मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`म क्षणिक साहित्यकार` : हरिबंश आचार्य

संजय सौगात, बुटवल, २०७० आषाढ ७, शुक्रवार

कलाकारिता मार्फत समाज विकासको सन्देश फैलाउदै आएका चर्चित हाँस्यकलाकार हरिवंश आचार्य पछिल्लो समय लेखकको रुपमा पनि चिनिएका छन् । आफ्नो पुस्तक 'चिना हराएको मान्छे'बाट थप चर्चा कमाएका छन् । यिनै कलाकार तथा लेखक आचार्य बुटवल आएका वेला रंगपत्रकार संजय सौगातले गरेको कुराकानीको सम्पादित अंश :-


चिना हराएको मान्छे पुस्तकको प्रतिक्रिया कस्तो आइरहेको छ ?
पाठकहरुले पुस्तक पढेर, फोन गरेर, इमेल गरेर, फेसवुकमा हामी रोयौं, हाँस्यौं भनेर प्रतिक्रिया दिइरहनुभएको छ । खासगरी मेरो पुस्तक गृहणी, ग्रामिण भेगका महिला दिदीबहिनीहरूले पढेको मैले पाएको छु । उहाँहरुले पढेपछि मलाई फोन गरेर प्रतिक्रिया दिइरहनुभएको पनि छ । यसले गर्दा मैले मेरो पुस्तकको महत्व बढेजस्तो अनुभव गरेको छु । रमाइलो कुरा त मलाई एकजना मित्रले सुनाउनु भएको, एकदिन एक घरमा पढ्नको लागि राखिएको मेरो पुस्तक चिना हराएको मान्छे हराएछ । घरका सबैले पुस्तक कहाँ गयो कस्ले लग्यो भनेर खोज्दै जांदा त घरमा काम गर्ने सहयोगी नानीले लगेर भर्‍याङ मुनी वसेर पढिरहेकी थिईन रे । यसैले मेरो पुस्तक सबैले पढ्न मिल्ने पुस्तक हो भन्ने मैले अनुभव गरेको छु । कतिपय पुस्तकहरुका आफ्नै छुट्टै किसिमका पाठकहरु हुन्छन तर मेरो यो पुस्तक चिना हराएको मान्छेले सबै किसिमका पाठकहरुलाई समेटेको छ जस्तो लागेको छ ।


चिना हराएको मान्छे पुस्तक अहिलेसम्म कति बिक्रि भएको छ  त ?
अहिलेसम्म ४० हजार प्रति बिक्रि भइसकेको मैले जानकारी पाएको छु ।


तपाई धेरै वर्ष कलाकारितामा समय विताउनु भो । अहिले आएर यो लेखन, साहित्यमा कसरी आउनु भो ?
म कलाकारितामा छिर्ने बित्तिकै साहित्यमा हात हालेको हुँ जस्तै मलाई लाग्छ । किनकी मैले थुप्रै टेलिसिरियलको कथा लेखेको छु । कतिपय म आफै एक्लैले लेखेको छु त कतिपय मदन दाई र मैले संयुक्तमा लेखेका छौं । त्यो आफैमा एउटा साहित्य हो । हामीले लालापुर्जा, दशैं, १५ गते, आमा जस्ता टेलिसिरियलहरु लेख्यौं । ति सबै साहित्य नै हुन् । तर त्यो साहित्यलाई कलाकारिताले ढाकिदियो । यदी मैले त्यो सिरियलको कथालाई सिरियल नबनाएर उपन्यास लेखेको भए म पहिल्यै नै साहित्यकारको रुपमा चिनिने थिएँ होला । अहिले पनि पहिलेका साहित्यकारहरुले लेखेका उपन्यासहरुमा फिल्महरु बनिरहेका छन् । मैले पनि ति सिरियलको कथा पहिले उपन्यासको रुपमा पुस्तक निकालेर पछि सिरियल बनाएको भए पनि हुन्थ्यो । त्यसैले म पहिलेदेखि नै साहित्यमा हात हालेको भन्छु । मेरो विचारमा रंगमन्च पनि एउटा साहित्य हो । फरक यति हो रंगमन्चको साहित्य नदेखिदो रहेछ ।


