिब ७० वटा म्युजिक भिडियोमा काम गरिसकेको बताउने यी अभिनेत्री साल्सा डान्सरको रुपमा पनि चर्चित छिन् । रुपन्देहीमा जन्मिएकी यिनै अभिनेत्रीसँग फिल्मीखबर प्रतिनिधी रेम बिक यसरी गफिएका छन् -



दशैँ कस्तो रह्यो ?

एकदम रमाईलो । यसपाली बुटवल मामाघर गएर खुब रमाईलो गरियो । सबैजना एकैठाउँमा रहेर रमाईलो गर्दा नै दशैँको मज्जा आउँछ । हरेक नेपालीले दशैँमा गर्ने रमाईलो जसरी नै मैले रमाईलो गरेँ । तर घर भित्रै बसेर । किनभने दशैँको दिनभरी पानी पर्‍यो, बाहिर निस्कनै पाईएन नी ।



अनि तिहारको योजना चाँहि कस्तो छ त ?

खास त्यस्तो विशेष योजना त केहि पनि छैन । केहि दिन म्युजिक भिडियोहरुको सुटिङमा व्यस्त भईन्छ होला । आफैँ पनि तिहार विशेष केहि ईभेन्टहरु गर्दैछु । त्यसैले त्यतै व्यस्त हुन्छु होला । अरुले गर्ने ईभेन्टहरुमा पनि सरिक हुन्छु । साथीभाई भेटघाट, रमाईलो, खानपीन जस्ता कुराहरु त भैहाल्ने नै भए ।



अहिले जताततै चुनावले छोएको छ, तपाईलाई कत्तिको चुनाव लागेको छ त ?

लागेकै छैन भन्दा पनि हुन्छ । म मेरै काममा व्यस्त हुनुपरेकोले पनि यस्तो भएको हुनुपर्छ । अब फिल्मकै विभिन्न व्यक्तिहरु पनि चुनावमा होमिएको त थाहा पाएकी छु । फेरी मलाई राजनीतिमा त्यति ईन्ट्रेस्ट पनि छैन । त्यसैले ईन्ट्रेस्ट नभएको कुरामा म त्यति चासो पनि जनाउँदिन । अब चुनावमा भोट हाल्न चाँहि जानुपर्ला ।



आजभोली फिल्ममा काम गर्न छोडेको हो र ?

त्यस्तो होईन । म्युजिक भिडियो र आफ्नै ईभेन्टहरुमा व्यस्त छु । यो बिचमा दुईवटा स्क्रिप्ट आएका थिए तर ती फिल्ममा म आफै काम नगर्ने भएँ । ‘अन्तराल’ र ‘सिग्नेचर’ फिल्ममा मात्र मैले अभिनय गरेकी छु । 'सिग्नेचर' प्रदर्शनमा आउनेवालामा छ । फेरी अर्को एउटा फिल्मको कुरा पनि आईराखेको छ । शायद त्यो फिल्म गर्छु होला । कतिले त दुईवटा भन्दा अरु फिल्म नगरेको देखेर फिल्म नपाएको भन्ने हल्ला पनि चलाएछन् । तर, म फिल्म नपाएर भन्दा पनि आफ्नै व्यस्तताको कारणले गर्दा फिल्म गरिरहेको छैन । फिल्म नखेले पनि म व्यस्त नै छु ।



तपाई त साल्सा डान्स गर्नुहुन्छ, सिकाउनुहुन्छ पनि । आफुलाई अभिनेत्री, मोडल वा साल्सा डान्सर मध्ये कुन रुपमा चिनाउन सहज अनुभव गर्नुहुन्छ ?

यो वा त्यो भन्दा पनि सबै रूपमा चिनिन चाहन्छु । फेरी डान्स र एक्टिङ भन्ने कुरा आपसमा जोडिएका विषय भएकोले पनि मलाई अझै बढि सहज भएको छ । मलाई बाल्यकालदेखि नै स्कुल कलेजहरुमा डान्सकै माध्यमबाट चिन्थे तर कलाकारिता पनि मेरो रुची हो । त्यसैले मलाई जुन रुपमा चिने पनि फरक पर्दैन ।



फिल्म उद्योगमा तपाई आफ्नो उपस्थितीलाई कसरी लिनुहुन्छ ?

