मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

मेरो नजरमा राजेशको तस्विर कहिल्यै आएन : कोमल ओली

उत्सव रसाईली, काठमाण्डौ, २०७० श्रावण २५, शुक्रवार

कोमल ओली रेडियो नेपालकी वरिष्ठ समाचार सम्पादक एवम् समाचार वाचिका हुन् । उनको परिचय समाचार वाचिकाको रुपमा मात्रै सिमित छैन । कोमल ओलीलाई विश्वले गायिका भनेर चिन्दछ । उद्घोषणमा समेत पोख्त कोमल रजतपटमा भने फिल्म राजनीति मार्फत अभिनेत्री बनेर भित्रिएकी छिन् । बसन्त निर्रौला निर्देशित फिल्ममा अभिनेता राजेश हमालको पत्नीका रुपमा कोमल प्रस्तुत भएकी छिन् । जन्मथलो दाङ भएपनि कर्मथलो राजधानीलाई बनाएकी यिनै अविवाहित कोमल ओलीसँग फिल्मीखबरले गरेको कुराकानी गरेको छ -

 

तपाईंलाई आफ्नो परिचय भारी लाग्दैन ?

परिचय तब मात्र बन्छ जब सफलता प्राप्त हुन्छ । मैले पनि केही सफलता पाए जस्तो लाग्छ । मेरो सफलताले नै मलाई भिन्न भिन्न परिचय दिएको हो । सफलता पछिको परिचयबाट म रोमाञ्चित छु । कसैले मलाई तपाईं कस्तो राम्रो गाउनु हुन्छ भन्दा 'आहा !' लाग्छ । तपाईंले पढेको समाचार म नियमिति सुन्छु भन्दा खुसी लाग्छ । आफैले खेलेको म्युजिक भिडियो हेर्दा चाहिं दङ्ग लाग्छ ।

 

म पनि फिल्म खेल्ने छु भनेर जीवनमा कहिल्यै सोच्नु भएको थियो ?

वास्तवममा सानो हुँदा म हिरोइन हुने ईच्छा राख्थे । हिरोइन हुन के गर्नुपर्छ ? भनेर मैले स्कुल पढ्दा रेडियो नेपालमा पत्र नै पठाएको थिएँ । पढाई सकेर मात्रै फिल्म खेल्ने रेडियो नेपालबाट सल्लाह आएको थियो । हिरोइन हुने भइस् भनेर साथीहरुले पनि खुबै जिस्क्याउँथे । तर, रेडियो नेपालले आयोजना गरेको लोक गीत प्रतियोगिता (२०४४) मा प्रथम भएपछि भने मेरो फिल्म खेल्ने चाहनाले मूर्त रुप पाएन । संगीतकर्मीसँग सामिप्यता बढ्यो । फिल्म खेल्ने भन्ने त सपना मै सिमित भयो ।

 

राजनीति फिल्म खेल्ने अवसर चाहि कसरी जुर्यो त ?

सुरुमा त मैले निर्देशक बसन्त निर्रौला र निर्माता दिपक सुवेदीलाई फिल्म नखेल्ने प्रतिक्रिया दिएकी थिएँ । मेरो पहिलो प्रतिक्रियाबाट उहाँहरु मलाई फिल्म खेल्ने प्रस्ताव ल्याउन छोड्नु भएन । उहाँहरुको सक्रियता देखेर मैले स्क्रिप्ट मागें । मेरो भुमिका चित्त बुझ्दो लाग्यो । गीत संगीतमा पनि पाइरेसी छ । फेरी फिल्म खेल्ने मेरो सानै देखिको ईच्छा पनि हो भनेर पर्दामा राजनीति गर्न सहमत भएँ ।

 

पर्दामा अभिनय गर्न चाहि कत्तिको सजिलो रैछ त ?

सानोमा मैले हिरोइन बन्न सपना देखे जस्तो सजिलो अभिनय गर्न रहेनछ । पर्दामा पात्रलाई जिवन्त देखाउन निकै गाह्रो हुने रै'छ । दिन चर्यालाई सहजता ल्याउन, संवाद र हाउभाउलाई प्राकृतिक देखाउन सहज लागेन ।

 

राजनीतिमा तपाईले निभाउनु भएको भुमिकाले समाजको कुन पात्रलाई प्रतिनिधित्व गर्छ ?

मैले निभाएको भुमिकाले राजनीतिमा महिलाको सहभागिता आवश्यक छ भन्ने कुरालाई जोड दिन्छ । अहिलेसम्म राजनीति पुरुषले गरे अब महिलाको पालो भन्ने सन्देश मेरो पात्रले दिन खोजेको छ ।

 

अभिनेता राजेश हमाल विशेष गरी को-स्टारसँग त्यति खुल्दैनन् भन्ने सुनिन्छ । तपाईंसँगको व्यवहार चाहि कस्तो रह्यो ?