अहिलेसम्म कति सिरियलको कथा लेख्नुभयो ?
यति भन्दा पनि मदन दाई र मैले गरी १ हजार घण्टाको टेलिसियल बनाएका छौं ।


चिना हराएको मान्छे लेख्ने सोच कसरी आयो ?
मेरी श्रीमती मिराको देहान्तपछि म एकदमै पीडामा बाँचेको थिएँ । त्यो पिडा म अरु कसैलाई सुनाउन भन्दा कापीलाई सुनाउछु भनेर लेख्न थालें । लेख्दै गएपछि लेखक डा. रविन्द्र समिरलाई देखाएँ । उहाँ यसलाई किताबकै रुपमा निकाल्न सल्लाह दिनुभयो । र, उहाँकै सल्लाह बमोजिम यसलाई पुस्तकको रुपमा ढालेको छु । यसमा सेतो धर्ती पुस्तकका लेखक अमर न्यौपानेले पनि निकै सहयोग गर्नुभएको छ । उहाँकै सम्पादनमा यो पुस्तक प्रकाशन भएको छ ।


कलाकारिता र साहित्य तपाईको सानैदेखिको रुचि हो ?
कलाकारिता र साहित्य दुवै मेरो रुचि होईन । म स्कुलमा पढ्दै गर्दा मैले साथीभाईहरुलाई उनीहरुको बुवाआमाको क्यारिकेचर गरेर जिस्काउँथे, साथीभाईहरु हाँस्थे । एक दिन बिद्यालयमा भएको रंग्मन्चमा मलाई कुकुरको क्यारिकेचर गर्न लगाइयो मैले क्यारिकेचर गरें । मलाई त्यो बेला प्रमाणपत्र दिईएको थियो । अनि मात्र मैले क्यारिकेचर त रंगमन्चमा पो काम लाग्दो रहेछ भनेर सोचें । त्यसपछि मेरो कलाकारितामा रुचि बढ्दै गयो । अहिले पनि म आफुलाई प्रखर साहित्यकार भन्दिन । म त एउटा क्षणिक साहित्यकार हुँ । म भन्दा थुप्रै प्रखर साहित्यकारहरु हुनुहुन्छ । साहित्यकारहरुको सुची बनाउने हो भने १ सय जनाको सुचीमा पर्छु होला ।


अब तपाईको अर्को पुस्तक पढ्न पाइन्छ या पाईंदैन ?
पाइन्छ, मैले अर्को पुस्तक लेख्ने सोच बनाइसकेको छु । लगत्तै भने होईन । तत्कालै  मेरो अर्को पुस्तक पढ्न नपाईएला । किनकी म हतार गर्दिन । सायद एक दुई वर्षपछि मात्रै मेरो अर्को पुस्तक पढ्न पाइएला । किनकी हतारमा पुस्तकहरु बजारमा ल्याउँदा विग्रन सक्छ । अहिले ४० हजार बढि बिक्रि भएको पुस्तक अर्को पुस्तक पाँच हजार पनि बिकेन भने पनि त राम्रो भएन नि ! त्यसैले हतार नगरी साहित्यलाई विस्तारै निरन्तरता दिन्छु ।


तपाईको पुस्तक सबैले पढ्न चाहन्छन् । तर पुस्तकको मुल्य महंगो भएका कारण आर्थिक अवस्था कमजोर भएका व्यक्ति वा स्कुले बिद्यार्थीहरुको पहुंचमा भएन भन्ने गुनासो सुनिन्छ नि !
पुस्तकको क्वालिटी लगायतका कुराले गर्दा लगानी बढि भएकाले पब्लिकेशनले मुल्य अलि महंगो राखेको हो । तर पछि विद्यार्थीहरुको लागि भनेर छुट्टै प्रति पनि प्रकाशन हुनेछ । तर कतिपय विद्यार्थीहरुले समुहमा मिलेर किनेर पुस्तक पढेको पनि मैले पाएको छु । मुल्य ३९४ रूपैँया छ, त्यसमा पनि छुटसुट गर्दा ३ सय ५० सम्ममा आउँछ होला, त्यसको लागि  आर्थिक अवस्था कमजोर भएका विद्यार्थी भाईबहिनीहरुले समुहमा मिलेर किनेर पढ्न पनि सक्नुहुनेछ ।


