मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.29/5.00)
Text size:-
+
-

मुम्बइमा हिरोइन हुँ भन्ने बिर्सिएँ : उषा पौडेल

उत्सव रसाईली, काठमाण्डौ, २०७० भाद्र ६, बिहिवार

अभिनेत्री उषा पौडेल फिल्मको संकट नलाग्दै तीन वर्ष अघि शून्यको जीवन सुरु गर्न मुम्बइ पुगिन् । फिल्म कर्मबाट नेपाली फिल्मको यात्रा तय गरेकी उषाले त्यहाँ सुरुको दिनमा निकै संघर्ष गर्नु पर्यो । विशेषतः हिन्दी भाषाको समस्याले गर्दा सुरुमा काम नपाएको बताउने उषा अहिले भने खाली बस्नु परेको छैन । करिब आधा दर्जन टेलिफिल्म सहित एउटा हिन्दी फिल्ममा समेत अभिनय गर्ने मौका पाएकी उषा आफ्नै कमाइले मुम्बइमा सेटल भैरहेको बताउँछिन् । नेपाली फिल्मबाट सन्यास नलिएको धारणा राख्ने चालिस नेपाली फिल्मकी अभिनेत्री उषा पौडेलसँग उनकै निवास सिनामंगलमा फिल्मीखबरले गरेको कुराकानी -

 

राजधानीलाई कस्तो पाउनु भयो ?

बाटो फराकिलो भएछ । ट्राफिक नियममा सुधार आएछ । काठमाण्डौको यो दुई पक्ष नयाँ र राम्रो लाग्यो । अरु त उस्तै हो । सात महिनामा के नै फरक हुन्छ र ?

 

फिल्म क्षेत्रमा चाहि के फरक देख्नुभयो ?

फिल्म क्षेत्रसँग नजिक हुने मौका नै मिलेन । त्यसकारण फिल्म क्षेत्रमा के परिवर्तन भयो भन्ने कुराको जानकारी नै छैन । तर, मिडियाबाट जानकारी पाए अनुसार अश्लिल फिल्म बढी निर्माण हुन थालेका छन् रे । कलाकारहरू पनि उदार बन्दै गएका छन् भन्ने समाचार पढ्न पाईन्छ । फिल्मको व्यापार पहिला जस्तो छैन रे ।

 

अब मुम्बइ तिर लागौं, बसाई कस्तो छ ?

त्यहाँको जीन्दगी एकदमै व्यस्त छ । जहिल्यै भागदौड हुन्छ । त्यहाँ काम पाउन प्रतिस्पर्धा हुन्छ । म त्यहाँ पाहुना बनेर बसेको छु ।

 

सुरुको समय मुम्बइमा कसरी बित्यो ?

गएको एक महिना अनुपम खेरको एक्टिङ स्टुडियोमा हिन्दी भाषाको प्रशिक्षण लिएँ । हिन्दी बोल्न नसक्दा सुरुमा प्रोडक्सन कम्पनीले क्यारेक्टरको लागी 'यु आर नट् फिट' भन्थे । हिरोइन मान्छे त्यहाँ त्यस्तो भन्दा सार्‍है चित्त दुख्थ्यो । बेकार आएछु जस्तो लाग्थ्यो । तर, मैले त्यहाँ फिट हुन हिरोइन हुँ भन्ने आफ्नो परिचय नै बिर्सिएँ । शून्यबाट मुम्बइको करिअर सुरु गरें । मिहेनत गर्न छाँडिन । अन्य साथीहरुले पनि सहयोग गरे ।

 

अहिले चाहि केमा व्यस्त हुनुहुन्छ ?

अहिलेसम्म आधा दर्जन धारावाहिक टेलिश्रृङ्खलामा काम गरें । अन्य प्रोडक्सन हाउससँग कामको कुरा हुँदैछ । जस अर्न्तगत तुज सङघ प्रित लगाई सजना, फियर फाईल्स, नियती, अदालत, सनी देव, सूर्य पुरान, जय जय वज्रङ्वली लगायत छन् । सुन लड्की भन्ने फिल्ममा पनि काम गरेको छु । जहाँ मेरो अपोजिटमा स्लमडग मिलिनियरका कलाकार अङकुर विकल हुनुहुन्छ । मुम्बईमा प्रायः सुटिङ र अडिसन भैरहन्छ । यो भागदौड नयाँ देखि पुराना सबै कलाकारले गर्नुपर्छ । म पनि मुम्बइमा भागदौड गर्दैछु ।

 

भागदौड केका लागि ?