मैले राजेश हमाल सहयोगी पाएँ । उहाँको अभिनय क्षमता देखेर म दङ्ग परे । उहाँले हरेक दृश्यमा २ टेक भन्दा बढि लिनु भएन । सँगै दृश्य पर्दा उहाँले मलाई अभिनयको टिप्स दिनुहुन्थ्यो ।

 

राजनीतिमा तपाईं राजेश हमालको पत्नी हुनुभएको छ । वास्तविक जीवनको कल्पनामा पनि अभिनेता हमाल जीवनसाथी भएर आउनुभयो होला नि ?

वास्तवमा राजेश हमालको तस्विर मेरो जिवनमा कहिल्यै आएन । मेरो र उहाँको बिहे बारे मिडियामा चर्चा नभएको हैन । तर, म उहाँलाई प्रतिभावन नायकको रुपमा मात्रै सम्मान गर्छु ।

 

तपाई पार्टी प्रवेश गर्ने भन्ने चर्चा छ नि ?

कुन पार्टीमा प्रवेश गर्ने भन्ने मैले निश्चित गरिसकेको छैन । पार्टी प्रवेशको प्रस्ताव त सद्भावना देखि राप्रपा नेपाल सम्मले गर्नुभएको छ । तर, कुन पार्टीमा प्रवेश गर्छु भन्ने कुराको निश्चितता आगामी संविधान सभाको निर्वाचनले निर्धारण गर्नेछ ।

 

तपाईको व्यक्तिगत जीवन तर्फ जाऔं, विवाह गर्न ढिला भएन ?

बिहे गर्नेलाई पो ढिला हुन्छ । नगर्नेलाई केको ढिला ? यो उमेरसम्म विहे नगरेपछि अब मैले किन बिहे गर्ने ?

 

बिवाह बारे तपाईको धारण के हो ?

सबै जना म जस्तै अविवाहित नै बस्नु भयो भने त संसार साधु सन्तको मात्रै होला । संसारिक जीवन जिउन पनि बिहे गर्नुपर्छ भन्ने मेरो धारण हो । म बिहेको पनि बिरोधी हैन । मेरो परिवारमा पनि भाई बहिनीको बिहे भएको छ । तर, म स्वतन्त्र जीन्दगीमा खुसी छु । मेरो लक्ष्य फरक भएको हुनाले मैले बिहे बारे केही सोचेको छैन ।

 

लक्ष्य प्राप्त गर्न बिहे बाधक भन्न खोज्नु भएको हो ?

केही मात्रामा हो । बिहे गरेपछि परिवार प्रतिको उत्तरदायित्व बढ्छ । जिम्मेवारी बहन गर्नुपर्छ । मेरो कुरा श्रीमानलाई मन नपर्न सक्छ । त्यसपछि विवाद सुरु हुन्छ । विवादले तनाव दिन्छ । तनावले मान्छे अगाडी बढ्न सक्दैन । तर, मेरो बिहे यिनै कारणले नभएको भने हैन । बिहे नगर्नेको जिन्दगी यति सुन्दर हुन्छ, जसले बिहे गर्ने ईच्छा राख्दैन ।

 

तपाई पारिवारिक दायित्वबाट पन्छिन खोज्नु भएको हो ?

बिहे नगर्नुको एउटा कारण त्यो पनि एउटा हो । म मध्यम वर्गीय परिवारकी छोरी हुँ । तर, मेरो नामले नेपाली बस्तीमा पुगेर एक छाक खान र बस्न मलाई कुनै समस्या छैन । मेरो लोकप्रियता नै मेरो सम्पत्ती हो । जब म योवन थिएँ, घरमा बिहे गर्ने प्रस्ताव लिएर जवान युवाका अभिभावक नआएका होइनन् । तर, जवान युवाका अभिभावक मेरो हात माग्न आउँदा मैले एउटै कुरा सोच्थेँ, मेरो जिन्दगी मेरी आमाको जस्तो नहोस् । अहिले मेरी आमा पनि मेरो लोकप्रिय जिन्दगी देखेर खुसी हुनुहुन्छ ।

 

जिन्दगीका भावी योजना के बनाउनु भएको छ त ?

सक्रिय राजनीतिमा लाग्ने सही समयको पर्खाइमा छु । समाजसेवामा पनि समय दिने योजना छ । गीत गाउँछु । दर्शक र श्रोताको मायालाई नरम हुन दिन्न ।