मलाई फिल्ममा नायिका बन्ने रहर कहिल्यै लागेन । र, म यो फिल्डमा नायिका अर्थात स्टार बन्नका लागि छिरेकी पनि होईन । मैले फिल्ममा हिरोईन बन्छु भनेर कहिल्यै सपना पनि देखिन । म पहिल्यैदेखि थियटरमा काम गर्थेँ । थुप्रै नाटकमा मैले अभिनय पनि गरेकी छु । फिल्ममा पनि फिल्मी शैलीको नायिका भएर रोनाधोना र ग्लामर सिनमा रमाउनु भन्दा क्यारेक्टर बेस्ड भएर काम गर्न चाहन्छु । मैले गरेका दुईवटा फिल्महरु त एक्सिडेन्टल्ली पाएको हुँ । खासमा मलाई स्टार बन्नु भन्दा एउटा राम्रो कलाकार बन्ने मन छ । त्यसैले यहि फिल्ममा जम्ने सुर कसेर फिल्ममा म लागेकी होईन ।



अहिले नेपाली फिल्म उद्योगमा आउने नयाँ हिरोहरु ‘मुर्गा’ बनेर र नायिकाहरु ‘ओछ्यान तताएर’ आउँछन् भन्ने व्यापक छ नी ?

फिल्ममा धमाकेदार हिरो र हिरोईन बन्ने भुत चढेकाले आफ्नो उत्कट चाहनालाई पुरा गराउनका लागि यस्तो बाटो रोजेका हुन सक्छन् । तर यो बाटो पुर्ण रुपमा गलत हो । नबुझेका  र हावाहुरीसंगै वहेर आएकाहरुले यस्तो गर्छन् जस्तो मलाई लाग्छ । यस्तै हावाहुरीसंगै आउने मुर्गाहरुकै कारणले नेपाली फिल्म उद्योगले गति लिन नसकेको हो । पैसा छ भन्दैमा बुझ्दै नबुझेका मान्छेले लगानी गरेर हिरो बन्ने र रहर पुरा गर्ने वहानामा ज्यानै बेच्नेकै कारण राम्रा घरानाका व्यक्तिहरु यो क्षेत्रमा आकर्षित हुन सकिरहेका छैनन् । बुझेको मान्छेले त यस्तो काम गर्दै गर्दैन नी ।



तपाई आफैले आफैलाई चाँहि कसरी लिनुहुन्छ ?

म कसैसंग पनि झुक्दिन । अब कसैको ओछ्यान तताएर मलाई नायिका बन्नु पनि छैन र मेरो त्यो सपना पनि होईन । मेरो आफ्नै विजनेश छ म त्यताबाटै मज्जाले मेरो लाईफ चलाउन सक्छु । म मेरो करिअरका लागि कन्फिडेन्स छु । त्यसैले कसै-कसैले मलाई घमण्डी केटी पनि भन्छन् । मलाई मेरो आफ्नै बानी व्यहोरा मनपर्छ । म स्वार्थी पनि छु, खुब स्वार्थी । तर आफ्नै कामका लागि ।



यस्तो कन्फिडेन्स मान्छेले विहे चाँहि कहिले गर्ने त  ?

अहिल्यै त सोँच बनाएकी छैन । लाग्छ समय पनि भएको छैन । करिअर मेकिङका लागि संघर्ष गरिहँदा विहेको विषयलाई अलि पछाडी नै सार्नु वेश होला भनेर नी ।



ब्वाईफ्रेन्ड त छ होला ?

छ कि छैन खोई ! यो प्राईभेट कुरा हो त्यसैले प्राईभेट नै राखौँ । हुन्न ? (हाँसो)



फिल्म उद्योगमा कोसंग बढि मिल्नुहुन्छ ?

धेरै छन् । सबै जनासंग मिल्छु । तर मसंगै फिल्म गरेकी अशिष्मा नकर्मीसंग बढि मिल्छु । ऊ जस्तै सिम्पल खनाल, स्वस्तिका राजभण्डारी मेरा मिल्ने साथीहरु हुन् ।



नेपाली फिल्मका मनपर्ने हिरो को हो नी ?

यहाँ पनि लिस्ट लामै हुन्छ । नयाँ देखि पुराना पुस्ताका नायकहरु मलाई मन पर्छन् । विशेषगरि दयाहाङ राई राम्रो लाग्छ । मलाई उहाँसंगै काम गर्ने ईच्छा छ । त्यस्तै पुराना नायकहरु सरोज खनाल, राजेश हमाल, सुशिल क्षेत्रीसंग पनि काम गर्ने ईच्छा छ ।