काम पाउन । मुम्बइ एकदमै व्यावसायिक शहर हो । त्यहाँ चिनजानको आधारमा काम पाइदैन । नयाँ कलाकारलाई अडिसन र पुरानालाई स्क्रिन टेस्ट भनिन्छ । खोजेको जस्तो क्यारेक्टर नपाउञ्जेल सम्म प्रोडक्सन हाउस हजार जनाको पनि अडिसन र स्क्रिन टेस्ट गर्न तयार हुन्छन् ।

 

तपाई मुम्बइ चाहि किन जानुभयो ?

कसम फिल्मको सुटिङ गर्दै थिएँ । पाइप लाइनमा ३ वटा फिल्म थिए । एक दिन इन्टरनेटमा अनुपम खेरको एक्टिङ स्टुडियो सर्च गरें । त्यहाँ दिइएको ठेगानामा सम्पर्क गरें । आफुलाई त्यहाँ एक्टिङ कोर्स गर्न मन लागेको बताएँ । उताबाट सहयोग गर्ने बताए पछि म फिल्मको सुटिङ सकाएर मुम्बई लागें । अग्रज पनि पुगेर फर्केको क्षेत्रमा किन नजाने भनेर मुम्बइ गएँ ।

 

तपाईलाई कुन पक्षले मुम्बइ जान प्रेरित गर्यो ?

२००३ तिर म साँस्कृतिक कार्यक्रममा भाग लिन कतार गएको थिएँ । त्यस कार्यक्रममा विश्व चर्चित नेपाली मुलका बलिउड गायक उदित नारायण झा र पत्नी दिपा पनि सहभागी हुनुहुन्थ्यो । त्यस कार्यक्रममा मलाई बलिउडकी मनिषा कोइराला भनेर सम्बोधन गरियो । त्यहाँबाट नै मैले बलिउड जाने सपना बोकेको थिएँ । त्यसपछि फिल्ममा व्यस्त भएँ । फिल्ममा काम गरेपनि एकपटक किन प्रयास नगर्ने भनेर मुम्बइ गएँ ।

 

त्यहाँ काम गर्दा नेपाली फिल्मको याद आउँदैन ?

यहाँको याद धेरै आउँछ । सुरुका दिनमा त म फिल्म क्षेत्रलाई सम्झेर रून्थें । बेला बेला किन नेपाली फिल्मलाई छोडें होला भन्ने पनि लाग्थ्यो । पछि बानी पर्दै गयो । अहिले पनि सुटिङ सेटमा हुँदा नेपालमै छु जस्तो लाग्छ ।

 

नेपाली फिल्ममा आफ्नो अभाव खड्किए जस्तो लाग्छ ?

म नभए पनि फिल्म क्षेत्र अगाडी बढिरहेको छ । त्यसैले अभाव भन्दा पनि फिल्ममा काम गर्न चाहि मन छ । तर, यही स्थितिमा काम गर्न सक्दिन । मेरो दिमागमा एउटा कथा खेलिरहेको छ । सबै कुरा मिल्यो भने बरु आफैंले नेपाली फिल्म निर्माण चाहि गर्छु होला ।

 

नेपाली फिल्म र त्यहाँ काम गर्ने शैलीमा के फरक पाउनुभयो ?

त्यहाँ बढी गृहकार्य हुन्छ । कुनै पनि कुराको गहिराइमा पुगेर अध्ययन गरिन्छ । एउटा क्यारेक्टरको लागी एक हजार जनाको अडिसन लिइन्छ । क्षमतावानले मात्रै त्यहाँ काम गर्ने अवसर पाउँछन् ।

 

बिहे गर्ने बेला भएन ?

बेला त भयो होला । तर, मैले यस बारे केही पनि सोचेको छैन । केही वर्ष आफ्नो करिअरलाई ध्यान दिन्छु ।

 

जीवनका आगामी योजना के छन् ?

मेरो चाहना र योजना त बलिउडको सुपरस्टार बन्ने छ । तर, भाग्यले कहाँ पुर्‍याउँछ थाहा छैन । मिहेनत गर्न छाड्दिन । नेपाली फिल्ममा दश वर्ष काम गरें । मुम्बइमा पनि काम गर्छु । सक्दो मिहेनत गर्छु । नेपालीको शिर उच्च राख्छु ।