मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'नाम पनि छैन दाम पनि छैन' : गोविन्द राई

फिल्मीखबर, , २०६७ मंसिर ६, आईतवार

धरान, रत्नचोक-१८ का गोबिन्द राई नेपाली चलचित्र क्षेत्रका स्थापित नृत्य निर्देशक हुन् । 'चलचित्र' नामक फिल्मबाट आफ्नो करियर शुरू गरेका राईले एक दशकको आफ्नो चलचित्र करिअरमा करिब ७० चलचित्रमा नायक नायिकाहरूलाई गीतको भाव अनुसार नचाईसकेका छन् । तर पनि यि नृत्य निर्देशक राईले आफ्ना गीतहरू हिट भएर कलाकारहरूको स्तर बढ्दा आफ्नो स्तर भने बढ्न नसकेको गुनासो फिल्मीखबर समक्ष पोखेका छन् ।

 

कुनै पनि गीत हिट हुनको लागी नृत्यले कस्तो भुमिका खेल्छ ?
चलचित्रको हकमा त नृत्य बिना गीत पूरा नै हुँदैन । मलाई लाग्छ चलचित्रको गीत मात्र हैन चलचित्र नै हिट बनाउन नृत्यको महत्वपूर्ण भुमिका हुन्छ ।


कुन गीतले तपाईँलाई चर्चामा ल्याएको हो ?
चलचित्र 'नैना रेशम' को ढल्क्यो ढल्क्यो बोलको गीत बढी हिट भएको थियो ।


गीत हिट भएको कि नृत्य ?
दुबै हिट भएको हो । त्यो गीत हिट हुनुमा मैले गरेको नृत्य निर्देशमको पनि ठूलो हात छ । किनकी बिराज भट्टलाई मैले यो गीतमा मज्जाले नचाउन सक्षम भएको छु । सायद बिराज भट्टले राम्रो सँग नृत्य गरेको गीत नै यहि होला ।


कुन नायक र कुन नायिकालाई नचाउन सबै भन्दा सजिलो र गार्‍हो छ ?
प्राय सबै कलाकारलाई मैले नचाउन सक्छु । त्यस्तो गार्‍हो पर्ने कोही छैन । तर पनि शुरूमा सुमन सिंह र जेनिशा केसीलाई नचाउन एक दम गार्‍हो भएको थियो तर अहिले उनीहरू राम्रोसँग नाच्न जान्ने भईसकेका छन् । अहिले त्यति राम्रोसँग नाच्न नजान्ने नायक जीवन लुईटेल हो तर उसको अधा भने निकै राम्रो छ । अभिनय पनि राम्रो गरेको पाएको छु । अलिकति नाच्न जान्ने हो भने उ पर्फेक्ट हिरो हो ।


कस्तो नृत्य गराउन सजिलो लाग्छ ?
रोमान्टिक तथा लोकआधुनिक गीतहरूमा मलाई नचाउन सजिलो लाग्छ ।


प्राय चलचित्रहरूमा नृत्यमा कुनै फरक तथा नयाँ पन भेटिन्न नि !
मैले निर्देशन गरेका प्राय गीतहरूमा फरक पन दिने प्रयास गरेकै छु । मैले गरेका गीतहरू हेर्नु भयो भने केहि फरक पक्कै पाउनु हुन्छ ।


तपाईले निर्देशन गर्दा सबै भन्दा बढी टेक कस्ले लिएको छ ?
चलचित्र 'वीरताको चिनो' मा सुमन सिंह र जेनिशा केसीले जति टेक सायदै कसैले लिएको थिएन होला । तर अहिले उनीहरू सोचे भन्दा राम्रो नाच्न सक्ने भएछन् । मैले नचाएका तिनै कलाकारले आज आएर राम्रो नाच्न सक्ने हुँदा खुसी लाग्छ ।


तपाईले नै नाच्न सिकाउनु भएको हो त ?
वीरताको चिनोमा मात्र मैले सिकाएको हो । उनीहरू मेहनती भएकोले सक्षम भएका हुन् ।


पहिलो पटक कस्लाई नचाउनु भयो ?
चलचित्र नामक फिल्ममा गणेश उप्रेती र सोनिया मल्ललाई मैले पहिलो पटक नचाएको हुँ ।


पछिल्लो समयमा गायक प्रशान्त तामाङसँग काम गर्नु भयो । कत्तिको सहज भयो प्रशान्तसँग काम गर्न ?
मेरो प्रिय पात्र मध्ये एक हो प्रशान्त तामाङ । उसमा काम गर्नुपर्छ र सक्दो मेहनत गर्नुपर्छ भन्ने धारणा छ जसले गर्दा मलाई उ सँग काम गर्न एकदम सहज हुन्छ ।
 

तपाईलाई चित्त दुखेको कुरा ?
यहाँ दिनानु दिन नायक नायिकाको रेट बढ्छ तर हाम्रो कहिल्यै बढ्दैन। कलाकारहरूको स्तर बढ्दै गएको छ तर हाम्रो झन् झन् घट्दै गएको छ । नायक नायिकाको जस्तो सम्मान र रेट मेरो पनि भएको भए म आज कार चढेर हिंड्न सक्ने हुन्थें तर बिडम्बना हामीलाई सधैं तल पारिन्छ । त्यसैले हामी नृत्य निर्देशकको न नाम छ न दाम नै । हाम्रो क्रियशनको मूल्याङकन नै हुँदैन जसले गर्दा राम्रो काम गर्ने हौसला पनि मिल्दैन ।
 

पहिलो पटक पाउनु भएको पारिश्रमिक याद छ ?
मैले पहिलो पटक निर्देशन गर्दा एक हजार एक रूपियाँ पाएको थिएँ ।

अहिले एउटा चलचित्रबाट कति पारिश्रमिक पाउनु हुन्छ ?
गीत हेर बढीमा १५ हजार ।

तपाईंको खुसीको क्षण ?
पहिलो पटक निर्देशक भएर काम गर्दा र गत बर्षको प्राबिधिक संघले गरेको अवार्डमा कार्यक्रममा बेस्ट निर्देशकको अवार्ड पाउँदा म निकै खुसी भएको थिएँ । सायद मैले कमाएको सम्पत्ति नै त्यहि होला ।

अन्तमा नायक/नायिकाहरूलाई सुझाव ?
नायिकाहरूले क्लासिकल डान्स सिक्न अति आवश्यक छ भने अधिकांश नायकहरू त नाच्न नै जान्दैनन् । त्यसैले नायकहरूले सबै डान्स सिक्न अल्छि मान्न हुँदैन ।