प्रसङ्ग बदलौं, भर्खरै मात्रै एसएलसी परीक्षाको रिजल्ट सार्वजनिक भएको छ । एसएलसी उर्तिण तथा अनुर्तिण हुने विद्यार्थी भाईबहिनीहरुलाई के सुझाव दिनुहुन्छ ?
विद्यार्थी भाईबहिनीहरु हो, बिद्या भनेको सबै भन्दा ठुलो चिज हो । त्यसैले पढ्न छोड्नु हुँदैन । पढ्नुपर्छ । पढाईले मानिसलाई अन्तर आत्मादेखि सक्षम बनाउँछ । त्यसैले पढाईमा ध्यान दिनुहोस् भन्न चाहन्छु । उच्च शिक्षा के पढ्ने ? कस्तो लिने ? भन्ने सन्दर्भमा अरुको देखासिकी भन्दा पनि आफ्नो रुचिको शिक्षा लिनुहोस् । अहिलेको सन्दर्भमा टेक्निकल शिक्षा लिदा अझ राम्रो हुन्छ भन्ने मैले बुझेको छु । हामी नेपालीको मानसिकता पढेर जागिरै खानुपर्छ भन्ने छ । तर टेक्निकल शिक्षा लिएर एउटा दक्षा टेक्निसियन हुन सकियो भने राम्रो गर्न सकिन्छ । अहिले एउटा सामान्य टेक्निसियनले पनि दैनिक न्यूनतम पनि एक हजार रूपैँया कमाइरहेको हुन्छ । जुन हाम्रो नेपाल सरकारको एउटा मन्त्रीको घुस बाहेकको तलव हो । त्यसैले आफु आत्मनिर्भर हुने शिक्षा लिनुपर्छ भन्ने सल्लाह छ । त्यस्तै फेल भएका बिद्यार्थीहरु पनि हतोत्साहित नहुनुहोस् । भारतका क्रिकेटर सचिन तेन्दुलकर पनि अन्डर मेट्रिक नै हुन् । बिल गेट्स पनि उच्च शिक्षा लिन नपाएका व्यक्ति हुन् रे ! उनीहरुले पनि प्रगति त गरेकै छन् । त्यसैले फेल भइयो भन्दैमा हतोत्साहित नहुनुहोस् । पढाई भन्ने चिज कसैलाई हेर्ने बित्तिकै आउँछ कसैलाई मरिमेटे पनि पढ्न आउँदैन । प्रकृतीले मानिसलाई एउटा न एउटा क्षमता दिएर पठाएको हुन्छ । कसैलाई पढ्ने क्षमता दिएको हुन्छ । कसैलाई अन्य क्षमता दिएको हुन्छ । त्यसैले आफ्नो क्षमता के हो बुझनुपर्छ । र, त्यही अनुसार अघि बढ्नुपर्छ ।


तपाईको एसएलसी अनुभव बताईदिनोस् न ?
मैले एसएलसी तीन पटकमा पास गरेको हुँ । दुई पटक एसएलसी फेल भएपनि म हतोत्साहित भईन । तेस्रो पटकमा यो पनि थर्ड डिभिजनमा एसएलसी पास भएँ । त्यसपछि क्याम्पस पढ्न थालियो क्याम्पस पढ्दै गर्दा विभिन्न कार्यक्रम, रंगमन्चहरुमा हिड्न थालियो । क्यासेट पनि निकालियो, कलाकारितामा नै व्यस्त भइयो, पढाईमा त्यति समय दिन पाइन । मैले त्यो बेला धेरै पढ्न नसकेपनि अहिलेका भाईबहिनीहरूलाई धेरै पढ्न आग्रह गर्छु ।